२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

रेडक्रससँग सहकार्य गर्न गौर नगरपालिका प्रतिबद्ध : नगर प्रमुख साह

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन १३ गते १९:१६
Shares
रेडक्रससँग सहकार्य गर्न गौर नगरपालिका प्रतिबद्ध : नगर प्रमुख साह

रौतहट : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहटको आठौँ वार्षिक साधारण सभा गौरमा सम्पन्न भएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्य र जिल्ला सभापति राजकिशोर यादवको अध्यक्षतामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।

साधारण सभामा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरू, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा निरन्तर रक्तदानमार्फत समाजसेवामा योगदान पुर्‍याएका दर्जनौँ रक्तदाताहरूलाई सम्मान गरिएको छ । हालसम्म ९७ पटक रक्तदान गरिसकेका पुलपुल गुप्ता प्रमुख आकर्षणका रूपमा सम्मानित भए । साथै इन्दल सिंह, बजरंगी गुप्तालगायत अन्य सक्रिय रक्तदाताहरूलाई पनि दोसल्ला र सम्मानपत्रद्वारा कदर गरिएको थियो ।

यसैबीच, जिल्लामा आपत्कालीन अवस्थामा रक्तदान अभियानलाई प्रभावकारी बनाउन खेलेको भूमिकाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले रक्तदानसम्बन्धी समाजमा विद्यमान भ्रम र अज्ञानता हटाउन व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले रक्तदानलाई केवल सामान्य कार्य नभई जीवन बचाउने पुण्य कर्मको रूपमा व्याख्या गर्दै यसको महत्त्वलाई अझ व्यापक रूपमा फैलाउनुपर्ने बताए ।

साहले रेडक्रसले जिल्लामा गर्दै आएको मानवीय तथा विपद् व्यवस्थापनका कार्यको प्रशंसा गर्दै गौर नगरपालिका रेडक्रससँग सहकार्य गर्न सधैं तत्पर रहेको स्पष्ट पारे । आर्थिक चुनौतीका बाबजुद पनि मानवसेवाका कार्यक्रमहरूमा सहयोग निरन्तर रहने प्रतिबद्धता उनले दोहोर्‍याए ।

कार्यक्रमका अध्यक्ष राजकिशोर यादवले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा संस्थालाई अझ पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउने लक्ष्य रहेको बताए । उनले विशेषगरी विपद् व्यवस्थापन र रक्तसञ्चार सेवामा पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभामा वक्ताहरूले रेडक्रसको निष्पक्ष मानवीय सेवाको प्रशंसा गर्दै आगामी दिनमा संस्था अझ प्रभावकारी रूपमा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खबर