२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

देवानगन्ज घटनाप्रति जमिअत उलमाए नेपालको चिन्ता, शान्ति र सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह

Nada
इसत्याक अहमद
२०८३ साउन १२ गते ११:५९
Shares
देवानगन्ज घटनाप्रति जमिअत उलमाए नेपालको चिन्ता, शान्ति र सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह

काठमाडौं : जमिअत उलमाए नेपालले सुनसरीको देवानगन्ज तथा कप्तानगन्ज क्षेत्रमा भएको घटनापछि सिर्जिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत संस्थाले नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएको मुलुक भएकाले सदियौंदेखि कायम रहेको धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधि चिन्ताको विषय भएको जनाएको छ । यस्ता घटनाले सामाजिक एकता र राष्ट्रिय सद्भाव कमजोर पार्ने जोखिम बढाउने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार र संवेदनशील व्यवहार गर्न आग्रह गरिएको छ ।

जमिअत उलमाए नेपालले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घटनामा घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी, गुणस्तरीय र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

संस्थाले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना, घृणा फैलाउने सामग्री तथा उत्तेजनात्मक प्रचार–प्रसारबाट टाढा रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ । सत्यतथ्यमा आधारित सूचना मात्र ग्रहण गर्दै धैर्य, संयम र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्नेमा पनि जोड दिइएको छ ।

विज्ञप्तिमा सबै धर्म, जाति, भाषा, संस्कृति र समुदायबीचको विश्वास, सम्मान, सहिष्णुता र भाइचारालाई अझ सुदृढ बनाउन साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरिएको छ । साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाले संवाद, सहकार्य र समझदारीमार्फत वर्तमान अवस्थालाई छिट्टै सामान्य बनाउन सक्रिय भूमिका खेल्नुपर्ने संस्थाको धारणा छ ।

जमिअत उलमाए नेपालले घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनअनुसार कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन र प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

संस्थाले शान्ति, सद्भाव, सहिष्णुता, सामाजिक एकता र आपसी भाइचारालाई नेपालको राष्ट्रिय पहिचान तथा साझा सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिएको छ ।

No description available.

सम्बन्धित खबर