
काठमाडौं : ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ गीत गाएर रातारात चर्चामा आएका बालकलाकार अशोक दर्जी अहिले फेरि चर्चामा छन् । यतिबेला उनको चर्चा कुनै गीत वा अभिनयका कारण नभई उनले भोग्नुपरेको दुर्व्यवहारले हो । उनीमाथि सडकमा उनकै उमेरका केही व्यक्तिहरूले ‘गायक भएर अरूको पैसा खाने, अरूको पैसा खाएपछि तिर्नुपर्दैन ?’ भनेर हातपात गरेको भिडियो देख्न सकिन्छ ।
उनीमाथि के कारणले दुर्व्यवहार भयो त्यो भने खुल्न सकेको छैन । भनिएअनुसार बिर्तामोडको महानन्द चोकमा खाजा खाने क्रममा एक हजार रुपैयाँ हराएको विषयलाई लिएर विवाद सुरु भएको थियो । सोही विषयलाई लिएर पछि देवीबस्ती गेटनजिक स्कुटरमा पेट्रोल हालिरहेका बेला उनीमाथि कुटपिट गरिएको थियो ।
घटना एक महिनाअघिको भएको अशोकले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले यसबारे कानुनी उपचारका लागि प्रहरीमा निवेदनसमेत दिएको बताएका छन् । उनले पछिल्लो समय नायिका नीता ढुंगानाले निर्माण गरेको चलचित्र ‘पार्वती’मा पनि कम गरेका छन् । नायिका नीताले अशोकमाथिको दुर्व्यवहारमा आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेकी छन् ।
अशोक तिनै कलाकार हुन्, जो सडकमा बसेर खानेकुरा र पैसाका लागि गीत गाउँथे । सामाजिक सञ्जालमा सडकमै गाउँदै गरेका उनका गीत भाइरल भयो, उनी पनि भाइरल भए । केही युट्युबरले उनलाई काठमाडौं ल्याउन मद्दत गरे । चर्चाकै बीच गायक तथा संगीतकार टंक बुढाथोकीले उनलाई आफ्नै घरमा छोरासरह राख्ने, पढाउने र संगीत सिकाउने वचन दिए । केही वर्ष टंकसँग बसेपछि पछिल्लो समय अशोक आफ्नै घर फर्किए । धेरैलाई टंकले अशोकलाई प्रयोग गरेको आरोप लगाए । कतिले अशोकलाई टंकको गुण बिर्सेको भनेर समाचारका हेडलाइन बनाए ।
आफ्नो बुबाआमा, भाइबहिनीसँग बस्नुपर्ने भएकाले उनले काठमाडौं छोडेको बताउँदै आएका थिए । घरको जिम्मेवारी काँधमा रहेकोले सधैं अरूको घरमा बस्न नमिल्ने उनको तर्क थियो । धेरैले यो तर्कलाई अशोकमा आएको परिपक्कता भएको माने ।
तर, उनलाई एक्कासि यस्तो अवस्थामा देखेपछि धेरैले चासो व्यक्त गरेका छन् । कतिपयले काठमाडौं छोडेर झापा जानुलाई नराम्रो भनेका छन् भने केहीले सुरुमै झापा छोडेर काठमाडौं आउनु गल्ती भएको बताएका छन् । बालअधिकारकर्मीको नजरमा कुनै पनि बालकले आफ्नो बालापन जिउन नपाउनु पनि बालअधिकारको हनन हो । भाइरल हुने नाममा उनको बालापन छिनेको कतिपयको तर्क छ ।
जब उनी भाइरल थिए, उनलाई देश–विदेशबाट कार्यक्रमको प्रस्ताव आउँथ्यो । उनी विद्यालय नगई कार्यक्रममा जान्थे । त्यतिबेला पनि पढ्ने उमेरमा अशोकलाई पैसाको लागि शोषण गरेको आरोप गायक बुढाथोकीमाथि थियो ।
अशोक आज जे छन्, त्यो उनको मिहिनेत हो, तर त्यसका लागि उनले आफ्नो बालापन बाँच्न नपाएको संगीतकार दीपक शर्मा बताउँछन् । उनले हरेक व्यक्तिले आफ्नो उमेरअनुसारको जीवन बाँच्न पाउनुपर्ने बताए । ‘यदि अशोकमा गायक बन्ने हुटहुटी थियो भने उनी जसरी पनि गायक बन्थे,’ संगीतकार शर्मा भन्छन्, ‘तर गायक बन्ने नाममा उनले जे गुमाए त्यो अब पाउन सक्दैनन् ।’
‘क्षमता छ भन्दैमा उनको श्रम शोषण हुनुहुँदैन थियो । उनी वयस्क भएपछि पनि गायक बन्न सक्थे, तर बालक हुन सक्दैनन् । अशोकको बाल्यकाल लुटेको क्षतिपूर्ति कसले दिन्छ ?’ उनले भने ।
