
काठमाडौं : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४का ३१ वर्षीय सञ्जयकुमार साहको परिवारले १० दिनदेखि एउटै खबरको प्रतीक्षा गरिरहेको थियो । त्यो खबर उनीहरूले शुक्रबार बिहानै पाए । बाढीबाट पुरिएको सुरुङभित्रबाट साहलाई उद्धारकर्मीले सकुशल बाहिर निकाले ।
बितेको साता उनको परिवारले रोएरै बितायो । आफन्त, नातेदार, छरछिमेक सबैको एउटै चिन्ता थियो, ‘सञ्जय कहाँ छन् ?’
भदौ १० गते बिहान ७ः४५ बजे परिवारसँग उनको कुराकानी भएको थियो । त्यसपछि फोन लागेन । दिउँसो परिवारले सामाजिक सञ्जाल र समाचारबाट रसुवामा बाढी आएको थाहा पायो । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा कामदार फसेको खबर पनि सँगै आयो ।
सञ्जय पनि त्यही आयोजनामा कार्यरत थिए । त्यसपछि परिवारमा चिन्ता सुरु भयो । दिन बित्दै गए । उद्धार टोली सुरुङभित्र पस्न सकेन । नेपाली सेनाले पनि सुरुङभित्र पस्न कठिन रहेको जनाएको थियो । तत्काल उद्धारका लागि संसारमै प्रविधि नभएको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले परिवारको आशा झनै कमजोर बन्यो ।
आमा कपुरदेवी र श्रीमती लक्ष्मी साह रुँदारुँदै थाकेका थिए । १० दिनसम्म सञ्जयको कुनै खबर आएन । तर, शुक्रबार आएको खबरले परिवारमा खुसी छायो । किनभने, जुन चमत्कारको प्रतीक्षामा उनीहरू थिए, उद्धारकर्मीले त्यो चमत्कार देखाएका थिए । अर्थात्, सञ्जय जीवितै भेटिए ।
नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी सञ्जय आयोजनाको कन्ट्रोल रुम अपरेटर थिए । बाढी आएको दिन आयोजनामा सामान्यभन्दा धेरै (करिब ४०–४५) जना कर्मचारी थिए । ड्याममा ठुुलो दुर्घटना भएको जानकारी पाएपछि सञ्जयले सबैलाई बाहिर जान भने । सबैलाई सुरक्षित रूपमा बाहिर पठाउने क्रममा उनको समय बित्यो । ‘म एक्लै भागेर भएन । सबैलाई बचाउनुप¥यो,’ उनले उद्धारपछि भने, ‘सबैलाई बाहिर पठाएँ । अन्तिममा म आफैं निस्कन पाइनँ ।’ त्यसपछि उनी सुरुङभित्रै फसे । बाहिर निस्केकाहरू सम्पर्कविहीन हुँदा उनको भने दसौँ दिनमा जीवितै उद्धार भएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य नै छ । अँध्यारो सुरुङभित्र थुनिएका सञ्जयले बाँच्ने उच्च मनोबल राखेर धार्मिक मन्त्र जप्दै बसेको बताएका छन् । बाहिर ल्याउँदै गर्दा उनले सुरुङभित्र आफूनजिकै तीन–चारजनासँग सम्पर्कमा रहेको बताए । पावर हाउस क्षेत्रमा पनि केही कामदार थुनिएको हुनसक्ने उनको आशंका थियो । तर, सञ्जय र कविर महर्जनको जीवितै उद्धारपछि अर्का एकजना व्यक्तिको शव भेटियो । त्यसपछि उद्धारकर्मीले सुरुङको सबैभागसम्म पुगेर खोजी ग¥यो । तर, कोही नभेटिएपछि त्रिशुली थ्री एको उद्धारकार्य बन्द गरेको छ ।
सञ्जय जीवितै उद्धार भएको खबरले तिलाठी गाउँमा खुसी छाएको छ । उनका बाबु रामफल साहसहित परिवारका सदस्यहरू छोरा भेट्न काठमाडौं आइपुगेका छन् । छोरा सम्पर्कविहीन भएपछि पटकपटक बेहोस भएकी आमा कपुरदेवी निकै खुसी छिन् । ‘मेरो छोराले दोस्रो जीवन पाएको छ,’ उनले भनिन्, ‘उद्धारमा खटिनुभएका सबैलाई धन्यवाद ।’
सञ्जयको परिवारमा खुसी फर्किएको केही समयमै सुरुङको अँध्यारोबाट अर्को खुसीको खबरबाहिर आयो । त्यो थियो, कविर महर्जनको सकुशल उद्धार ।
कविर कुलेखानी जलविद्युत् आयोजनाबाट माथिल्लो त्रिशूली–३ ‘ए’को नियमित मर्मतसम्भारका लागि रसुवा पुगेका थिए । उनी हाइड्रो पावर अटोमेसन प्रोजेक्टअन्तर्गत मेकानिकल सुपरभाइजरका रूपमा काम गर्थे । बाढीले सुरुङको प्रवेशद्वार थुनिएपछि उनी पनि त्यहीँ फसे । १० दिनसम्म उनको कसैसँग सम्पर्क भएन ।
शुक्रबार नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी, विज्ञ तथा विद्युत् प्राधिकरणका प्राविधिकसहितको उद्धार टोलीले कविरलाई पनि जीवितै बाहिर निकाल्यो । उद्धारका बेला उनी बोल्न सकिरहेका थिएनन् ।
प्रारम्भिक उपचारपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो । अहिले उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । कविर जीवितै भेटिएको खबरपछि उनका आफन्त अस्पताल पुगे । श्रीमान्को प्रतीक्षामा रहेकी हरिशोभाले पनि यो विपत्तिमा उनी फर्किएर आउने आशा मारिसकेकी थिइन् । ‘उहाँ फर्किनुहुन्छ भन्ने आशा मारिसकेका थियौं,’ उनले भनिन्, ‘उहाँ फर्किंदा हामी एकदमै खुसी छौं । हाम्रो खुसी फर्किएको छ ।’
कविरको उद्धारमा खटिएका उद्धारकर्मीलाई उनले धन्यवाद दिइन् । ‘उद्धार गर्न धेरै समय लाग्दो रहेछ । उहाँहरूले आफ्नो ज्यान नै जोखिममा राखेर बचाइदिनुभयो,’ उनले भनिन् ।
लामो प्रतीक्षा । १० दिनसम्मको चिन्ता । अनि १० दिनपछि आएको खुसीको खबर । सञ्जय र कविरका परिवारका लागि शुक्रबारको दिन बिर्सन नसकिने बनेको छ । बाढीले उनीहरूलाई सुरुङभित्र थुने पनि १० दिनपछि उद्धार टोलीले उनीहरूलाई परिवारसम्म फर्काइदियो । परिवारले गुमेको ठानेका दुई जीवन फेरि घर फर्किए ।