२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

Nada
२०८३ साउन १२ गते १४:०१
Shares
कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

काठमाडौँ :  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन चर्किएपछि कोशी कटान क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले मंगलबार पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रदर्शनका क्रममा कोशी कटान क्षेत्रका केही पसलमा लुटपाट, तोडफोड र आगजनी भएको बताइएको छ। घटनास्थल तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा नौ जना सर्वसाधारण तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत घाइते भएका थिए । घटनापछि कप्तानगञ्ज र आसपासका क्षेत्रमा तनाव कायमै छ। उपलब्ध विवरणअनुसार घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले सोमबार बिहानदेखि दक्षिणी सुनसरीका पाँच बजार क्षेत्रमा कर्फ्यु लगाएको थियो । तर, कर्फ्यु उल्लङ्घन गर्दै सोमबार दिनभर प्रदर्शन भएपछि प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ 

मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा भने कर्फ्यु आदेश यथावत् छ ।

निषेधाज्ञा अवधिमा भेला, जुलुस, प्रदर्शन, सभा तथा भीडभाड गर्न रोक लगाइएको छ। प्रशासनले नागरिकलाई संयमित रहन, कर्फ्यु तथा निषेधाज्ञाको पालना गर्न र शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ । कर्फ्यु र निषेधाज्ञा फरक क्षेत्र तथा समयावधिमा लागू गरिएको प्रशासनिक विवरणमा उल्लेख छ। स्थानीय प्रशासन ऐनअन्तर्गत पाँच बजार क्षेत्रमा कर्फ्यु र दुवै गाउँपालिकाभर निषेधाज्ञा लगाइएको हो ।

सम्बन्धित खबर