अशोकको मात्र कुरा हैन, अशोकजस्ता थुप्रै बालकलाकार छन् जो क्षणिक रूपमा सबैको नजरमा परे । महत्वाकांक्षाको भारी बोकेर हिँड्न सिकाइएका उनीहरूलाई संघर्षबारे अनविज्ञ राखियो । सबैभन्दा पहिले भाइरल भएका गायक हुन्, प्रेम परियार । मलेखुको बजारमा उनले गाएको देखेर लोभिने धेरै थिए । त्यसै क्रममा संगीतकार वसन्त सापकोटाको नजर उनीमाथि प¥यो । उनले गाएको ‘मर्ने कसैलाई रहर हुँदैन’ गीत यति चर्चित भइदियो कि उनलाई भविष्यको नामी गायकको जन्म भयो भनेर प्रचार गर्न थालियो । उनले केही गीत गाए पनि, तर अहिले उनी गुमनाम छन् ।
धेरै युट्युबरले आफ्नो कमाउने माध्यम बनाएका अर्का बालगायक सचिन परियारको कथा त्यतिकै दुःखद् छ । उनको बोल्ने शैली, आकर्षक हाउभाउ र शारीरिक बनावटको पनि मान्छेहरूले त्यतिकै मजाक बनाए । उनी बालगायक भनेर त पछि चिनिए । गम्भीर बिरामीका कारण अहिले उनको मृत्यु भइसकेको छ ।
पारिवारिक बेमेलले यसै बिथोलिएका उनलाई भाइरल हुने नाममा रातविरात स्टुडियो लगेर लाइभ दोहोरी गाउन लगाउने, भ्युजका लागि अनेक बोलेर अन्तर्वार्ताका लागि दबाब दिनु सामान्य थियो । स्कुलमा पढ्न राखेको बच्चा निकालेर आफ्नै परिवारले उनको बालअधिकारको हनन गरेको विषय त्यतिबेला सबैले उठाएका थिए ।
बालगायिका कमला घिमिरे, आयुषा गौतमलगायत अन्य थुप्रै बालबालिकाको मनोरञ्जन क्षेत्रमा प्रयोग भएको छ । झट्ट हेर्दा यो उनीहरूको व्यक्तिगत कुराजस्तो देखिए पनि कच्चा उमेरमै प्रतिस्पर्धाको भावना आउनुले बालमस्तिष्कमा नराम्रो असर पर्ने मनोविद् वासु आचार्य बताउँछन् । ‘अस्वस्थ्य प्रतिस्पर्धाको भावना वयस्क मानिसका लागिसमेत घातक हुन्छ,’ उनी भन्छन्, ‘बालबालिका त यसलाई सहनै सक्दैनन् । यो उनीहरूका लागि अनावश्यक बोझ हो ।’
‘अभिभावकले आफ्ना बच्चाहरूलाई अरूको बच्चासँग तुलना गर्नु, त्यस्तै बन्न कर गर्नु, अनावश्यक दबाब दिनु आदिले बालबालिकामा नराम्रो असर पर्छ । आफ्नो प्रसंशाले खुसी भएका अभिभावक केही गरी म असफल भए दुःखी हुन्छन् भन्ने चिन्ताले पनि उनीहरूलाई सताउँछ,’ उनले भने । यस्ता क्रियाकलाप बालबालिकाको हितमा नभएको उनको बुझाइ छ ।
आजभोलि धेरैजसो बालबालिका ४–५ वर्षको उमेरदेखि नै प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिन थालेको देखिन्छ । हार्नु सामान्य कुरा भनेर नसिकाई धेरैजसो अभिभावकले जित्नुपर्छ भनेर मात्र बल गरेको देखिन्छ । टेलिभिजनको पर्दामा विभिन्न रियालिटी सोहरूमा पनि त्यसको असर देख्न सकिन्छ ।
धेरैजसो अवस्थामा साना बच्चाहरूलाई छोटो समयमै ‘स्टार’ बनाइन्छ । उनीहरूका अभिभावकलाई पनि अत्यधिक चर्चामा ल्याइन्छ । तर, केही समयपछि सबैको ध्यान अर्को प्रतिभातिर मोडिन्छ र ती बच्चाहरू एक्लै संघर्ष गर्न बाध्य हुन्छन् । अर्कोतर्फ सामाजिक सञ्जालमा उनीहरूले बोलेका कुरालाई नै ट्रोल बनाएर उनीहरूमाथि मानसिक दबाब सिर्जना गरिँदै आएको छ ।
‘१०–१२ वर्षकै उमेरमा उनीहरूमा अस्वाभाविक प्रतिस्पर्धाको भावना र सफलता हासिल गर्ने दबाब सिर्जना हुन्छ,’ संगीतकार शर्मा भन्छन्, ‘त्यसपछि १५ वर्ष नपुग्दै, धेरैले ४० वर्षको मानिसले बोक्ने चिन्ता, अपेक्षा र जिम्मेवारी बोकेर संगीतकार, निर्माता वा अवसर खोज्दै भौंतारिनुपर्ने अवस्था आउँछ । यदि एउटा बालकले आफ्नो उमेरभन्दा धेरै अगाडिको मानसिक बोझ बोकेर हुर्किनुपर्छ भने, उसले ४० वर्ष पुग्दा जीवनलाई कसरी महसुस गर्ला ?’
