
अर्धरात्रिको घोर अन्धकारमा, चारैतिर भय र अत्याचार छाएका बेला देवरुपिणी देवकीको गर्भबाट पूर्व दिशामा सोह्र कलाले युक्त पूर्ण चन्द्रमा उदय भएझैं सबैका हृदयमा विराजमान भगवान् श्रीविष्णुको प्रादुर्भाव भयो । द्वापर युगको सोही पावन तिथिलाई हामी श्रीकृष्ण जन्माष्टमीका रूपमा परम भक्ति र श्रद्धाका साथ मनाउँछौं ।
यो पावन दिनमा वैष्णव, वल्लभ, चैतन्य, राधाकृष्ण, श्रीकृष्णप्रणामीलगायत सम्पूर्ण हिन्दु धर्मावलम्बी उपवास बस्छन् । मध्यरातमा भगवान्को दिव्य जन्मोत्सव मनाई रातभर भजन–कीर्तन र कथा श्रवण गर्दै जाग्राम बस्ने परम्परा छ । ज्योतिष शास्त्रअनुसार रोहिणी नक्षत्र र बुधबारको योगमा भगवान्को जन्म भएकाले यस दिन यी दुवैको संयोग पर्नुलाई अत्युत्तम मानिन्छ ।
नेपालमा जन्माष्टमीका दिन पाटनको ऐतिहासिक कृष्णमन्दिर, काठमाडौं हनुमानढोकास्थित अष्टकोणाकार कृष्ण मन्दिरलगायत देशभरका मन्दिरहरूमा भक्तजनको ठुलो घुइँचो लाग्छ । पाटन कृष्णमन्दिरमा राष्ट्रप्रमुख स्वयं उपस्थित भई पूजा–अर्चना गर्ने र जल तथा प्रसाद ग्रहण गर्ने विशेष परम्परा रहेको छ ।
जन्मोत्सवको विधि र धार्मिक रहस्य
साँझ स्नान–पूजा गरी कोक्रोभित्र बालकृष्ण वा शालिग्राम शिला राखी ठीक मध्यरातमा बाहिर निकालेर हर्षोल्लासका साथ जन्मोत्सव मनाइन्छ । जसले कारागारमा भगवानको प्रादुर्भाव भएको संकेत गर्दछ । तत्पश्चात् पञ्चामृतले स्नान गराई श्रीखण्ड, चन्दन, तुलसी, अक्षता, वस्त्र र फलफूल अर्पण गरी आरती र पुष्पाञ्जली गरिन्छ ।
भगवान् श्रीकृष्ण केवल पौराणिक ग्रन्थका पात्र मात्र नभई ऐतिहासिक पुरुष पनि हुनुहुन्छ । विद्वान् विश्वनाथ चक्रवर्तीका अनुसार भगवान् श्रीकृष्णले जीवनका सुरुवाती समय गोकुल, वृन्दावन, नन्दग्राम र द्वारकामा बिताउनुभयो । जन्माष्टमीकै दिनबाट कलियुगको प्रारम्भ भएको मानिन्छ ।
भगवान्को जन्म र लीला दिव्य छन् । मथुरामा कंसको कारागारमा वसुदेव–देवकीका सामु चतुर्भुज रूपमा ऐश्वर्यमय प्रकट हुनुभयो भने ठीक त्यही समयमा गोकुलमा यशोदाको गर्भबाट माधुर्यमय ब्रजेन्द्रनन्दनका रूपमा अवतरित हुनुभयो । जब सर्वकारणका कारण स्वयं भगवान् नर रूपमा प्रकट हुनुभयो, तब नन्दको घर मात्र होइन, सम्पूर्ण जगत् नै आनन्दमय बन्यो ।
अवतारको मुख्य उद्देश्य र आध्यात्मिक सन्देश
श्रीमद्भगवद्गीतामा अर्जुनसँगको संवादमा भगवान् श्रीकृष्णले आफ्नो अवतारको उद्देश्य स्पष्ट पार्नुभएको छ ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
अर्थात्, जब–जब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, तब–तब साधु पुरुषको रक्षा, दुष्टहरूको विनाश र धर्मको पुनस्र्थापनाका लागि म युग–युगमा प्रकट हुन्छु । भगवान् अवतरित हुनुका तीन मुख्य आध्यात्मिक कारण छन् ।
पहिलो, मधुर लीलाद्वारा जीवलाई प्रेमभक्तिमा जोड्नु : आफ्ना भक्तहरूलाई दास्य, सख्य, वात्सल्य र शृंगार रसको आनन्द प्रदान गरी भगवत्–प्रेममा लीन गराउनु ।
दोस्रो, धरतीको भार हरण गर्नु : अत्याचारी दैत्य र आसुरी प्रवृत्तिको विनाश गरी पृथ्वीलाई पापमुक्त बनाउनु ।
तेस्रो, निष्काम कर्मको ज्ञान दिनु : ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’को अमर सन्देशमार्फत फलको आशा नगरी कर्तव्यपथमा लाग्न सिकाउनु ।
आजको युगमा कृष्णजन्माष्टमी मनाउनुको वास्तविक सार्थकता केवल पूजाविधि र उपवासमा मात्र सीमित छैन । हाम्रो समाजमा व्याप्त अन्याय, अत्याचार, असत्य र ईष्र्यारूपी ‘कंस’हरूको अन्त्य गरी सत्य, न्याय र परोपकारको स्थापना गर्नु नै जन्माष्टमीको मूल सन्देश हो । ‘धर्मो रक्षति रक्षितः’ अर्थात् जसले धर्म (कर्तव्य र सत्य)को रक्षा गर्छ, धर्मले उसको रक्षा गर्छ ।
श्रीकृष्णको अह्लादिनी शक्ति श्रीराधारानीको अगुवाइमा हुने यस महान् उत्सवमा सहभागी भई उहाँको नाम, रूप र गुणको कीर्तन गरेर जीवनलाई सार्थक बनाऔं । कलिकालमा नाम संकीर्तन नै परम औषधि मानिएकाले यस पावन पर्वमा यो महामन्त्र जप्दै जीवनमा सुख र शान्ति प्राप्त गरौं ।
हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे ।
हरे राम हरे राम, राम राम हरे हरे ।।