
अर्घाखाँची : सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले पछिल्लो समय तीव्र गति लिन सुरु गरेको छ ।
२०६५ सालबाट निर्माण थालिएको सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ भने यसको विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने काम गत वर्षदेखि दुर्त गतिमा अघि बढेको छ ।
१९७ किलोमिटर पक्की सडक निर्माण गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०६६/०६७ मा अर्घाखाँचीको सन्धिखर्कमा स्थापना भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना कार्यालयले हालसम्म ४६.५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, अर्घाखाँची, प्युठान र गुल्मी हुँदै गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन जोड्ने यस सडकअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ सम्म जम्मा १८ किलोमिटर पक्की सडक निर्माण भएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा थप ४.५ किलोमिटर र आर्थिक वर्ष २०८२/०८३ मा २४ किलोमिटर सडक कालोपत्रे भएपछि हालसम्म कुल ४६.५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न भएको योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले जानकारी दिइन् ।
आर्थिक वर्ष २०८२/०८३ मा १० किलोमिटर पक्की सडक निर्माण गर्ने लक्ष्यसहित योजनाका लागि ३९ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको भएपनि योजना अन्तर्गतका सबै ठेक्कामा काम गरिरहेका निर्माण व्यवसायी तथा भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरी थप बजेट सुनिश्चित गर्दै ९६ करोड रुपैयाँ खर्च गर्न सफल भएपछि थप २४ किलोमिटर पक्की सडक निर्माण सम्पन्न गर्न सफल भएको योजना प्रमुख गागलबहादुर भण्डारीले बताए ।
उनका अनुसार २०७७ सालमा ठेक्का व्यवस्थापन भई रुग्ण अवस्थामा रहेको बागलुङको बुर्तिवाङ–फल्लेघर सडक खण्डको २२ किलोमिटर ग्राभेल सडक निर्माण कार्य पनि यही आर्थिक वर्षमा सम्पन्न भएको छ ।
यता पाल्पाको कञ्चनखोला–खुर्साने सडक खण्डमा निर्माण व्यवसायीले काम गर्न नसकेपछि ठेक्का तोडिएको छ । ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाट कार्यसम्पादन जमानतबापतको ६ करोड ८४ लाख १२ हजार रुपैयाँ जफत गरिएको र बाँकी काम सम्पन्न गर्न लाग्ने अद्यावधिक लागत करिब ३९ करोड रुपैयाँ सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको योजना प्रमुख भण्डारीले जानकारी दिए ।
उनका अनुसार कार्यालयले ठेक्का तोडेपछि निर्माण व्यवसायीले उच्च अदालत बुटवल र उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालत बुटवलले रिट खारेज गरेको छ भने उच्च अदालत पाटनले मध्यस्थ नियुक्तिको फैसला गरेको छ । उक्त सडक खण्डमा पुनः ठेक्का व्यवस्थापन गर्न सहमतिका लागि फाइल मन्त्रालयमा पठाइएको र सहमति प्राप्त हुनासाथ ठेक्का प्रक्रिया अघि बढाइने उनले बताए ।
निकै महत्वपूर्ण मानिएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाका लागि वार्षिक १ अर्ब रुपैयाँ बजेट विनियोजन हुने हो भने पाँच वर्षभित्र सम्पूर्ण आयोजना सम्पन्न गर्न सकिने योजना प्रमुख भण्डारीको भनाइ छ । आर्थिक वर्ष २०८३/०८४ मा ४० किलोमिटर पक्की सडक निर्माण गर्ने लक्ष्य राख्दै १ अर्ब रुपैयाँ बजेट माग गरिएको भए पनि जम्मा ३५ करोड रुपैयाँ मात्रै विनियोजन भएकाले त्यसबाट १० किलोमिटर सडक मात्रै कालोपत्रे गर्न सकिने उनले बताए ।
रूपन्देहीको सालझण्डी, पाल्पाको खुर्साने, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क, गुल्मीको पुर्कोटदह र अर्खाबाङ हुँदै बागलुङको ढोरपाटन जोड्न यो सडक योजना सञ्चालन गरिएको हो। आयोजना सम्पन्न गर्न करिब ११ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
‘बजेट अभावका कारण विगतदेखि सडक निर्माणले अपेक्षित गति लिन सकेको थिएन। अहिले सबै सरोकारवालासँग छलफल गरेर बजेटका लागि समन्वय गर्न आग्रह गरेपछि केही प्रगति भएको छ,’योजना प्रमुख भण्डारीले भने, ‘फाइल पेश गरिरहेका छौं, काम गरेअनुसार बजेट आउने अपेक्षा गरेका छौं ।’
ढोरपाटन नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले सडक निर्माण सम्पन्न भएपछि ढोरपाटन सिकार आरक्ष पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । छोटो दूरीको मार्ग भएकाले यस सडकको प्रयोग अझ बढी हुने योजना प्रमुख भण्डारीको विश्वास छ ।
‘सडक निर्माण सम्पन्न भएर नियमित यातायात सञ्चालनमा आएपछि पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउँछ,’उनले भने,‘पर्यटक भित्रिएपछि रूपन्देहीसँगै पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङका आर्थिक गतिविधि चलायमान हुनेछन् । बसाइँसराइ रोकिनेछ, बीचमै काम छाडेका व्यवसायी र उद्यमी पनि पुनः व्यवसायमा फर्कन सक्नेछन् ।’
सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले बजेट अभाव, समयमै निर्माण व्यवसायीले काम पूरा नगर्नुजस्ता समस्याका कारण आयोजनाले गति लिन नसकेको स्वीकार गरिन् ।
प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले ढोरपाटन सडक बहुआयामिक महत्वको आयोजना भएकाले यसको विकासलाई तीव्रता दिन आवश्यक रहेको बताए ।
‘यसै सडकमार्फत जिल्लामा पर्यटक भित्रिँदा अर्घाखाँचीको आर्थिक गतिविधि चलायमान हुन्छ,’ उनले भने, ‘ढोरपाटन सिकार आरक्ष जाने स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो आवागमनले अर्घाखाँचीमा चहलपहल बढ्छ ।’
उनले संघीय सरकारले यस सडकलाई उच्च प्राथमिकतामा राखी पर्याप्त बजेट विनियोजन गर्ने विश्वास व्यक्त गर्दै ढोरपाटन सडकले अर्घाखाँचीलाई पहाडी जिल्लाको संगमस्थलका रूपमा स्थापित गर्ने अपेक्षा गरे । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकअन्तर्गत अर्घाखाँचीको पटौती–तम्घास सडक खण्डको कालोपत्रे कार्य सम्पन्न भइसकेको छ । उक्त सडक सञ्चालनमा आएपछि गुल्मीवासीलाई पाल्पाको तानसेन हुँदै आउजाउ गर्नुभन्दा तम्घास–पटौती–सालझण्डी सडक प्रयोग गर्न धेरै सहज भएको छ ।