२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा के हुँदै छ ? अपडेट

Nada
२०८३ भदौ १९ गते १६:२७
Shares
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा के हुँदै छ ? अपडेट

काठमाडौं : बाढीपहिरोपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका कर्मचारी, प्राविधिक तथा कामदारको खोज तथा उद्धारमा नेपाली सेनाको नेतृत्वमा संयुक्त टोली परिचालन गरिएको छ। नेपाली सेनाका अनुसार त्रिशूली–३ ए मा दुई जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव निकालिएको छ। अन्य आयोजनामा पनि सुरुङभित्र प्रवेश गरी खोजी गर्ने, पानी र लेदो हटाउने तथा पहुँचमार्ग खुलाउने काम भइरहेको छ।

ncell

नेपाली सेनाका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बलका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। टोलीले दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत वीरेन्द्र अस्पताल छाउनी ल्याएको छ। खोजीका क्रममा एक शवसमेत निकालिएको र थप खोज तथा उद्धार जारी रहेको सेनाले जनाएको छ।

त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना र आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली परिचालन भएको छ। आयोजनाको कार्यालय र निवास रहेको क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्न एक्स्काभेटर र बबक्याट प्रयोग गरेर बाटो बनाउने तथा माटो पन्छाउने काम भइरहेको छ। सेनाका अनुसार टोली ‘अडिट–१’ बाट ४२६ मिटरभित्र प्रवेश गरिसकेको छ। अडिट–१ बाट एक्स्काभेटर छिराउन अपरेटरसहितको व्यवस्थापन गरी त्रिशूली–३ ए सँग ‘लिङ्कअप’ गराउने कामसमेत भइरहेको छ।

लाङटाङ हाइड्रोमा नेपाली सेनाका २५ र गैरसैनिक दुई जनासहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी खोजी गरिरहेको छ। सेनाका अनुसार टोलीले त्यहाँ दुई वटा शव फेला पारेको छ। थप खोज तथा उद्धार जारी छ।

चिलिमे हाइड्रोमा भने विदेशीसहितको संयुक्त टोलीले सुरुङमा जम्मा भएको लेदो हटाउने काम गरिरहेको छ। त्यसका लागि जेनेरेटर र ‘मड पम्प’को प्रयोग भइरहेको नेपाली सेनाले जनाएको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। टोलीले र्‍याफ्ट र डुंगासमेत प्रयोग गरिरहेको छ। सुरुङभित्र जमेको पानी बाहिर निकाल्ने काम पनि भइरहेको सेनाले जनाएको छ।

बाढीपहिरोका कारण सुरुङका प्रवेश तथा निकास क्षेत्रमा लेदो, माटो र पानी जम्मा भएपछि उद्धार कार्य थप जटिल बनेको छ। त्यसैले कतिपय आयोजनामा सुरुङभित्र प्रवेश गरेर खोजी गर्ने तथा कतिपयमा बाहिरबाट उपकरण प्रयोग गरी बाटो र सुरुङ खुलाउने काम एकसाथ अघि बढाइएको छ।

नेपाली सेनाका अनुसार उद्धार टोलीले उपलब्ध जनशक्ति, उपकरण र आयोजनाका प्राविधिकसँग समन्वय गरी खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ। सुरुङभित्र फसेका कर्मचारी, प्राविधिक र कामदारको अवस्था पत्ता लगाउने तथा सम्भावित जीवित व्यक्तिको उद्धारलाई प्राथमिकतामा राखिएको छ।

uae

सम्बन्धित खबर