–सरस्वती महरा
“पुरुषहरू अहिले पनि आइमाईहरूले परम्परागत काम गरिरहेको हेर्ने बानीमा छन् । तिनलाई बुद्धिमान÷बौद्धिक आइमाईहरूको संगत त चाहिएको हुन्छ तर, विवाह गर्नलाई होइन । एउटा शसक्त महिलाको साथको कदर गर्न उनीहरुलाई अहिले पनि आँउदैन ।”– अमृता प्रीतम, भारतीय बुद्धिजीवी एवम् चर्चित वरिष्ठ साहित्यकार ।
अमृता प्रितमले यस्तो कुरा किन भने होलान् ? शाहिर लुधियानीलाई गाली गर्न ? शाहिर पनि भारतीय पुरूष नै हुन् । अमृता प्रितम जस्तो प्रतिभाशाली, अत्यन्तै बौद्धिक सम्वेदनशील महिलाले सबै पुरूषहरूलाई एउटै डालोमा राखेर पकाउने जस्तो झुर कुरा किन गरे होलान् ? निश्चय पनि पुरूषभित्र पाइने एउटा जब्बर प्रवृत्ति, त्यसमा पनि जब्बररूपमा भलाद्मी, बुद्धिजीवी भनौदा भलामानुष पुरूषहरूमा पाइने ‘बनमानुष प्रवृत्तिलाई’ नै भनेका होलान् । यसोभन्दा तर, शाहिर पनि बुद्धिजीवी नै हुन् भन्ने कुरा पनि बिर्सेनन् होलान् । त्यसो भए शाहिरलाई किन गाली गरे होलान् ?
ईश्मत चुगताई ! तसलिमा नसरीनले समाजसित विद्रोह गर्ने केटीहरूलाई समाजले ‘नष्ट मे’ बिग्रिएकी केटी भन्ने उपाधि दिन्छ भने झैँ ईश्मतलाई पनि बिग्रिएकी आइमाई, अश्लिलताको कुरा गर्ने समाज भाड्ने आइमाई जस्ता आरोपहरु सधैँभरि आइलाग्यो । त्यसो र उनको कुरा नगरौं ।
नसरीनको कुरा आइसकेपछि भनौ पुरुषसितको प्रेम सम्बन्धमा नसरीनको विचार पनि त्यति हार्दिक भएन नै । महादेवीले सानै उमेरमा विवाह गरे । तिनै विवाह गरेको लोग्ने पुरूषलाई नै प्रेम पनि गरे तर, पछिबाट आफैंले प्रेम गरेको ती प्रेमी लोग्नेलाई आफ्नै खुशीले दुत्कारे । किन ?
यस्तै, संसारभरिको दुःखी आत्मा र गरिब असहाय मनहरूको दुःख पीडासित प्रेम गर्नसक्ने, जीवन साट्नसक्ने सहृदयी महाश्वेताको अग्नि गर्भ जस्तो मुटुको एककुनामा तर, तुपारो र हिमपातहरू भने सधैँजसो बर्सीनैरह्यो । किन होला ?
प्रेम गर्ने बौद्धिक, बुद्धिजीवी भनेका महिलाहरुको हाल यस्तो भएदेखि प्रेम गर्ने सामन्य महिलाहरुको जीवनको कुन गति होला ? कुन रूप अनि रङ होला ?
लेनिनले कतै एक ठाउँ आफ्नै कमरेडहरूलाई भनेका रहेछन्, “हाम्रा त्यस्ता कतिजना कमरेडहरू होलान्, कहिलेकाहीँ जसले बिहानै उठेर, एक कप चिया आफ्नो हातले बनाएर श्रीमतीलाई ओछ्यानमै पुर्याउँछन् । त्यस्ता कमरेडहरू शायद हातको औलामा गन्ती गर्न सकिने मात्रै होलान् ।” भन्नैपर्ने हुन्छ, स्वास्नीमान्छेलाई प्रेम गर्ने सवालमा कमरेडहरूको हाल पनि उस्तै बेहाल छ । यसो भनौ तेस्रो चौथो डाईमेन्सन जतैबाट हेरिए पनि हामी बाँचेको समाजमा प्रेमको हाल बेहाल र चौपट्टै छ भनौ ।
उसोभए जीवनलाई निस्सारतामा बुझ्ने, शून्यवादमा बुझ्ने पारिजातको सकम्बरी वेश त ? तथापि, जे जस्तो भएपनि तर, जीवन आशाले भरिएको छ । त्यसोभए जीवनसित निस्सारताको के साइनो ? शून्यवादसित के सरोकार ? त्यसलाई त पारिजातले लेखेको ‘मैले नजन्माएको छोरो’ कथा सुनाइदिए पुग्छ । भनौ काफ्का नित्सेको जीवनदर्शन भन्दा पारिजातको यथार्थवाद नै मौलिक र भरपर्दो छ ।
