
अर्घाखाँची : नेकपा (एमाले)का केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान सरकारको कार्यशैलीका कारण संविधान, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता तथा लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न भएको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव विश्वकर्माले सरकारले नीति, विधि र लोकतान्त्रिक मूल्य–मान्यतालाई बेवास्ता गर्दै शासन सञ्चालन गरिरहेको दाबी गरे । सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै उनले यही अवस्था कायम रहे मुलुकले गम्भीर राजनीतिक र संवैधानिक चुनौती सामना गर्नुपर्ने चेतावनी दिए ।
परराष्ट्र नीतिबारे धारणा राख्दै उनले नेपालले पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी राष्ट्रसँग सन्तुलित, सम्मानजनक र स्वतन्त्र सम्बन्ध कायम गर्नुपर्ने भए पनि वर्तमान सरकारले असन्तुलित कूटनीतिक सम्बन्ध अघि बढाएको आरोप लगाए । उनले एक चीन नीतिबाट विचलित हुने गरी दलाई लामासम्बन्धी गतिविधिलाई प्रोत्साहन गरिएको दाबी गर्दै त्यसले नेपालको स्थापित परराष्ट्र नीतिमा नकारात्मक प्रभाव पारेको टिप्पणी गरे ।
भारतसँगको सम्बन्धबारे सरकारका तर्फबाट आएको भनिएको ‘नेपालले भारतको सीमा मिच्यो’ भन्ने अभिव्यक्तिलाई उनले राष्ट्रहितविपरीत र तर्कहीन टिप्पणीको संज्ञा दिए । राष्ट्रिय हित र कूटनीतिक मर्यादालाई ध्यानमा राखेर मात्र यस्ता विषयमा सार्वजनिक धारणा व्यक्त गर्नुपर्ने उनको भनाइ थियो ।
राजनीतिक सहकार्यको प्रसंगमा विश्वकर्माले एमाले र नेपाली कांग्रेसबीचको सहकार्य कांग्रेसकै कारण अन्त्य भएको दाबी गरे । हाल प्रदेश सरकार गठनका सन्दर्भमा नेकपासँग मात्र सहकार्य भइरहेको उल्लेख गर्दै उनले भविष्यमा जनभावना, कार्यकर्ताको चाहना र राजनीतिक आवश्यकताका आधारमा स्थानीय तथा प्रदेश तहको निर्वाचनमा समेत सहकार्यको सम्भावना रहन सक्ने बताए । यद्यपि त्यससम्बन्धी निर्णय केन्द्रबाट नभई सम्बन्धित तहकै आवश्यकता र सहमतिका आधारमा हुने उनले स्पष्ट पारे ।
एमालेको आन्तरिक सुदृढीकरणबारे बोल्दै उनले पार्टीको नीति, नेतृत्व, विधि, विधान, कार्यशैली तथा पुस्तान्तरणका विषयमा आवश्यक सुधार गर्दै संगठनलाई थप अनुशासित, सशक्त र जनमुखी बनाउने दिशामा पार्टी प्रतिबद्ध रहेको बताए ।
लुम्बिनी प्रदेश सरकारको नेतृत्वबारे सञ्चारकर्मीको जिज्ञासामा उनले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय केन्द्रबाट नभई प्रदेशका सांसद तथा सहकार्य गर्ने दलहरूको सहमतिका आधारमा हुने बताए । उनले प्रदेश मन्त्रिपरिषद् केही दिनभित्र पुनर्गठन हुन सक्ने संकेतसमेत गरे ।
पत्रकार सम्मेलनमा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पीताम्बर भुसालसहित जिल्ला तहका नेताहरूको उपस्थिति थियो । कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला समिति अर्घाखाँचीका अध्यक्ष नवीन केसीको अध्यक्षता तथा सचिव नवीन रसाइलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पत्रकारहरूले समसामयिक राष्ट्रिय राजनीति, सरकारको कार्यसम्पादन, परराष्ट्र नीति, संविधान कार्यान्वयन, प्रदेश सरकारको नेतृत्व तथा एमालेको आगामी राजनीतिक रणनीतिबारे राखेका जिज्ञासाको जवाफ दिँदै सचिव विश्वकर्माले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्नेमा जोड दिए । साथै उनले एमाले जनताको विश्वास अझ सुदृढ बनाउँदै अघि बढ्ने दाबी गरे ।