–डा. चन्द्रमणि अधिकारी
विश्वव्यापीरुपमा नसर्ने रोगहरुमध्ये मुटुरोग एक प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको छ । यसका मुख्य कारणमध्ये मानिसको जीवनशैली पनि एक हो । यसबाट करोडौँ मानिस प्रभावित हुँदै आएका छन् र लाखौँ मानिसले अकालमै जीवन गुमाइरहेका छन् । नेपालमा पछिल्ला वर्षमा जीवनशैलीको परिवर्तन सँगसँगै मुटुरोगसम्बन्धी समस्या पनि वृद्धि हुँदै गइरहेको तथ्यांकले पुष्टि गर्दछ । नेपालमा पनि मुटुका रोगीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पहिलेको र अहिलेको रोगको प्रकृति भने फरक छ । पहिले मुटु बाथरोगीको संख्या बढी थियो भने पछिल्लो समय हृदयाघातका रोगीको संख्या बढ्दै गएको छ । पहिले ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा यो समस्या धेरै हुने गरेको पाइन्थ्यो भने अहिले २०/२५ वर्षकै व्यक्तिमा समस्या आउन थालेको छ ।
गरिबी, अशिक्षा र निम्नस्तरको जीवनस्तरमा बाँचिरहेका मानिसमा बाथ मुटु रोगको समस्या बढी देखिन्थ्यो । यो गरिब देशका लागि ठूलो समस्याको रुपमा थियो । प्रायः धनी देशमा बाथ मुटु रोग उन्मुलन भइसकेको छ । मानिसको आर्थिकस्तरमा सुधार आएपछि यो समस्या कम भएको पाइन्छ । सहरी क्षेत्रमा कम हुँदै गएको छ । तर, व्यायाम, तयारी खानेकुरा, चिन्तायुक्त जीवनशैली, काममा बढी व्यस्तता, सुर्ती तथा मदिराको सेवनले हृयादयाघातका मुटुरोगीको संख्या बढ्न थालेको छ । अन्य देशको तुलनामा नेपालमा हृदयरोग मृत्युको पहिलो कारण बनेको छ । गंगालालको तथ्यांक हेर्दा पनि यस्तै देखिन्छ ।
मुटु रोगको समस्या पहिले सहरमा बढी छ भनिन्थ्यो तर, अहिले गाउँमा पनि बढ्न थालेको छ । त्यसैले यसको उपचार सेवालाई गाउँ–गाउँसम्म विस्तार गर्न आवश्यक छ । सबैभन्दा पहिला मानिसलाई मुटु रोगको समस्या आउन नदिन जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । मुटुरोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै उपचार कसरी गर्ने ? मानिसहरुलाई बुझाउन आवश्यक छ । गाउँका मानिसहरुलाई मुटुरोग लागेको थाहै नपाउने र अकालमै मृत्यु हुने अवस्था छ । यसलाई रोक्नै पर्छ ।
दक्षिण एशियामा भारतमा जस्तै नेपालमा पनि मुटुरोगको उपचार गर्न सकिन्छ । पछिल्लो समय नेपालमा पनि जनशक्तिको कमी छैन । अहिले पनि नेपालमा मुटुरोगको उपचार गर्न भारतबाट पनि बिरामी आउँछन् । खासगरी नेपालको सीमा नजिकका बिरामी यहाँ आउने गर्छन् । सस्तो र गुणस्तरीय सेवा भएको कारण पनि भारतीयहरु नेपाली अस्पतालमा आउने गरेका हुन् । यदि थप आधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउन सके विदेश जानुपर्ने बाध्यताबाट पनि सबै नेपालीलाई मुक्त गर्न सकिन्छ । अहिले मुटुरोगकै उपचारका लागि कतिपय नेपाली विदेश गएको पनि अवस्था छ ।
राष्ट्रिय हृदय केन्द्रको भूमिका
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा वि.सं. २०७७ साउनमा अनुसन्धान एकाइ गठन गरिएको छ । यस एकाइमार्फत २०० वटा अनुसन्धानलाई अगाडि बढाइएको छ । अनुसन्धानबाट निस्केका निष्कर्षहरुलाई विश्वका विभिन्न जर्नलहरुमा प्रकाशित गरिएको छ । मुटुरोगको उपचार, रोकथाम तथा अध्ययन अनुसन्धानमा केन्द्रले उल्लेखनीय भूमिका खेल्दै आएको छ । सन् २०२२ मा अध्ययन अनुसन्धान क्षेत्रमा ३६ वटा अनुसन्धान प्रस्ताव स्वीकृत भएका छन् ।
केन्द्रको प्रायः ९० प्रतिशत श्यया भरिएको हुन्छ । क्षमता विस्तार नगरिएमा दुई/चार वर्षमा बिरामीले श्यया पाउन मुस्किल पर्नेछ । कम्तिमा अहिले दुई सय श्ययाको बनाउन आवश्यक छ । दिन प्रतिदिन बढ्दै गइरहेको बिरामीको चापलाई मध्यनजर गर्दै क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ ।
केन्द्रमा २००६ देखि मुटुको प्वाललाई शल्यक्रिया नगरी उपचार गर्ने विधिको सुरुवात गरिए पनि सन् २०१४ पछि मात्रै उल्लेख्य मात्रामा यस्तो शल्यक्रिया हुन सकेको थियो । विश्वमा छाती चिरेर नगर्ने शल्यक्रियालाई जोड दिन थालिएको छ । २००२ मा फान्समा कृत्रिम भल्भबाट प्रात्यारोपण सुरु भएको थियो । भारतले २०१२ मा सुरु गरेको थियो । नेपालमा आठ वटा शल्यक्रिया गरिएकामा केन्द्रबाट मात्रै सातवटा शल्यक्रिया गरिएको छ । गत वर्ष २०७८ फागुन १६ गते नेपालमै पहिलो पटक बिना अपरेशन ‘टाभी’ विध सुरु गरी हालसम्म सात जनामा सफलतापूर्वक मुटुको भल्भ प्रत्यारोपण गरिएको छ ।
मुटुरोगको निदान, उपचार, रोकथाम तथा अध्ययन अनुसन्धान सम्बन्धमा राष्ट्रिय हृदय केन्द्र सरकारको केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्नु आवश्यक छ । मुटुरोगको उपचारमा नवीन प्रविधिसहित संस्थागत क्षमता विकासमार्फत एक उत्कृष्ट नमुना अस्पतालका रुपमा आफूलाई विकास र विस्तार गरी सेवा प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारको सुनिश्चिततातर्फ केन्द्रले काम गर्नुपर्नेछ । आगामी दिनमा केन्द्रलाई समयानुकूल थप चुस्तदुरुस्त बनाई मुटुरोगको उपचारमा संस्थागत क्षमता विकास गर्दै एक उत्कृष्ट नमुना अस्पतालका रुपमा विकास गर्नु आवश्यक छ । मुटुरोगको उपचारमा तुलनात्मकरुपले सस्तो र गुणस्तरीय सेवा प्रदान गरी देशकै एक भरोसायोग्य उपचार केन्द्रका रुपमा स्थापित गर्नेतर्फ सरकारको सहयोग जरुरत पर्दछ ।
सरकारको दायित्व
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनी मौलिक हकअन्तर्गत व्यवस्था गरेको छ । साथै, आफ्नो स्वास्थ्योपचारका सम्बन्धमा जानकारी पाउने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक हुने हकको प्रत्याभूति गरेको सन्दर्भमा सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्नु राज्यको कर्तव्य हुन आउँछ । यसैअनुसार केही वर्षहरूदेखि नेपाल सरकारले पनि मुटुरोगको उपचारमा उत्तिकै महत्व दिँदै आइरहेको छ । वि.सं. २०६३/६४ बाट सुरु भएको १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटु उपचार, आव २०६४/६५ देखि ५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार, आव २०६६/६७ देखि विनाअप्रेशन मुटुको साँघुरिएको भल्भ खोल्ने प्रविधि, बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया, गरिब बिरामी राहत सुविधालगायतका कार्यक्रम नियमितरुपमा सञ्चालन हँुदै आइरहेका छन् । यी कार्यक्रमका लागि नेपाल सरकारद्वारा गत आव २०७८/७९ मात्रै सामाजिक सेवा अनुदानअन्तर्गत रु ३७ करोड ६० लाख विनियोजन भएको र यसबाट गरिब असहाय बिरामीको उपचारमा निकै सहज भएको छ । आगामी दिनमा थप कार्यक्रममा राज्यले सहयोग विस्तार गर्यो भने धेरै नागरिकलाई यसबाट ठूलो टेवा पुग्नेछ । स्वास्थ्य शीर्षकमा सरकारको थप बजेट बिनियोजन आवश्यक पर्ने देखिन्छ ।
(शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक अधिकारीसँग गरिएको कुराकानीका आधारमा तयार गरिएको लेख ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies