२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

अफ्रिकाभरि फैलिँदै छ दसैं

Nada
हिक्मत थापा
२०८३ कार्तिक २ गते १४:००
Shares
अफ्रिकाभरि फैलिँदै छ दसैं

नेपाली जहाँ पुगे, त्यहाँ नेपाली संस्कृति पनि पुगेको छ । भाषा, वेशभूषा, खानपिन, चाडपर्व र परम्पराले संसारभर छरिएको नेपाली समुदायलाई आफ्ना जरा र मातृभूमिसँग जोडिराखेको छ । नेपाली डायस्पोराको विस्तारसँगै दसैं पनि नेपालको भूगोलबाट बाहिर निस्केर विश्वभर पुगेको छ । अफ्रिका महादेशमा पनि नेपाली समुदायको विस्तारसँगै दसैं सामूहिक भेटघाट, टीका–जमरा, खानपिन र आत्मीयताको पर्वका रूपमा स्थापित हुँदै गएको छ ।

ncell

नाइजेरियामा नेपालीहरू फाट्टफुट्ट आउन थालेको १९८० को दशकदेखि देखिन्छ । त्यसबेला आउने नेपालीहरू प्रायः संयुक्त राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय निकायमा छोटो अवधिका लागि काम गर्न आउने कर्मचारीहरू थिए । उनीहरूको बसाइ लामो नहुने भएकाले त्यतिबेला कुनै संगठित नेपाली समुदायको स्वरूप भने देखिँदैनथ्यो ।

सन् २००० पछि भने अवस्था बिस्तारै बदलिन थाल्यो । भारतीय मूलका व्यवसायीहरूले नाइजेरियामा उद्योग, व्यापार, होटल तथा रेस्टुरेन्ट व्यवसाय विस्तार गर्दै जाँदा भारत हुँदै नेपाली प्राविधिक कर्मचारी, सेफ तथा अन्य दक्ष जनशक्ति नाइजेरिया आउने क्रम बढ्यो । यसरी नाइजेरियाका विभिन्न सहरमा नेपालीहरू छरिएर बस्न थाले ।

म सन् २००६ मा नाइजेरिया आएपछि नेपालीलाई खोज्ने र जोड्ने प्रयासमा लागेँ । त्यस क्रममा एक्लाएक्लै वा दुई–चारजनाको समूहमा रहेका नेपालीहरू क्रमशः सम्पर्कमा आउन थाले । पहिलो वर्षमै करिब ३०–४० जना नेपालीसँग सम्पर्क स्थापित भयो । त्यो परदेशमा हराउँदै गएको आफ्नोपन भेटिने सुरुवात पनि थियो । नाइजेरियामा नेपालीहरूले सामूहिक रूपमा दसैं मनाएको पहिलोपटक  सन् २००७ मा हो । त्यो वर्ष अपापा, लागोसस्थित मेरो घरमा नेपालीहरू जम्मा भएर दसैं मनाएका थियौं । 

उमेरले ज्येष्ठ देहरादुनका पंकज थापा दाइ र टिना थापा भाउजूले त्यस दिन यहाँ रहेका नेपालीहरूका अभिभावकको भूमिका निर्वाह गर्दै सबैलाई टीका र जमरा लगाइदिनुभएको थियो । पूजापाठ र मन्त्रोच्चारणको जिम्मेवारी हेटौंडाका विष्णु गौतमले लिनुभएको थियो ।  उहाँ त्यसबेला नाइजेरियाको एउटा प्याकेजिङ उद्योगमा प्राविधिकका रूपमा काम गर्नुहुन्थ्यो । उहाँ नेपालमा पुरोहित परिवारमा हुर्किनुभएको रहेछ र पूजा तथा कर्मकाण्डमा राम्रो ज्ञान राख्नुहुन्थ्यो । त्यसैले परदेशमा पुरोहित खोज्नुपर्ने अवस्था पनि परेन । 

त्यो पहिलो सामूहिक दसैंमा ३० जनाभन्दा बढी नेपाली जम्मा भएका थियौं । टीका र जमरा, सेलरोटी, मासुभात र सामूहिक खानपिनले त्यो दिनलाई विशेष बनाएको थियो । त्यसले हामीलाई केही समयका लागि भए पनि नेपाल फर्किएजस्तो अनुभूति दिलाएको थियो । 

मेरो घरबाट सुरु भएको त्यो सामूहिक दसैंको परम्परा त्यसपछि निरन्तर रह्यो । दसैंमा नेपाल नजाने नेपालीहरूमध्ये कसै न कसैको घरमा विजयादशमीको दिन सामूहिक टीका र भेटघाट गर्ने चलन बस्यो । घर फेरिँदै गए, मानिसहरू थपिँदै गए, तर दसैंको आत्मीयता उस्तै रह्यो । 

टीका र जमरा ग्रहणपछि खानपिन, गीत–संगीत, नृत्य र रमाइलो गरिन्छ । एकअर्कालाई शुभकामना दिने, परदेशमा रहेका आफ्ना सुख–दुःख सुनाउने, नेपालमा भएका परिवारका खबर लिने र देशका समसामयिक विषयमा छलफल गर्ने क्रम पनि चल्छ । कसैले नेपालको गाउँको दसैं सुनाउँछन, कसैले सहरको । कसैले तराई–मधेशको परम्परा सुनाउँछन्, कसैले कर्णाली र सुदूरपश्चिमका चलन । भारतको आसामदेखि देहरादूनसम्म फैलिएको नेपाली समुदायका अनुभव पनि त्यस्ता भेटघाटमा जोडिन्छन् । यसरी एउटा सानो परदेशी जमघटभित्र नेपाली समुदायको ठुलो सांस्कृतिक विविधता भेटिन्छ । 

नाइजेरियाको सबैभन्दा ठुलो नेपाली समुदाय रहेको लागोसमा मात्र होइन, अबुजा र कानोलगायत नेपालीहरू रहेका अन्य सहरमा पनि दसैं सामूहिक रूपमा मनाउने परम्परा विकास भएको छ । यसरी नाइजेरियामा दसैं अब निजी पारिवारिक पर्व मात्र नभई नेपाली समुदायको साझा सांस्कृतिक उत्सव बन्न पुगेको छ ।

अफ्रिकाभरि फैलिँदै दसैं

नाइजेरियाको कथा अफ्रिकामा फैलिएको नेपाली डायस्पोराको एउटा सानो प्रतिनिधि कथा मात्र हो । आज नेपालीहरू अफ्रिकाका धेरै देशमा पुगेका छन् । दक्षिण अफ्रिकादेखि मेडागास्कर, बोत्स्वाना, मदागास्कर, कंगो, युगान्डा, रुवान्डा, केन्या, तान्जानिया र सेसेल्ससम्म नेपाली समुदाय भेटिन्छन् । पूर्वी र मध्य अफ्रिकादेखि पश्चिम अफ्रिकाका घाना, नाइजेरिया, आइभोरी कोस्ट हुँदै सेनेगल र उत्तरतर्फ मोरक्कोसम्म नेपालीहरूको उपस्थिति विस्तार हुँदै गएको छ । अफ्रिकामा नेपाली डायस्पोरा विस्तार हुँदै जाँदा दसैं नेपाली समुदायलाई जोड्ने एउटा महत्त्वपूर्ण सांस्कृतिक सेतु पनि बनेको छ । 

आज अफ्रिकाका विभिन्न देशमा नेपालीहरू आफ्नै शैलीमा दसैं मनाइरहेका छन् । कतै ठुलो जमघट हुन्छ, कतै केही परिवार मात्र हुन्छन् । कतै घरमा हुन्छ, कतै रेस्टुरेन्ट–होटेलमा । तर सबैको मनमा एउटै भावना हुन्छ– नेपाल टाढा होला, नेपालीपन टाढा हुनु हुँदैन । 

– लागोस, नाइजेरिया

uae

सम्बन्धित खबर