– रवीन्द्रनाथ पोखरेल
भ्रष्टाचार र भ्रष्टाचारी व्यक्तिहरु यति शक्तिशाली र बिषादयुक्त ऐजेंरू जात हो जसले संसारका असल या महान् नेता र शासकलाई पनि त्यो जातलाई परास्त गर्नका निमित्त फेरि अर्को क्रान्ति गर्न आन्दोलन गर्न र गराउनका लागि वैकल्पिक बाटो खोज्न बाध्य गराउँछ । देश रूपान्तरणको प्रारम्भिक चरणमा देखिने विकृति र विसंगतिपूर्ण गतिविधिले यथार्थ भविष्यवाणी गर्न लगाउँछ ।
यसका दुईवटा उदाहरण मात्रै अहिले संकेत गर्न खोजिएको छ कि जब चीनमा माओत्सेतुङको नेतृत्वमा पहिलोपटक चिनियाँ क्रान्ति सफल भयो तर, त्यो क्रान्ति सफल भएर पनि सोचे जस्तो र जुन लक्ष्यले गरिएको थियो, त्यो लक्ष्य अनुरूप चीनको समग्ररूपमा विकास हुन नसकेपछि माओलाई सन्तुष्टि मिल्न सकेन उल्टै उनमा वितृष्णा पैदा हुन थाल्यो । उनलाई लाग्यो कि व्यर्थमा क्रान्ति गरिएछ । तर, उनी साहसिक र क्षमतावान व्यक्ति भएको हुँदा त्यही वितृष्णाले उनले त्यसको विकल्प र त्यस क्रान्तिलाई पूर्ण सफल पारेरै देखाउने आँट गरे । त्यही चिनियाँ क्रान्तिले उब्जाएको अर्को क्रान्ति हो “चीनको सांस्कृतिक क्रान्ति ।” तर, यही कुरा नेपालमा जनयुद्ध मच्चाउने माओको चेलाहरु विशेषतः नेकपा (माओवादी) पार्टीका नेता तथा कमान्डरहरुलाई सायद थाहा नै नहोला ।
नेपालमा जब २००७ सालको क्रान्ति सफल भयो र त्यसपछिको २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेस पार्टीले दुई तिहाइ बहुमत ल्याएर विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले देश र जनतालाई खासै उनले सोचे जस्तो काम गर्न सकेन । नेपाली कांग्रेसकै केही नेता या अन्य पार्टीका नेता तथा उच्च वर्गका कारण परिवर्तन आउन नसक्ने देखेपछि उनले भनेका छन् कि “जब मुलकमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिला मुकिला र चिल्ला गाडी चढ्नेहरुको पार्टीभित्र हाबी हुनेछ र त्यतिबेला फेरि पार्टीका आम तथा असल र इमानदार कार्यकर्ताले तीनका विरुद्धमा एक पटक संघर्ष गर्नुपर्ने हुन्छ ।” भनेको त्यतिबेलाको भनाइ २०४६ सालको जनआन्दोलनले पूनस्र्थापना गरेको प्रजातन्त्र पछिका दिनमा यी पुराना भनिएका र उक्त आन्दोलनमा होमिएका कुनै पनि राजनीतिक दलमा, ती दलका नेताहरु र शासन सत्तामा गएका कुनै पनि सरकार प्रमुखले देश र जनताको आर्थिक स्तरमा रूपान्तरण गर्नुको सट्टा उल्टै भ्रष्टाचारको प्रथा झन् बढ्दै गयो । ठूलो संख्यामा भ्रष्टाचारीहरु मौलाउँदै गए ।
यस तथ्यलाई कुनै पनि कोणबाट हेर्दा, कसैले होइन भन्ने अवस्था छैन । तर, भन्न त यीमध्येकै प्रायः तीनैले भन्ने गर्छन् जो सोझा र निरीह जनताको आँखामा छारो हालेर पटक–पटक चुनाव लड्नु पर्ने स्वार्थी व्यक्ति तथा नेताहरुको एउटा जमातले सबै यस्ता नहोलान् विरलै र अपवादको रूपमा । त्यसैगरी भन्ने गर्छन् जसलाई पटक–पटक सत्ताको कुर्सीमा बसेर देशको ढुकुटी लुट्ने भ्रष्टाचारी शासक सबैले । भ्रष्टाचार गर्न हुन्न, गर्न दिन्न भन्ने र आफुँले नगरेका सरकार प्रमुखको आयु धेरै हुँदैन । ती सरकार प्रमुख भएर धेरै बाँचे भने बढीमा एक वर्ष नत्र छ महिना पनि टिक्न सक्दैनन् । उदाहरणका पात्र ती हुन् जो नेपाली कांग्रेस पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) र नेपाल कम्युनिस्ट पार्टी एमालेका मनमोहन अधिकारी । जसलाई गिरिजाप्रसाद कोईराला र प्रतिगमनको नायक के पी शर्मा ओली जस्ता अहंकारका दुसासन जस्ताले अनेक षड्यन्त्र गरेर निमोठे ।
अर्को पञ्चायतको विकल्पमा उदाएको राप्रपा त त्यसैपनि तीनैका मतियार बन्नु स्वभाविकै हो । जसले २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेस पार्टीले दुई तिहाइ मत ल्याएर निर्विरोधरूपमा प्रधानमन्त्री हुने विश्वेश्वरप्रसाद कोइराला जस्ता महानायक प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारलाई त छिमेकी मुलुक र साम्राज्यवादी मुलुकको सहायता लिँदै या राजा र दरबारलाई उकासेर केही महिनामै ‘कु’ गर्न राजालाई दबाब दिएर निरंकुश पञ्चायतलाई ३० पर्ष टिकाए भने अहिले राप्रपामा तिनीहरू र तिनैका वंशले चलाएको छ । उ पनि किन पर्छ र अहिलेको यस्तो मौकाको फाइदा लिनका लागि । देश रूपान्तरणको नाममा युद्ध गरेर हजारौंको बलिदानी दिएर आएको माओवादी नेतृत्वमाथि समेत आज सुशासनका विषयमा थुप्रै प्रश्न उठेका छन् । उसका हालका गतिविधि पनि सोही खालका छन् । अबपनि गतिविधि सच्चिने सम्भावना कम देखिन्छ ।
