२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

भोटेकोशी-त्रिशूली बाढीको रिपोर्टिङ गर्न विदेशी पत्रकारले विशेष परिचयपत्र लिनुपर्ने

Nada
२०८३ भदौ १९ गते १७:२२
Shares
भोटेकोशी-त्रिशूली बाढीको रिपोर्टिङ गर्न विदेशी पत्रकारले विशेष परिचयपत्र लिनुपर्ने

काठमाडौँ : भोटेकोशी र त्रिशूली नदी आसपासका बाढी प्रभावित क्षेत्रमा समाचार संकलन गर्न चाहने विदेशी सञ्चारमाध्यमका पत्रकारले सूचना तथा प्रसारण विभागबाट प्रेस एक्रिडिटेसन तथा पत्रकार परिचयपत्र लिनुपर्ने भएको छ ।

ncell

विभागले बिहीबार सूचना जारी गर्दै विदेशी पत्रकारका लागि अनलाइन आवेदन खुला गरिएको जनाएको हो । इच्छुक पत्रकारले विभागको अनलाइन सेवा प्रणालीमार्फत आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

विभागका अनुसार प्राप्त आवेदन र त्यससँग संलग्न प्रमाणित कागजातका आधारमा महानिर्देशकले प्रेस एक्रिडिटेसन तथा पत्रकार परिचयपत्र जारी गर्नेछन् ।

विभागको २०२६ सेप्टेम्बर २ को निर्णयअनुसार जारी हुने उक्त परिचयपत्र १५ दिनसम्म मान्य हुनेछ । परिचयपत्र विदेशी पत्रकारलाई बाढी प्रभावित क्षेत्रमा पुगेर समाचार संकलन गर्न सहजीकरण गर्ने उद्देश्यले प्रदान गर्न लागिएको हो ।

विदेशी पत्रकारले आवेदनसँगै वैध भिसा वा प्रवेश अनुमतिसहितको राहदानीको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

यस्तै, सम्बन्धित सञ्चार संस्थाले सूचना तथा प्रसारण विभागलाई सम्बोधन गरी दिएको सिफारिस पत्र र पत्रकार सम्बन्धित देशको दूतावास, वाणिज्य दूतावास वा परराष्ट्र मन्त्रालयबाट जारी सिफारिस पत्र पनि अनिवार्य गरिएको छ ।

आवेदन तथा परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा सहयोग आवश्यक पर्ने पत्रकारका लागि विभागमा सहायता कक्षको व्यवस्था गरिएको छ ।

विभागले विदेशी पत्रकारलाई आवश्यक कागजातसहित सूचना व्यवस्थापन प्रणाली मार्फत आवेदन दिन आग्रह गरेको छ ।

uae

सम्बन्धित खबर