
काठमाडौँ : मानव तस्करीको जोखिममा परेका ४ सय नेपाली नागरिकलाई एक वर्षको अवधिमा कम्बोडियाबाट उद्धार गरिएको छ ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार आयोजित मानव बेचबिखनविरुद्धको कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले आर्थिक वर्ष २०८२-८३ मा ठूलो संख्यामा नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार उक्त अवधिमा कम्बोडियाबाट उद्धार गरिएकामध्ये ३८२ जना पुरुष र १८ जना महिला रहेका छन् ।
ब्युरोको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा कम्बोडियाबाट १४ जना नेपालीको उद्धार गरिएको थियो । सो अवधिमा १२ पुरुष र दुई महिलालाई उद्धार गरिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८०-८१ मा दुई जना, २०७९-८० मा एक जना र २०७८-७९ मा पाँच जना नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको तथ्यांक रहेको छ ।
प्रहरीका अनुसार रोजगारी तथा आकर्षक अवसरको प्रलोभन देखाएर मानव तस्करहरूले नेपाली नागरिकलाई कम्बोडिया पुर्याउने गरेका छन् । त्यहाँ पुगेपछि कतिपयलाई साइबरसम्बन्धी अवैध गतिविधिमा जबर्जस्ती संलग्न गराउने गरिएको अनुसन्धानबाट देखिएको ब्युरोले जनाएको छ ।
मानव बेचबिखनका बदलिँदा स्वरूप र प्रविधिको दुरुपयोगसँगै विदेशमा रोजगारीको नाममा हुने ठगी तथा शोषण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायको भनाइ छ ।