
काठमाडौं : नेपाल प्रहरीको राहतसम्बन्धी निर्णयमाथि सामाजिक सञ्जालमा प्रश्न गर्ने पत्रकार सागर उप्रेतीलाई नेपाल प्रहरीको साइबर ब्युरोले अभद्र व्यवहार गरेको छ । उप्रेतीले बुधबार आफ्नो फेसबुक पेज ‘सागर सर’ मार्फत प्रहरीलाई लक्षित गर्दै ‘४० करोड बाँड्न सक्ने संगठनले आफ्नै प्रहरीका परिवारलाई ३०–४० लाख दिन किन हिचकिचाएको?’ भन्ने आशयको पोस्ट गरेका थिए ।
सोही विषयलाई लिएर प्रहरीको साइबर ब्युरोले उनीसँग पाँच घण्टा सोधपुछ गर्यो । पाँच घण्टा लामो केरकारपछि आफ्ना मोबाइल फोन समेत नियन्त्रणमा लिएको उप्रेतीले बताए ।
उनलाई ब्युरोले बिहीबार कार्यालयमै बोलाएको थियो । ‘ब्युरोले प्रशासन विभागमा लगेर विभिन्न ५–६ वटा बुँदामा स्पष्टीकरण सोधेको र मोबाइल फोनसमेत नियन्त्रणमा लियो,’ उप्रेतिले भने । उनलाई कागजसमेत गराएर आफ्नो फेसबुक पेज अन्य डिभाइसबाट नचलाउन र तत्काल कुनै पोस्ट नगर्न आदेश दिएको उनले गुनासो गरेका हुन् ।
उप्रेतीले आफ्नो फेसबुकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ योगदान गर्न सक्ने संगठनले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका तथा बेपत्ता प्रहरी कर्मचारीका परिवारलाई समेत पर्याप्त राहत तथा सहयोग उपलब्ध गराउनुपर्ने विषय उठाएका थिए ।
यस्तो गम्भीर मानवीय विषय उठाउँदा प्रहरीले पत्रकारमाथि गरेको अभद्र व्यवहार र मोबाइलसमेत जफत गर्ने कार्यको पत्रकारका विभिन्न संघ संगठनहरूले निन्दा गरेका छन् । उप्रेतीले आफूले कुनै अपमानजनक वा आपत्तिजनक अभिव्यक्ति नदिई सार्वजनिक सरोकारको विषयमा प्रश्न मात्र उठाएको दाबी गरेका छन्।
‘मैले आम नागरिकका हैसियतले प्रश्न गरेको हुँ,’ उनले भनेका छन, ‘यस्तो प्रश्न गर्ने अधिकार संविधानले नै दिएको जस्तो लाग्थ्यो । तर, मलाई पाँच घण्टासम्म केरकार गरियो, मोबाइल जफत गरियो र औँठाछापसमेत लगाउन लगाइयो ।’
आफूले कुनै गलत काम गरेको भए कानुन बमोजिमको प्रक्रिया सामना गर्न तयार रहेको बताउँदै उप्रेतीले आफूमाथि अन्याय भएको ठहरिए आवश्यक कानुनी उपचार खोज्ने समेत बताएका छन् ।