
दोहा, कतार : रसुवामा आएको विनाशकारी बाढीमा छोरीबाहेक परिवारका करिब ४० सदस्य गुमाएकी मिरा तामाङ अन्ततः गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी कतारको सहयोगमा नेपाल फर्किएकी छन् । परिवारका सदस्य गुमाएको पीडासँगै कतारमा अलपत्रजस्तै बनेकी तामाङ बिहीबार राति हिमालयन एयरलाइन्सको उडानमार्फत नेपाल फर्किएकी हुन् ।
रसुवाको उत्तरगया गाउँपालिका–१ की तामाङ नेपाल फर्किन कठिनाइमा रहेको जानकारी पाएपछि एनसिसी कतारले आवश्यक सहजीकरण गर्दै हवाई टिकटको व्यवस्था गरेको थियो । तामाङकी छोरी भने उद्धारपछि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत छिन् ।
करिब दुई वर्षअघि रोजगारीका लागि कतार आएकी तामाङ आएको करिब ६ महिनामै रोजगार सम्झौता (कन्ट्र्याक्ट) टुटेपछि लामो समयदेखि बेरोजगारजस्तै अवस्थामा थिइन् । बागमती प्रदेश समन्वय परिषद् कतारको समन्वय तथा आग्रहमा तामाङका लागि हवाई टिकटको व्यवस्था गरिएको एनसिसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
एनसिसी कतारले बाढीमा परिवार गुमाएका तथा नेपाल फर्किन कठिनाइमा रहेका कतारस्थित नेपालीहरूलाई आवश्यक सहयोग, आश्रय तथा समन्वय गर्ने अध्यक्ष कृष्ण पन्थीले बताए । यसअघि पनि एनसिसी कतारले बाढीमा परिवार गुमाएका धनकुटा मारेकटहरेका धनबहादुर तामाङलाई हवाई टिकट उपलब्ध गराएर नेपाल पठाएको थियो ।
बाढी प्रभावितका लागि एनआरएनए एनसिसी कतारले आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरिरहेको छ ।