
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाहलाई तत्काल नियमित बनाउन सरकारसँग आग्रह गरेका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको घटना अत्यन्त दुःखद र निन्दनीय भएको उल्लेख गरेका छन् ।
उनले नागरिकको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुने अवस्था कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने बताएका छन् । उपचारका क्रममा वा उपचार सेवासँग जोडिएको विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार र भौतिक आक्रमण रोक्न प्रभावकारी कदम आवश्यक रहेको उनको भनाइ छ ।
घटनापछि नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा उपचारको प्रतीक्षामा रहेका बिरामी प्रभावित भएको भन्दै थापाले यस्तो अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन् ।
उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कार्यान्वयनमा आइसकेकाले नारायणी अस्पताल घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् । साथै, वार्ताका क्रममा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारमा संलग्न अधिकारी तथा प्रहरीको भूमिकाबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ ।
थापाले सरकारलाई नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीहरूसँग तत्काल संवाद गरी पेशागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्न र ओपिडीलगायत अत्यावश्यक स्वास्थ्य सेवा पुनः सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेका छन् ।
स्वास्थ्य सेवा अत्यावश्यक क्षेत्र भएकाले बिरामीको अवस्थालाई ध्यानमा राख्दै सेवा अवरुद्ध नगरी वार्ता र संवादबाट समस्या समाधान खोज्न उनले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आग्रह गरेका छन् ।