२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

३५ लाखभन्दा बढीको अवैध कष्मेटिक र सुर्ती बरामद

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ भदौ १९ गते २२:०१
Shares
३५ लाखभन्दा बढीको अवैध कष्मेटिक र सुर्ती बरामद

रौतहट : सीमावर्ती क्षेत्रमा भन्सार छली र अवैध भण्डारण विरुद्ध सुरक्षा निकायले निगरानी तीव्र पारिरहेका बेला रौतहटको ईशनाथ नगरपालिकामा ठूलो परिमाणको गैरकानुनी सामग्री बरामद गरिएको छ । 

ncell

ईशनाथ नगरपालिका वडा नं  ३ औरैयास्थित एक निजी निवासमा लुकाइराखिएको ३५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध कष्मेटिक सामग्री तथा सुर्तीजन्य वस्तु संयुक्त सुरक्षा टोलीले बरामद गरेको छ । प्रदेश नम्बर २ छिन्नमस्ता बाहिनीको विशेष र गुप्त सूचनाका आधारमा बिहीबार राति करिब ११ः३० बजे  स्थानीय नन्दकिशोर गुप्ताको घरमा छापा मारिएको थियो ।

खानतलासीका क्रममा गैरकानुनी रूपमा भण्डारण गरी राखिएका कष्मेटिक सामान तथा सुर्ती फेला परेको हो । बरामद गरिएका सामग्रीको भन्सार मूल्यांकन ३५ लाख २३० रुपैयाँ रहेको जनाइएको छ ।

उक्त कारबाहीका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक  चेतराज जोशीको प्रत्यक्ष कमाण्डमा ४५ जना सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बन्जरहाका सई धर्मनाथ यादवको नेतृत्वमा ७ जना नेपाल प्रहरीका जवान तथा गौर भन्सार कार्यालयका प्रतिनिधिहरूसहितको संयुक्त टोलीले गुप्ताको घर घेराबन्दी गरी खानतलासी लिएको थियो । 

सशस्त्र प्रहरी गुल्म गौरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक  दुर्गाप्रसाद भट्टका अनुसार बरामद गरिएका सम्पूर्ण कष्मेटिक र सुर्तीजन्य सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया र कारबाहीका लागि शुक्रबार दिउँसो ३ः१५ बजे गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

भारतीय सीमासँग जोडिएको यस क्षेत्रमा पछिल्लो समय चोरी–निकासी तथा अवैध पैठारीका घटनाहरू बढेको जनगुनासो आइरहेका बेला सुरक्षा निकायको यो ठूलो सफलता हो । संयुक्त टोलीको यस सक्रियताले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार र भन्सार छली नियन्त्रणमा थप कडाइ भएको र चोरी–तस्करीमा संलग्न गिरोहहरू हतोत्साहित बनेको स्थानीयहरूको बुझाइ छ। सुरक्षा निकायले सीमा क्षेत्रमा यस्ता गैरकानुनी गतिविधि रोकथामका लागि गस्ती र सुराकी प्रणालीलाई अझ सशक्त बनाउँदै लैजाने सशस्त्र प्रहरीले जनाए ।

uae

सम्बन्धित खबर