तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा पुग्ने पहिलो राष्ट्र नेदरल्याण्ड्स बनेको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा शनिबार राति भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्याण्ड्स अन्तिम आठमा पुगेको हो ।
नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले जवाफी एक गोल फर्काए । खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्याण्ड्सलाई २-० को अग्रता दिलाए भने ७६ औँ मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई२-१को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८१ औँ मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्याण्ड्सलाई ३-१ को सहज जित दिलाए ।
त्यसैगरी आइतबार मध्यराति कतारको अहमेद बिन अलि स्टेडियममा भएको अर्को खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । उपाधि दाबेदार अर्जेन्टिना अस्ट्रेलियामाथिको जितसँगै क्वाटरफाइनलमा पुग्ने दोस्रो राष्ट्र बनेको छ । अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको ३५ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने ५७ औं मिनेटमा जुलियन अल्भारेजले एक गोल थप गर्दै २-० को अग्रता दिलाएका थिए। विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल हो भने करियरको १००० औं खेल हो ।
अस्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरे पनि अर्जेन्टिना २-१ ले विजयी भयो । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies