
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको परीक्षाको प्रश्न पत्र गोपनीयता भंग गरेको आरोपमा नेपाल प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
ब्युरोका अनुसार २०८३ साउन ८ गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरअन्तर्गत :‘एमजीटी ५१५: संगठनात्मक व्यवहार’’ विषयको प्रश्न पत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो । उक्त घटनापछि प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा सीआईबीले थप दुई जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका-४ का २५ वर्षीय अतुल कुमार मिश्र रहेका छन् । उनलाई साउन १० गते काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
त्यस्तै, बाराको लिपनीमाल-१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका-८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सीआईबीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनामा संलग्न अन्य पक्षको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।