
काठमाडौं : नेकपा एमालेले सुनसरीको देवानगन्ज गाउँपालिकामा विगत दुई दिनदेखि जारी तनाव र त्यस क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण स्थानीय युवाको मृत्यु भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महासचिव शंकर पोखरेलले एक प्रेस वक्तव्य जारी गर्दै राज्यको गोली लागेर स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको र अन्य नागरिकहरू घाइते भएको घटनालाई लिएर सरकारको कडा आलोचना गरेका छन् ।
एमालेले नागरिकको जिउधनको सुरक्षा गर्ने र शान्ति–सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन यस्तो संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको आरोप लगाएको छ । 'विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको छ,' विज्ञप्तिमा उल्लेख छ ।
एमालेले मृतक ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा संवेदना व्यक्त गरेको छ । साथै, पार्टीले सरकारसँग घटनामा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको अविलम्ब, प्रभावकारी र पूर्ण रूपमा निःशुल्क उपचारको व्यवस्था मिलाउन, पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न तथा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
एमालेले राज्यलाई आफ्नो दमनकारी रवैया तत्काल रोकेर संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ । यसका साथै, मुलुकको राष्ट्रिय एकता र सामाजिक सद्भाव नै मुख्य सामर्थ्य भएको उल्लेख गर्दै एमालेले सुनसरीका बासिन्दालाई कुनै पनि प्रकारको अफवाहमा नलागी धार्मिक, सामाजिक र जातीय सद्भाव एवं आपसी एकतालाई अक्षुण्ण राख्न हार्दिक आह्वान समेत गरेको छ ।