जीवनमा आशा र सपनाहरूको महत्व हुन्छ र भएजस्तै स्वास्नीमान्छेसित प्रेम गर्ने र सम्मान गर्ने कुराको पनि त्यतिकै महत्व हुन्छ र त्यो त्यतिकै स्वाभाविक कुरा पनि हुन्छ, भन्ने कुराहरू निश्चय पनि विशिष्ट र जटिल बुद्धिवाला जीवहरूले भन्दा औसत र सामान्य बुद्धिवालाहरूले नै धेरै स्पष्ट बुझ्ने कुरा व्यवहारबाट जगजाहेर नै छ । तथापि स्वास्नीमान्छेसित प्रेम गर्ने कुरा त्यति चानचुने कुरा भने होइन नै । स्वास्नीमान्छेलाई प्रेम गर्नु भनेको उसको जिँउदो जाग्दो अस्तित्वसित पनि प्रेम गर्नु हो अनि जिउँदो मान्छेको अस्तित्वसित प्रेम गर्ने कुरा गाह्रै कुरा पनि हो । भारतीय बुद्धिजीवी, कडोडौं लाखौं प्रेमिल हृदय एवम् बिन्दास युवा बिद्रोही मनहरूका लोकप्रिय शायर, शाहिरले अमृतासित प्रेम गरे तर, विवाह अर्कैसित गरे ।
उसोभए अमृताको आरोपलाई गलत साबित गर्ने के कुनै पुरूष मान्छे जन्मेनन् त ? जन्मे । मन्टो जन्मे । मन्टो जसले सबै स्वास्नी मान्छेकोहरूको अस्तित्वलाई सम्मान गरे र स्वास्नी मान्छेलाई शायद उनले जस्तो अरू कसैले खोई प्रेम गरे कि गरेनन् भन्न सकिन्न । त्यसो र परूषसत्तात्मक पितृसत्तावादी समाजको अन्तर्विरोध र परिस्थितिहरूले मन्टो जस्ता पुरूषहरू पनि जन्मने रहेछन् । भलै ती एउटा हातको औंलामा गन्ती गर्न पनि नपुगोस् ।
सो बुद्धिजीवी भन्दैमा सबै विचारा पुरूषहरूलाई मात्र गाली गर्नु पनि अनुचितै होला । हाम्रै वरपर छरछिमेकमा पनि धेरै नहोलान् तर, देख्ने गरिन्छ, कतिपय पुरूषहरू घरपरिवार, आफन्त, प्रिय श्रीमतिप्रति प्रेम अनि समर्पण भावमा कतिविघ्न कटिबद्ध र प्रतिबद्ध छन् भने ती कतिपय विचाराहरू प्रिय श्रीमतिहरूबाट पनि पीडित छन् भलै ती पनि औलाको गन्तिमा अटाउने नै किन नहुन् । बढीजसो ती आफ्ना प्रियसी र प्रिय श्रीमतिहरूका मध्यमवर्गीय अभिजातीय कुलीन अभिलाषाहरू, व्यक्तिवादी स्वप्न र महत्वकांक्षाहरूबाट पीडित छन् । त्यस्ता विचारा प्रेमी पुरूषहरू साचो प्रेम गर्ने हुँदा नै पीडित छन् । त्यसो र खास कुरा यो दुनियाँमा साचो प्रेम गर्ने प्रेमिल मनहरूनै पीडित हुँदारहेछन् । चाहे त्यो पुरूषको होस् या स्त्री । प्रेमिल मनहरूले नै आहत हुनुपर्ने रहेछ जहिले पनि । उसोभए के त ? प्रेमिल पीडित मनहरू सबैले सकम्बरी हुने त ? मन थिएन जोगी हुने गाउँदै हिँड्ने ?
जीवन रहुञ्जेल आशा हुन्छ, सपना हुन्छ र त्यो आशा र सपनाको बाटो हिडँदै जाँदा कतिबेला जीवनसितको प्रेममा परिन्छ । थाहै हुन्न । प्रेम यस्तै हुनेरहेछ ।
कुरूप यथार्थ र अप्ठ्यारोहरूको बीचमा पनि चुनौतिपुर्ण÷जोखिमपूर्ण जीवनसित प्रेम गर्नु गाह्रै हुन्छ । त्यसरी प्रेम गर्नु र जीवनको लागि संघर्ष गर्ने कुरा झन् गाह्रो होला । तर, साँचो प्रेमले जीवन संघर्षमा उर्जा दिने÷स्फूर्ति थप्ने जेनी माक्र्सको कुरा पनि साँचो होला । जेनीले माक्र्सलाई प्रेम गरिन् र शायद त्यसभन्दा बढी उत्पीडितहरूको पक्षमा प्रतिबद्ध, आजीवन संघर्ष गर्ने माक्र्सको प्रेमिल हृदय र विचारसित नै उनले प्रेम गरे । प्रेम शायद यही होला ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies