
दोहा, कतार : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले विशेष सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । घेदुङका अनुसार कार्यक्रम आगामी शुक्रबार बिहान ११:३० बजे कतारको प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा आयोजना गरिनेछ । कार्यक्रममा कतारमा रहेका विभिन्न नेपाली कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत दिने तयारी गरिएको छ।
घेदुङको आयोजनामा हुने उक्त कार्यक्रममा मातृ संस्थाहरू ताम्बा घेदुङ, लामा घेदुङ, सांस्कृतिक घेदुङ, युवा घेदुङ तथा महिला घेदुङको सहआयोजनात्मक सहभागिता रहने जनाइएको छ । कार्यक्रममा विशेषगरी गत फेब्रुअरी ६ मा सम्पन्न सोनाम ल्होछार कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्तिहरूका साथै वर्तमान कार्यसमितिको कार्यकाल सुरु भएयता संस्थाका विभिन्न गतिविधि र अभियानमा योगदान पुर्याउने सहयोगीहरूलाई सम्मान गरिने घेदुङका अध्यक्ष फुर्बा ग्याबा तामाङले जानकारी दिए । अध्यक्ष तामाङले कतारमा रहेका सम्पूर्ण तामाङ समुदाय तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा अभिवृद्धि गरिदिन आग्रह गरेका छन् ।
सन् २०१८ मा स्थापना भएको यस संस्थाले प्रवासमा रहेका तामाङ समुदायलाई एकताबद्ध गर्दै भाषा, धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका साथै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।