
नेपालका गाउँघरमा दसैंको रौनक छाउन थालेको छ । शरद् ऋतुको नीलो आकाश, खेतमा झुलेका धानका बाला, ढकमक्क फुलेका सयपत्री र मखमलीले पर्वको आगमनको संकेत गरिरहेका छन् । घरघरमा लिपपोत हुँदै होला, चौतारीमा लिंगेपिङ हालिँदै होला । आमाका हात टीका र जमरा तयार पार्न व्यस्त होलान् भने बाबाआमा परदेसिएका छोराछोरी फर्कने बाटो हेरिरहेका होलान् ।
तर नेपालबाट टाढा, मलेसियालगायत विभिन्न देशमा पसिना बगाइरहेका नेपालीका लागि दसैंको दृश्य फरक छ । गाउँमा खुसीको उमंग छाउँदा परदेसीको मनमा घरको सम्झना र परिवारसँग छुट्टिनुको पीडा गहिरिँदै जान्छ । अरूका लागि उत्सव बनेर आउने दसैं उनीहरूका लागि जिम्मेवारी, बाध्यता र अधुरा रहरको सम्झना बनेर आउँछ ।
नेपालमा दसैंको बिहान मालश्री धुनले मनमा उत्साह भर्छ । परदेशमा भने मोबाइलको अलार्मले निद्रा खुलाउँछ । आमाको हातको तातो चिया र मायालु बोलीको सट्टा हतारहतार तयार भएर काममा निस्कनुपर्छ । चाडपर्वले काम रोकिँदैन, न जिम्मेवारी नै घट्छ । टीकाको दिनसमेत बिदा नपाउँदा अरूका लागि विशेष बनेको दिन परदेसीका लागि सामान्य कामकाजी दिनमै सीमित हुन्छ ।
दिनभरको परिश्रम र थकान बोकेर कोठा फर्कंदा एक्लोपनले झनै सताउँछ । नेपालमा परिवारका सदस्य एकै ठाउँमा बसेर मिठा परिकार खाँदै हाँसोठट्टा गरिरहेका होलान् । यता भने आफ्नै लागि खाना पकाउनुपर्छ । चाडबाडमा नयाँ लुगा लगाउने र मिठोमसिनो खाने रहरभन्दा घर खर्च धान्ने र अर्को दिन काममा जान शरीर तयार पार्ने चिन्ता ठुलो हुन्छ ।
मनले सबै छाडेर गाउँ फर्कन भन्छ । आमाको हातको टीका थाप्ने, बाबाको आशीर्वाद लिने र साथीभाइसँग पिङ खेल्ने रहर जाग्छ । तर घरको ऋण, परिवारको खर्च र रोजगारीका बाध्यताले पाइला रोक्छन् । यही विवशताबीच बाल्यकालका दसैं सम्झनामा फर्कन्छन् । गाउँभरि टीका थाप्न हिँडेको, साथीहरूसँग रमाएको र आमाले पकाएका परिकार खाएको सम्झनाले मन भावुक बनाउँछ ।
प्रविधिले टाढा रहेका परिवारलाई जोडेको छ । दसैंको दिन भिडियो कलमार्फत घरको टीका र जमराको दृश्य हेर्न पाइन्छ । आमाले टीका मुछिरहेको र बाबाले अक्षता लिएर पर्खिरहेको देख्दा मन घरमै पुगेजस्तो हुन्छ । तर मोबाइलको स्क्रिनबाट आमाको हात छुन सकिँदैन, बाबाको आशीर्वाद प्रत्यक्ष थाप्न सकिँदैन । आमाले सोध्नुहुन्छ, ‘कहिले आउँछस् बाबु ?’ जवाफमा परदेसीले भन्नुपर्छ, ‘अर्को साल त जसरी पनि आउँछु ।’ तर त्यो अर्को साल कहिले आउँछ भन्ने निश्चित हुँदैन ।
हामी रहरले मात्र परदेसिएका होइनौं । घरको गरिबी, बेरोजगारी र परिवारको भविष्य राम्रो बनाउने चाहनाले धेरैलाई विदेश पु¥याएको छ । आफ्ना खुसी र चाडपर्वको रमाइलो थाती राखेर परिवारका लागि कमाइरहेका छौं । तर कहिलेकाहीँ मनमा प्रश्न उठ्छ– हामीले पठाएको पैसाले घरमा खुसी त ल्याउला, तर हामीबाट टाढिएको समय र गुमेका चाडपर्व कसले फर्काइदेला ?
सामाजिक सञ्जालमा साथीभाइका दसैंका तस्बिर देख्दा मन अझ भारी हुन्छ । तैपनि भोलिपल्ट उठेर फेरि काममा जानुपर्छ । आँसु लुकाएर मुस्कुराउनु र मनको पीडा दबाएर जिम्मेवारी पूरा गर्नु नै धेरै परदेसीको दसैं हो ।
हरेक वर्ष दसैंले एउटा नयाँ आशा जगाउँछ– आउँदो दसैं आफ्नै आँगनमा मनाउने, आमाको हातबाट टीका र जमरा थाप्ने अनि गाउँका चौतारीमा साथीभाइसँग मनका कुरा साट्ने । यही आशाले परदेसीलाई दुःख र थकानबीच पनि अघि बढ्न हौसला दिन्छ ।
परदेशमा रहेका सबै नेपालीको दसैं खुसीले भरियोस् । परिवारप्रतिको माया र आत्मबल कमजोर नहोस् । कुनै दिन बाध्यताका यात्रा पूरा गरेर आफ्नै आँगनमा दसैं मनाउन पाइनेछ भन्ने आशा जीवित रहोस् । सबै परदेसी मनमा दसैंको हार्दिक शुभकामना ।