यसपटकको चुनावले कम्तीमा नेकपा (एमाले) र नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरण हुन्छ कि दोस्रो पुस्ताको हातमा आउँछ कि भन्ने जनताले भरोसा गरेका थिए तर, नआउने लक्षण पक्कापक्की भयो भन्दा पनि हुन्छ । नेपाली कांग्रेसका नेता तथा पार्टीको १४औँ महाधिवेशनका सभापतिका उम्मेदवार तथा मोरङ निर्वाचन क्षेत्र नं.६ बाट विजयी उम्मेदवार डा. शेखर कोइरालाले भनिसकेकी “अहिलेको सरकारको नेतृत्व शेरबहादुर देउवाको विकल्प छैन ।” यसो भनेको समाचारमा सुनिँदा अचम्म लाग्यो । जसले हिजो महाधिवेशनका बेला शेरबहादुर देउवाको विरुद्धमा सभापतिमा लडेको व्यक्ति तथा नेताले त अब चुनाव जितेर आइसकेपछि प्रधानमन्त्रीको दाबा गर्छकी भन्ने थियो । तर, बिडम्बना उनले देउवाकै पक्ष ओगटे । जसरी लामो समय नेतृत्व परिवर्तनको पक्षमा शशांक लागेको थिए तर, महाधिवेशनमा देउवालाई जिताउन लागे त्यसैगरि अर्का कोइरालाको भूमिका पनि त्यस्तै देखियो । यसले कांग्रेस पार्टी चरम व्यक्ति स्वार्थ र चरम यथास्थितिवादी सोंच रहेको प्रष्ट्याउँछ । यसले कांग्रेसभित्र जोडदार उठेको नेतृत्व हस्तान्तरणको विषयलाई पनि तुहाएको छ । उता नेकपा (एमाले)मा पनि नेतृत्व हस्तान्तरणको विषय उठ्न सकेको छैन । एमालेमा अझै नेतृत्वले विकल्प नदिएसम्म हस्तान्तरणको विषय उठ्ने छैन ।
माओवादी केन्द्रको त विषय नै बेग्लै छ । त्यहाँ पार्टी नेतृत्व परिवर्तनको विषय उठ्नु ठूलो कुरा मात्रै हुन्न पार्टी विघटनको कुरा समेत हुन जान्छ । माओवादीभित्र कसैले पनि नेतृत्व हस्तान्तरणको विषय उठाउनै हिम्मत गर्दैनन् । जसको कारण पनि माओवादी क्रमशः अलोकप्रिय मात्रै होइन जनताबाट बहिष्करणमा समेत पर्दै गएको छ । समयअनुसार नीति र नेतृत्व परिवर्तन हुुनुपर्छ भन्ने मनोविज्ञानलाई माओवादीभित्र जबरजस्त दबाउँदै लगिएको छ ।
उल्लेखित घटनाले अब नेपाली जनतामा महत्वपूर्ण र ठूलो चुनौती आइलागेको देखिन्छ । त्यो भनेको राजनीतिक दलहरुभित्रको परिपार्टीलाई परिवर्तन गर्ने । राजनीतिक पार्टीहरुलाई शुद्धिकरण गर्ने । यदि जनताले त्यो कदम चाल्न नसके मुलुकको राजनीतिक कोर्ष थप सकसतिर गइरहनेछ ।
जसकारणले अब फेरि नेपाली जनताले अर्को क्रान्ति गर्नुपर्ने अवस्था आउनसक्छ । किनकि यस तितो यथार्थ र तथ्यलाई नेपालका पुराना राजनीतिक दल र दलका नेता या शासकले कहिल्यै बुझेनन् भने पार्टीभित्रका युवा शक्ति पनि उनै हैकमवाद र प्रतिगमनको छायाँमा पर्न जान्छन् । एक/दुई जना लागेर यो शक्तिलाई परास्त गर्नसक्ने अवस्था छैन ।
अहिले केही उग्रपन्थी तथा विखण्डनको नारा दिने शक्तिहरु पनि संसदमा थपिन आइपुगेका छन् । जसले राजनीति थप सकसपूर्णं हुने देखिएको छ । यो भनेको अर्थ तीनै ऐतिहासिक र ठूला भनिएका पार्टी र नेताहरुलाई कि सच्चिएर देखाउ कि त पन्छिएर जाउ भन्ने हो । होइन भने नयाँ पार्टी या नयाँ पुस्तालाई देश चलाउन र देश विकास र जनताको आर्थिक स्तर सुधार्नका लागि जिम्मा लगाई बाटो खुल्ला गरिदेउ भन्ने सन्देश हो । चुनावी परिणामको सन्देश, मुख्य राजनीतिक नेतृत्वलाई सच्चिएर जाउ भन्ने छ । सबैभन्दा पहिला नेतृत्व चयन र हस्तान्तरणको विधि लोकतान्त्रिक बनाउ र लोकतान्त्रिक विधिअनुसार नयाँ पुस्तालाई जिम्मेवारी देऊ भन्ने छ । जनताको मनोविज्ञानअनुसार काम गर भन्ने सन्देश चुनावले दिएको छ । यदि दलहरु सच्चिन नसके व्यवस्था परिवर्तनको बाटोमा मुलुक जानेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies