
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग छलफल गरेको छ । संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमर’को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले रास्वपा सभापति लामिछानेसँग भेट गरी समग्र वैदेशिक रोजगार क्षेत्रलाई सम्मानित, मर्यादित, व्यवस्थित र श्रमिकमैत्री बनाउन आवश्यक नीतिगत सुधारका विषयमा छलफल गरेको हो ।
भेटका क्रममा संघले सरकारसँग निरन्तर सहकार्य गर्दै आएको भएपनि वैदेशिक रोजगार क्षेत्रका समस्या र ती समस्याको अविलम्ब नीतिगत समाधान गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएको छ ।
विशेषगरी, नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रमिक भर्ना प्रक्रियामा संलग्न फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) प्रणालीमार्फत २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई समेटेर अन्य व्यवसायीलाई व्यवसायबाट बाहिर राख्ने प्रयास गरिएको विषयलाई गम्भीर रूपमा उठाइएको संघले उल्लेख गरेको छ ।
एफडब्लुसिएमएस प्रणालीमार्फत २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई छनोट गर्ने मापदण्ड, त्यसको आधिकारिकता, पारदर्शिता, निष्पक्षता तथा विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको भन्दै संघले यसको निष्पक्ष छानबिन गरी दोषी व्यक्ति वा संस्थामाथि हदैसम्मको कानुनी कारबाही अघि बढाउन सभापति लामिछानेसमक्ष माग गरेको थियो ।
जवाफमा सभापति लामिछानेले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष खत्रीले मध्यान्हलाई जानकारी दिए ।
सो क्रममा संघले वैदेशिक रोजगार क्षेत्रमा एकाधिकार, अस्वस्थ प्रतिस्पर्धा र सीमित समूहको प्रभाव स्थापित हुने कुनै पनि प्रयासले श्रमिक, व्यवसायी तथा दुई देशबीचको श्रम सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै जुनसुकै प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र समान अवसरमा आधारित हुनुपर्ने संघको स्पष्ट धारणा रहेको बताएको छ ।
श्रमिकको हित, व्यवसायीको समान अधिकार र वैदेशिक रोजगार क्षेत्रको संस्थागत सुधारका लागि राजनीतिक दल, सरकार र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको संघको भनाइ छ ।
संघ कार्यसमितिका पदाधिकारी र सदस्यसहितको छलफलमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरे, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, महासचिव कुन्छादोर्जे दिमदोङ, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता देवराज कटुवाललगायतको सहभागिता रहेको थियो ।
संघ मलेसियालगायतका मुलुकमा हुने सिन्डिकेट लगायतका विषयमा कडा प्रतिरोधमा देखिएको छ । उक्त विषयका अतिरिक्त सेवाशुल्क परिमार्जनलगायतका विषयमा पनि सभापति लामिछानेसँग छलफल भएको बताइएको छ । रास्वपाको नेतृत्वमा सरकार बनेपछि संघले सभापति लामिछानेलाई पहिलोपटक भेटेको हो ।
संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले वैदेशिक रोजगार व्यवसायीहरूको हकहित, व्यवसाय सञ्चालनमा देखिएका समस्या तथा श्रमिकको हितसँग सम्बन्धित संघले उठान गरेका १५ बुँदे मागका सम्बन्धमा समेत सभापति लामिछानेसँग विस्तृत रूपमा छलफल गरिएको जानकारी दिए ।