–विनबहादुर कुँवर
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी छ । अहिलेसम्मको चुनावी परिणामले नेपाली कांग्रेस पहिलो र नेकपा (एमाले) दोस्रो ठूलो दल हुने देखिन्छ । अहिलेसम्मको परिणामलाई हेर्दा, माओवादी केन्द्र तेस्रो र राष्ट्रिय स्वतन्त्र दल चौथो बन्ने देखिएको छ । यही निर्वाचनबाट उदाएको स्वतन्त्र दलको यो उपस्थिति निकै आकर्षण लाग्दो छ । रास्वपासँगै यसअघिको संसदमा निकै हैसियत बिहिन देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यसपटक निकै बलियो गरी देखिएको छ । मधेशमा केही भिन्नै खालको राजनीतिक रूपमा देखिएको जनतम पार्टी पनि यसपटक राष्ट्रिय दलको हैसियतमा उदाएको छ ।
यस पटकको आम निर्वाचनले निकै महत्वपूर्णं केही सन्देशहरु दिएको छ । निर्वाचनको परिणामले पहिलेका ठूला दलप्रति जनतामा निकै ठूलो वितृष्णा भएको देखाएको छ । पहिलो कुरा त यो निर्वाचनमा जनताको सहभागिता नै धेरै कम भयो । यस्ता निर्वाचनबाट देश र जनताले के पाउने र भोट दिन जाने ? भन्ने वितृष्णा नै जनतामा देखियो । हुन पनि यस्ता निर्वाचन यसभन्दा पहिले पनि भएका हुन् । खाली प्रत्येक पटक काला जाने गोरा आउने क्रम मात्रै भयो । काम केही नगर्ने खाली पद, प्रतिष्ठा कुर्सी र रकममा मात्र रमाउने नेतृत्व मात्रै चुनावबाट अनुमोदित भइरहे । जुन घटनाक्रमबाट दिक्क भएका जनताले यसपटक भोट नै बहिष्कार गरे । यदि केही नयाँ र स्वतन्त्र दलको चुनावमा बढ्दो सक्रियता नदेखिएको भए ५० प्रतिशत भोट पनि खस्ने सम्भावना थिएन । नो भोट, बहिष्कार अनि खारेजी र अभज्ञा आदिलाई पनि जनताले यो निर्वाचनबाट अनुमोदन गरेको पाइयो ।
निर्वाचनबाट नयाँ र स्वतन्त्रप्रति जनताको बढी रुची, पुराना दलप्रति जनताको अनआस्था भएको पनि स्पष्ट भयो । यसलाई एक प्रकारको परम्परागत शक्तिप्रतिको वितृष्णा मान्न सकिन्छ । यो राज्य व्यवस्था अनि यसअन्तर्गतका दल सबैप्रतिको जन वितृष्णाकै कारण स्वतन्त्र उम्मेदवार र नयाँ दलले यो निर्वाचनमा बढी फाइदा उठाए । केही जनताले त साँच्चिकै यी स्वतन्त्रहरुले केही गर्लान् भन्ने नै छ । तर धेरै जनताले भने केही गर्लान् भन्नुभन्दा पनि पुराना दल र दल नेताहरुप्रतिको घृणा र आक्रोशलाई स्वतन्त्र उम्मेदवार र दलप्रति भोटमार्फत् अभिव्यक्ति पोखे ।
कुनै बेला नेपालमा नेपाली कांग्रेसको पक्षमा निकै ठूलो लहर थियो भने कुनै बेला पञ्च मण्डलेहरुको पक्षमा पनि त्यस्तै । कुनै बेला माले, एमाले र मसालेहरुको पक्षमा पनि लहर आएको थियो भने कुनै बेला माओवादीको । करिब दुई तिहाई बहुमत गत निर्वाचनमा बाम गठबन्धनको नाममा एमाले–माओवादी केन्द्रले पाएकै हुन् । तर, आज माओवादी केन्द्र अनि समाजवादी केन्द्र दर्जन सिटमा मात्र खुम्चनु पर्ने स्थिति छ । त्यसैले स्वतन्त्रको लहर पनि क्षणिक नै हो । मुख्य त राज्य सत्ता र व्यवस्थाको कुरा हो । जस्तो डाई त्यस्तै माल । ढिलो चाँडो यी नयाँ स्वतन्त्र व्यक्ति र दल नेताहरु पनि त्यस्तै बन्ने छन् । जस्तो आज देउवा, प्रचण्ड, ओली, नेपाल–खनाल आदि बनेका छन् ।
यो चुनावको नतिजाले जे–जस्तो सन्देश दियो, यो एकदमै गम्भीर खालको छ । यसले मुलुकलाई भिन्नै दिशातिर लैजाने संकेत पनि गरेको छ । हिजोसम्म राजनीतिमा भ्रष्टीकरण, दलालीकरण र कमिशनतन्त्र हावी हँुदै आएको थियो भने अब देशको राजनीतिमा एनजीओकरण पनि देखिन थालेको छ । जसरी हिजो देशका विभिन्न संघ संस्था एनजीओ र आइएनजीओकरण भएका थिए । वर्षाको झरीमा च्याउ उम्रिए जस्तै गाउँ–गाउँ र बस्तीबस्तीमा यस्ता संस्थाहरु सक्रिय हुँदै आएका थिए । जातको नाममा, धर्मको नाममा र विकासको नाममा डलरको खेती गरिँदै आएको थियो । अब यो स्वतन्त्रको चुनावी लहरले पनि यस्तै नेपालको राजनीति एनजीओ र आइएनजीओकरण हुने खतरा पैदा भएको छ । विचार र सिद्धान्तलाई भन्दा सामान्य कुरा गरेर जनताको मन जित्दै सत्तामा जाने अनि मुलुकको स्वतन्त्रता र स्वाभिमानलाई कमजोर पार्ने षड्यन्त्र हुनसक्ने खतरा छ । संविधान जारी पछि मुलुकमा सिधा–सिधा देखिनेगरी बाह्य हस्तक्षेप हुँदै आएको छ । छिमेकी देशमात्रै नभई पश्चिमा देशहरुको पनि बलियो उपस्थिति नेपालभित्र देखिन्छ । निकै विरोधका बाबजुत एमसीसी पास हुनु, एसपीपी अगाडि बढाउन खोज्नु, नागरिकता विधेयकलाई जबरजस्त पास गर्नु खोज्नु जस्ता घटनाले नेपालको राजनीतिलाई थप प्रष्ट्याएको छ ।
अहिलेको निर्वाचनमा खासगरी दलहरुबीच भन्दा पनि गठबन्धनबीच प्रतिस्पर्धा देखियो । पाँच दलीय कांग्रेस नेतृत्वको गठबन्ध र अर्काे एमाले–पञ्चे गठबन्धनबीच प्रतिस्पर्धा बन्यो । यी दुई मध्ये ठूलो र बलियो चुनावी मोर्चा कांग्रेसी गठबन्धनकै भएको छ । तर, यसमा ठूलो धोका माओवादी केन्द्रलाई भएको छ । गठबन्धनको बलमा कांग्रेस ठूलो पार्टी भइरहँदा सहयोगी पार्टीहरु उसका निम्ति मात्रै सहयोगी बने । अन्य दलका कार्यकर्ता तथा मतदाताले कांग्रेसलाई इमान्दारीताका साथ भोट हाले भने कांग्रेसबाट भने त्यस्तो देखिएन । जसको कारण गठबन्धनका माओवादी, एकीकृत समाजवादी र लोसपालगायतलाई गठबन्धन घाँडो बन्यो । विगतमा ५० प्लस बनेको माओवादी केन्द्र अहिले आधा हाराहारीमा आयो । एकीकृत समाजवादीको पक्षमा पनि खास मत देखिएन । विगतको संसदमा बलियो देखिएको लोसपा पनि यसपटक निकै कमजोर बन्यो । उसको हैसियत नगन्य खालको देखिएको छ ।
त्यस्तै, बिजोक बाबुराम भट्टराई र मोहन विक्रम मसाललाई पनि भएको छ । प्यूठानमा एक्लै लड्दा पनि जित्ने राजमो यसपटकको चुनावमा हार्यो । बाग्लुङमा चित्रबहादुर केसी जित्न सफल भएपनि त्यो त्यति सहज रुपमा भएको थिएन । काठमाडौं उपत्यकामा कांग्रेस निकै बलियो गरी उदाउँदा माओवादी केन्द्र र एकीकृत समाजवादी नगन्य अवस्थामा पुगे । कतिपयको सार्वजनिक टिप्पणी नै कांग्रेसबाट धोका भयो भन्ने पनि छ । धोकाको विषयलाई छाडौं तर, वास्तविक घटना जनताको वितृष्णा भने साँचो हो । त्यसमा पनि आफ्नो हैसियत नभई अर्काको बुई चढ्नु न्यायोचित थिएन । चुनावमा जाँदा काठमाडौंका जनताले नपत्पाउनु स्वाभाविक नै छ ।
अहिलेको गठबन्धन हेर्दा, गठबन्धन जोगाउने भन्दा पनि कसरी अन्तरघात गर्ने भन्ने शैलीमा देखियो । दलहरुभित्रै एक प्रकारको अन्तरघात र गठबन्धनभित्र अर्को प्रकारको अन्तरघात बन्यो । नतिजा आउँदै गर्दा सरकार निर्माण कसको नेतृत्वमा हुने र कुन पद कसले पाउने भन्ने हानाथाप भएको छ । यो हानाथाप सामान्य छैन । दाउपेचबाट अगाडि बढेको यो राजनीतिले मुलुकलाई कता लैजाला सोचनीय छ । कतिपयको टिप्पणी कतै यही निर्वाचन र यही संसद यही व्यवस्थाको अन्तिम त हुँदैन भन्ने प्रश्न उठाएका छन् । जनताबाट मत पाएका राजनीतिक दलहरुले यसबारे सोंच्न आवश्यक छ । यदि यही शैलीमा गए उनीहरु मात्रै होइन व्यवस्थाकै विरुद्ध जनता उत्रन सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies