कुनै समय चलचित्र क्षेत्रमा अति व्यस्त रहने प्रोडक्सन म्यानेजर मिलन सुवेदी ‘बाटाघरे’ अहिले फुर्सदमा छन् । कोरोना कहर पश्चात चलचित्र निर्माणमा कमी आएपछि आफ्नै गाउँतिर रुमलिरहेका सुवेदीले संगम, त्रिवेणी, जीवन दाता, मायाको जाल, इतिहार, माया त माया हो, मैदान, दिदीबहिनी लगायत झण्डै डेढ सयको हाराहारीमा चलचित्रको प्रोडक्सन म्यानेजर भएर काम गरिसकेका छन् । चलचित्र कर्ममा तीन दशक बिताएका सुवेदी आफैंले पनि केही चलचित्रमा लगानी गरे । तर व्यावसायिकरुपले सफल हुन सकेन । मोफसलमा रहेर चलचित्र जगतलाई नजिकबाट नियाली रहेका सुवेदी यतिबेला चलचित्र क्षेत्र धारासायी बनेको बताउँछन् । चलचित्र कर्ममा नै निरन्तर सक्रिय रहने सोच बनाएका मिलन सुवेदी ‘बाटाघरे’ले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको पछिल्लो दिनचर्या कसरी बित्दैछ ?
आज भोलि चाहिँ अप्रत्यासितरुपमा कानमा समस्या आएपछि म कानको शल्यक्रिया गरेर आराम गरिरहेको छु । म्युजिक भिडियोको काम गर्दै आफ्नै तात्थलोमा नै समय बिताइरहेको छु । केही समय पहिले लिम्बु संस्कृतिमा आधारित चलचित्रको काम सम्पन्न गरें र म थेरापिष्ट पनि भएकोले बिरामीहरुको सेवामा नै समर्पित छु ।
एक समयको व्यस्त प्रोडक्सन म्यानेजर अहिले गुमनाम हुनुको कारण ?
अकल्पनीय घटनाको कारणले मेरो जीवनमा एक प्रकारको नैराश्यता उत्पन्न भयो । २२ वर्षको छोराको देहवासनले मेरो जीवनशैली नै फरक गराइदियो । एक्लो, एकोहोरो आशविहीन निराशका कारण डिप्रेशनको सिकार पनि भएँ । आजभोलि क्रमशः सुधार हुँदैछ । आफूलाई सम्हाल्ने कोसिस गर्दैछु ।
चलचित्रमा लगानी गर्नु भएपछि आर्थिक कारणले यो क्षेत्रबाट हराउनु भएको हो कि ?
चलचित्रमै तीन दशक भन्दा धेरै समय बिताएको मान्छे हुँ, पेशा नै यही भएपछि चलचित्र बनाउनै पर्यो । नाफा घाटा व्यवसायमा हुन्छ । तर चलचित्र बनाएकै कारण म चलचित्र क्षेत्रबाट विस्थापित भएको भने होइन । म अहिले पनि चलचित्रकै कर्मले टिकेको छु । अर्थात मेरो अर्को पेशा नै छैन । मैले माथि नै उल्लेख गरें म छोराको मृत्युको कारणले ओझेलमा परेको हुँ ।
मोफसलमा बसेर नेपाली चलचित्र क्षेत्रलाई कसरी मूल्यांकन गरिरहनु भएको छ ?
पूर्वाञ्चल चलचित्रको उद्गमस्थल हो । एकताका मोरङ, झापा, सुनसरीका धेरै व्यक्ति चलचित्र क्षेत्रमा देखिएका थिए । अहिले देशमा राजनीति अस्थिरता, विभिन्नि आन्दोलन एवं कोराना लगायतका कारण चलचित्र हेर्ने दर्शकको संख्या कम हुँदै गएको छ । मोबाइल तथा संचार क्षेत्रमा भएको आमूल परिवर्तनले सबैभन्दा ठुलो असर नेपाली चलचित्रलाई पर्न गएको छ । हलहरु बन्द हुनु, हलमा दर्शक नहुनु, मापदण्ड नभएर हलहरु विस्तापित हुनु । राज्यले यसतर्फ ध्यान नदिएका कारण झन् अवस्था जटिल बन्दै गएको छ । पेशागत हिसावले यो क्षेत्रमा लाग्ने, यसैलाई कर्म क्षेत्र बनाएर जीविकोपार्जन गर्ने परिवारकोसमेत जिन्दगी धारासायी बनेको छ । पूर्वाञ्चल वास्तवमै प्राकृतिकरुपले असाध्यै सुन्दर छ । त्यसैले धेरै चलचित्रको छायांकन यतै हुने गरेको छ । मुलतः चलचित्रलाई चाहिने दृश्य र भौतिक पूर्वाधारहरु लगायतका कुराले पूर्ण भएको क्षेत्र भएकोले चलचित्र निर्माण गर्न सहज छ । तर प्राविधिक पक्षमा प्रयोग हुने सामग्री बजारमा नपाइने कारण चलचित्रमा कठिनाई चाहिँ पक्कै छ ।
चलचित्र क्षेत्रको अनुभवी व्यक्ति हुनुहुन्छ, दर्शकले नेपाली सिनेमा किन हेर्ने ?
चलचित्र कल्पना हो, सिर्जना हो चित्रकला जस्तै अर्थ नबुझे पनि कलाकृतिको प्रसंशक प्रायः सबै हुन्छन् नै । चलचित्र समाजको दर्पण पनि हो । समाजमा भइरहेका कतिपय घटनालाई कल्पना गरेर दर्शकलाई लोभ्याउने बनाएर चलचित्र घरसम्म ल्याउन निकै मिहेनत गर्नुपर्ने हुन्छ । सिर्जनात्मक हिसावले समाजभित्र भएका वा कल्पना गरिएका घटनालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएका चलचित्र मनोरञ्जनका हिसावले, शिक्षाका हिसावले, सन्देशका हिसावले बनिएका चलचित्रहरु आम दर्शकले हेर्नु भयो भने एउटा उद्योग पुनः मौलाउने छ । साथै यसैमा आश्रीत व्यक्ति र परिवारलाई जीविकोपार्जन गर्न सहज हुने थियो ।
तीन दशकभन्दा बढी समय चलचित्र क्षेत्रमा बिताउनुभयो, विगतलाई कसरी सम्झनु हुन्छ ?
तीन दशक चलचित्र क्षेत्रमा बितिसक्यो । पहिला र अहिले चलचित्र निर्माण गर्ने प्राविधिक तौरतरिका विकसित उपकरणका कारण केही सहज भएको छ । अरु अभिनय गर्ने कलाकार पनि नाटक वा सोसम्बन्धी विज्ञता हासिल गरेर आउन थाले त्यो अत्यन्तै सकारात्मक छ । प्राविधिक पनि दक्ष छन्, तर सरकारी निकायको प्रष्ट नीति र चलचित्र उत्थानका निमित्त फिटिक्कै चासो नहुनाले पनि चलचित्र उद्योगको यो गति भएको हो । हरेक संघ संस्था चलचित्रको प्रवद्र्धन गर्न खोलिए पनि खासै कसैको चासो नदेखिएकै हो । विभिन्न सम्मान, अवार्ड कार्यक्रम चलचित्र श्रीवृद्धिका लागि गरिएपनि आसेपासे धुपौरेकै पौल्टामा पुग्ने भएकोले सच्चा चलचित्रकर्मीको आजसम्म चाकडी बिना पहिचान हुन सकेको छैन । देशको अर्थतन्त्र डामाडोल भएको अवस्था छ, तर कतिपय उद्योगहरु सरकारले अनुदान या ऋण दिएर सुचारु गर्छ, तर कुनै पनि वित्तीय संस्थाले चलचित्र निर्माणका लागि ऋण समेत पत्याउँदैनन् । सरकारी निकायद्वारा यस विषयमा कतै पहल गरेको देखिएन । समग्रमा पहिलेको भन्दा अहिले चलचित्र गतिविधि शून्यप्रायः छ ।
आयातित चलचित्रका कारण ठूलो धनराशी बाहिरिनुको कारण नेपाली चलचित्र कमजोर भएर हो ?
हामीले हाम्रा सिनेमा बनाएनौं । अरुकै देखासेखी गर्यौं, त्यसैले हामीलाई उनीहरुको सिनेमाले मन छोएको छ । हामीले आफ्नो मौलिकतमा सिनेमा बनायौं भने ति आयातित चलचित्र नेपाल छिर्न सक्दैनन् । यसको ज्वलन्त उदाहरण प्रेमगीत तीनलाई लिँदा हुन्छ । चलचित्र, निर्देशकको प्रथम सिर्जना हो । उसले चलचित्र छायांकन अगावै आफ्ना आँखाले फिल्म खिचिसकेको हुनुपर्छ, तबमात्र उसको सिर्जना सफल हुन्छ । तर बिडम्बना कुनै भिजन नभएकाहरुले बेढंगका चलचित्र निर्माण र प्रदर्शन गरिदिनाले दर्शक भारतीय तथा अन्य आयातित चलचित्रप्रति आकर्षित भएका हुन् । हामीले पनि दर्शकको इच्छा अनुसारको सिनेमा बनाउने हो भने आयातित चलचित्रले हाम्रो अर्थतन्त्रलाई केही असर पुग्दैन ।
स्थानीय चुनावमा पनि उम्मेदवार बन्नुभयो, भविष्यको लक्ष्य राजनीति गर्नु हो ?
राजनीति मेरो हवी होइन तर एउटा सचेत नागरिकको हैसियतले आफ्नो जन्मस्थलमै केही गरौं भन्ने मेरो पुरानो सोच यथावत थियो । संयोग त्यस्तै पर्यो म आफ्नै जन्मथलोमै बसिरहँदा यो राजनीतिको पाटोबाट चाहिँ केही गरेर देखाउन सकिन्छ भन्ने मनसायले उम्मेदवारी दिएको हुँ । सफल भइनँ, त्यसैले राजनीति मेरो विषय होइन भन्ने लाग्यो । आस्था राख्छु सक्रिय चाहिँ हुन्नँ ।
पछिल्लो समय उपचारमा पनि सक्रिय हुनुहुन्छ, कस्तो खालको बिरामी बढी आउनुहुन्छ ?
म थेरापी गर्छु । प्रायः म कहाँ सबै प्रकारका बिरामी आउनुहुन्छ । विशेष नशासम्बन्धी रोगीहरुको चाप बढी हुन्छ । अन्य बच्चा नहुने, पायल्स, ग्यास्ट्रीक लगायत दिर्घरोगी पनि आउनुहुन्छ । आउन नसक्ने अवस्थाका बिरामी कहाँ म आफैं जान्छु । अधिकांश बिमारीहरु प्रायः डाक्टर कहाँ पुगेर अन्तिम विकल्पको खोजीमामात्र म कहाँ आइपुग्छन्, त्यो चाहिँ दुःख लाग्छ । डाक्टरले निको नबनाएको बिरामीलाई सञ्चो बनाउँदासम्म पनि जस पाइन्न त्यो चाहिँ दुखद पक्ष हो ।
पुनः चलचित्र क्षेत्रमा फर्कने सोच बनाउनु भएको छ कि ?
चलचित्र निर्माण मै छु अहले पनि । मेरै लगानीमा निर्माण नभएको भएपनि म पेशाले चलचित्र निर्माण नियन्त्रकको हैसियतमा रहेर चलचित्र निर्माण गरेकै हो र गर्दै पनि छु । तर म आफ्नै लगानीमा बनाउने तत्काल सोच नभएपनि म चलचित्र निर्माण गर्छु, मृत्युपर्यत्न चलचित्र नै मेरो प्रमुख पेशा रहनेछ ।
दर्शक रुचीको हुनलाई अब बन्ने चलचित्रको विषयवस्तु कस्तो हुनुपर्छ ?
विषय वस्तु यकिन सफल हुन्छ भनेर कसैले पनि आंकलन गर्न सक्दैन । तथापि विषय वस्तु छनोटमा त्रुटी भए पक्कै पनि चलचित्र सफल हुँदैन । दर्शकको चाहना बुझ्न निक्कै कठिन विषय हो । तसर्थ समय सापेक्ष वर्ग समूहलाई लक्षित हुने, सबै वर्गले सरल तरिकाले बुझ्ने चलचित्र नै विश्व बजारमा सफल भएका छन् । अन्तर्राष्ट्रिय मापदण्डसम्म पुग्ने खालका चलचित्र बन्नु पर्छ । नौलो विषय वस्तु फरक तरिकाले परिस्कृत गरिने हो भने चलचित्र पक्कै सफल हुन्छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
धन्यवाद सानु जी र मध्यान्ह दैनिकलाई गुमनाम रहेका हामी जस्ता चलचित्रकर्मीका केही कुरा राख्ने अवसर दिनुभएकोमा । देश संसदीय चुनावपछि नयाँ पथमा हिँड्दै गर्दा चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि केही कदम चालियोस् भन्ने अपेक्षा गरेको छु । पहिला जस्तै चलचित्रको बजार फस्टाओस् भन्ने मेरो असिम इच्छा छ, सबैको जय होस् जय सनेमा ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies