२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

देवानगन्ज घटनाको विरोधमा गौरमा हिन्दु सम्राट सेनाको शान्तिपूर्ण प्रदर्शन

दोषीमाथि कडा कारबाहीको माग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन १३ गते १९:२५
Shares
देवानगन्ज घटनाको विरोधमा गौरमा हिन्दु सम्राट सेनाको शान्तिपूर्ण प्रदर्शन

रौतहट : सुनसरीको देवानगन्जमा भएको घटनाको विरोधमा रौतहटको सदरमुकाम गौरमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । हिन्दु सम्राट सेनाको अगुवाइमा आयोजित उक्त प्रदर्शनमार्फत सहभागीहरूले दोषीमाथि कडा कारबाही र सामाजिक–धार्मिक सद्भाव कायम राख्न माग गरेका छन् ।

हिन्दु सम्राट सेना गौर नगर समितिका अध्यक्ष मनोज यादवको नेतृत्वमा सुरु भएको विरोध कार्यक्रम गौरस्थित ऐतिहासिक घण्टाघर चोकबाट प्रारम्भ भई नगरका विभिन्न प्रमुख क्षेत्रको परिक्रमा गर्दै सम्पन्न भएको थियो । प्रदर्शनमा स्थानीय नागरिक, सामाजिक अभियन्ता तथा धार्मिक समूहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै हिन्दु अधिकारको संरक्षण, दमन अन्त्य तथा दोषीलाई कडा कारबाहीको माग गरेका थिए । साथै, केही प्रदर्शनकारीहरूले अवैध बसोबासको विषयलाई पनि उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

केही दिनअघि सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्ज क्षेत्रमा दुई समूहबीच भएको विवादले उग्र रूप लिँदा स्थिति तनावग्रस्त बनेको थियो । सो क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको ज्यान गएको थियो भने दर्जनौं सर्वसाधारण तथा सुरक्षाकर्मी घाइते भएका थिए ।

उक्त घटनाप्रति देशका विभिन्न स्थानमा विरोध र चिन्ता व्यक्त भइरहेका बेला गौरमा समेत ऐक्यबद्धता जनाउँदै निष्पक्ष छानबिन र दीर्घकालीन सुरक्षा सुनिश्चितताको माग गरिएको हो ।

प्रदर्शनका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको थियो । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रहरी नायब उपरीक्षक बसन्त गौतमको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रशासनका अनुसार प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण, अनुशासित र मर्यादित ढंगले सम्पन्न भएको छ । प्रदर्शनपछि गौर क्षेत्रको जनजीवन सामान्य अवस्थामा फर्किएको स्थानीय प्रशासनले जनाएको छ ।

सम्बन्धित खबर