प्रत्येक बालबालिकाको विकास आफ्नै समय र गतिमा हुनुपर्छ । कृत्रिम रूपमा छिटो सफलता दिलाउने प्रयासले तत्काल चर्चा त दिलाउन सक्छ, तर दीर्घकालीन रूपमा मानसिक, सामाजिक र सिर्जनात्मक विकासमा चुनौती थप्ने विशेषज्ञहरू बताउँछन् ।
मनोरञ्जनको पनि विभिन्न पाटाहरूमा बालबालिकाको प्रयोग भएको देख्न सकिन्छ । टेलिभिजनमा आउने गायन, नृत्य तथा मोडलिङसम्बन्धी विभिन्न बालरियालिटी सोहरूमा बालबालिकाको अत्यधिक प्रयोग हुने गरेको छ । जसमा स्क्रिप्टअनुसार उनीहरूलाई बनावटी दुनियाँमा जबर्जस्ती प्रवेश गराइन्छ । बालमनोविज्ञानका दृष्टिले पनि सानै उमेरमा अत्यधिक प्रतिस्पर्धा, लोकप्रियता र सफलताको दबाबले उनीहरूको स्वाभाविक विकासमा असर पर्न सक्ने विज्ञहरू बताउँछन् ।
रात्रिकालीन व्यवसायमा काठमाडौं उपत्यका, पोखरा, इटहरीलगायत सहरहरूका डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेन्टमा ठुलो संख्यामा बालबालिकालाई श्रममा लगाइने गरेको पाइन्छ । जसले उनीहरूको हुर्काइ पारिवारिक वातावरणभन्दा निकै टाढाको हुन्छ । रंगीन संसारमा रमाउने बानी पारिएका बालबालिकामा कालान्तरमा निराशा, एक्लोपनजस्तो मानसिक समस्या देखिने मनोविश्लेषकहरू बताउँछन् ।
सामाजिक सञ्जाल युट्युब, टिकटकजस्ता डिजिटल प्लेटफर्महरूमा भ्युज र पैसा कमाउने माध्यमका रूपमा बालबालिका प्रयोग हुने क्रम पछिल्लो समयमा ह्वात्तै बढेको छ । अशोक दर्जी, प्रेम परियार, सचिन परियार, कमला घिमिरे, आयुषा गौतम यसका उपज हुन् । खातामा पैसा आउन्जेल वाहवाह हुने यी बालबालिकाको चर्चा कम हुन थालेपछि हराउन थाल्छन् ।
सामाजिक सञ्जालमा प्रस्तुत गरिँदा ‘तिमी जति अब्बल कोही छैन’ भन्ने भ्रम सिर्जना गरेर ती बालबालिकामाथि म्यानुपुुलेट गरिएको हुन्छ । जब उनीहरू कम खोजीको सूचीमा पर्छन्, त्यतिबेला आफूलाई असफल र एक्लो पाउँछन्, जसले उनीहरूलाई दिक्दार बनाउँछ । त्यही दिक्दारीपनको असर नै उनीहरूको भविष्यमाथि पर्ने मनोविद् आचार्य बताउँछन् ।
बालबालिकालाई ललाई–फकाई, लोभ देखाएर श्रममा लगाउनु कानुनी अपराध हो । बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ले बालबालिकालाई श्रममा लगाउन पूर्ण रोक लगाएको छ । डान्सबार, गजल, होटलजस्ता मनोरञ्जन क्षेत्रलाई जोखिमपूर्ण श्रमको रूपमा बन्देज गरेको छ । कानुनले बर्जित गरे पनि अभिभावकहरू नै आफ्ना सन्तानको प्रतिभा देखाउने बहानामा उनीहरूमाथि शोषण गरिरहेको देख्न सकिन्छ ।
सानै उमेरमा पाएको प्रशंसा, आलोचना वा असफलताले बालबालिकाको आत्मविश्वासमा असर पर्न सक्ने विज्ञहरूको भनाइ छ । यसको मतलव बालबालिकालाई घरबाट बाहिर निस्कन नदिनु भन्ने हैन । बालप्रतिभालाई अवसर दिनु आवश्यक छ, तर त्यो अवसर उनीहरूको मानसिक स्वास्थ्य, शिक्षा, बाल्यकाल र दीर्घकालीन भविष्यलाई ध्यानमा राखेर हुनुपर्छ । उनीहरूलाई आफ्नै समय, आफ्नै गति र आफ्नै मिहिनेतले अघि बढ्ने वातावरण निर्माण गर्न सकियो भने, उनीहरूको सफलता केवल क्षणिक नभई दीर्घकालीन उपलब्धि हुने सरोकारवालाको बुझाइ छ ।