२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

जहाँ छौं, त्यहीँ खुसी भएर रमाऔं

Nada
लक्ष्मी पाण्डे
२०८३ कार्तिक ४ गते ०८:०७
Shares
जहाँ छौं, त्यहीँ खुसी भएर रमाऔं

मध्यान्ह दैनिकका सम्पादक दाइ जनक नेपालले म्यासेज गर्नुभयो, ‘लक्ष्मी, दसैंसम्बन्धी कुनै अनुभूति वा संस्मरण छ भने लेखेर पठाऊ ।’
म्यासेज देख्नेबित्तिकै मन एकाएक पुराना दिनतिर फर्कियो । ओहो ! मैले आमा–बुबाको आशीर्वाद लिएर परिवारसँगै दसैं नमनाएकै पाँच वर्ष भइसकेछ । झन्डै एक दशकको कतार बसाइमा अधिकांश दसैं नेपालमै छुटेछन् । 

ncell

हरेक वर्ष ‘यसपालि त दसैं नेपालमै मनाउनुपर्छ’ भनेर नसोचेको कहाँ हो र ! तर दुई महिना गर्मी बिदा सकेर भर्खरै बच्चाको स्कुल खुलेको हुन्छ । लगत्तै दसैं आइपुग्छ । ‘बच्चाको पढाइ किन छुटाउनु, दसैं त अर्को वर्ष पनि आइहाल्छ नि !’ भन्दै योजना सार्दासार्दै वर्षहरू बितेको पत्तै नहुने रहेछ ।

परिवार र देशबाट टाढा बस्दा एक्लोपन त हुन्छ नै । त्यसमाथि चाडपर्वका बेला घरको सम्झनाले परदेशको मन झन् बेचैन बनाउँछ ।

हुन त, नेपालमै बस्नेलाई पनि पहिलेको जस्तो दसैं रमाइलो लाग्छ कि लाग्दैन, थाहा छैन । नेपालमा बस्नेले परदेशमा रहेका छोराछोरीको बाटो हेर्दै र परदेशमा बस्नेले घर सम्झँदै चाडपर्व मनाउनुपर्ने अवस्था अहिले हाम्रो तितो यथार्थ बनेको छ ।

परदेशमा पनि हामी दसैं मनाउँछौं । टीका लगाउँछौं, जमरा पहिरिन्छौं । तर नेपालमा दसैं आउँदा सहरदेखि गाउँसम्म, डाँडाकाँडा र बेसीसम्म छुट्टै रौनक छाउँछ । लाग्छ, प्रकृति नै दसैंमा रमाइरहेको छ । परदेशको एउटा कोठाभित्र मनाइने दसैंमा भने रौनकभन्दा खालीपन पनि महसुस हुन्छ । 

कतार बसाइका दसैंका केही रमाइला सम्झना पनि छन् । त्यतिबेला अहिलेजस्तो सहज र खुला रूपमा टीका–जमरा लगाएर दसैं मनाउने चलन थिएन । कतार भर्खर आएकी थिएँ । धेरैसँग चिनजान थिएन । माटो कहाँ पाइन्छ, जमरा राख्ने जौ कहाँ किन्न पाइन्छ भन्ने पनि थाहा थिएन । त्यसैले एकपटक जमराबिनै टीका लगाएर दसैं मनायौं । 

अर्कोपटक चराको चारो बेच्ने पसलबाट जौ किनेर जमरा राख्यौं । तर जौ उम्रिएन । अन्ततः साथीसँग जमरा लिएर दसैं मनाउनुपरेको त्यो घटना अहिले सम्झिँदा रमाइलो लाग्छ । अहिले भने जमरा राख्ने जौ नेपालबाटै ल्याएर राख्ने गरेका छौं । 

तथ्यांकअनुसार कतारमा करिब चार लाख नेपाली छन् । यति ठुलो नेपाली समुदाय भएकाले हाम्रा चाडपर्व पनि स्वाभाविक रूपमा यहाँ आइपुग्छन् । परदेशमा भेट्दा पूर्वका हुन् वा पश्चिमका, सबै नेपाली आफ्नै लाग्छन् । नजिकिँदै जाँदा एउटै परिवारका सदस्यजस्तै बनिन्छ । त्यसैले नजिकका साथीभाइसँगै बसेर दसैं मनाउँदा परदेशको एक्लोपन केही कम हुन्छ । 

कतारमा शुक्रबार र शनिबार सार्वजनिक बिदा हुन्छ । तर अधिकांश नेपालीले काम गर्ने कम्पनीमा शुक्रबार मात्र बिदा हुने गर्छ । त्यसैले दसैंको टीका आफ्नो कामको समय मिलाएर लगाउनुपर्छ । नेपालमा जस्तो साइतकै समयमा टीका लगाउने सुविधा सधैं कहाँ हुन्छ र ! संयोगले दसैं शुक्रबार प¥यो भने त्यो नेपालीका लागि ठुलो खुसीको विषय बन्छ ।

दसैंका दिन कतारका पार्क र समुद्री किनारमा टीका–जमरा लगाएर फोटो खिचिरहेका, भिडियो बनाइरहेका नेपाली देखिनु अहिले सामान्यजस्तै भएको छ । प्रविधिले घरबाट टाढाको दूरी घटाइदिएको छ, तर मनभित्रको घरको सम्झना भने उस्तै छ ।

दसैं हामी देशमा बसेर मनाऔं वा परदेशमा– यसको मूल उद्देश्य एउटै हो । हामीलाई खुसी दिनु र भाइचारा जोगाइराख्नु । त्यसैले जहाँ छौं, त्यहीँ खुसी भएर आफ्नो चाडपर्व सभ्य र आत्मीय रूपमा मनाऔं । 

सबैमा बडादसैंको मंगलमय शुभकामना !

uae

सम्बन्धित खबर