
काठमाडौं : भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट विस्थापित परिवारहरूलाई लक्षित गर्दै काठमाडौंको टोखा–१० स्थित ब्लु ओसियन ओभरसिज प्रा.लि.ले राहत वितरण गरेको छ ।
शनिबार गजुरी गाउँपालिका वडा नं. ५ को गलौदीमा ४३ घर र पोखरे खोलामा २२ घरभन्दा बढी बाढीबाट विस्थापित परिवारलाई प्रत्यक्ष भेटी राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ । ब्लु ओसियन ओभरसिजका सञ्चालक ध्रुव रिजालको नेतृत्वमा गएको ओभरसिजको टोलीले बाढीका कारण त्रिशूली नदी आसपासका करिब ६० भन्दा बढी घरपरिवार विस्थापित भएपछि उनीहरूलाई तत्काल सहयोग स्वरूप राहत प्रदान गरेको हो ।

कम्पनीका अनुसार पीडितहरूलाई आवश्यक दैनिक उपभोग्य तथा आधारभूत सामग्री उपलब्ध गराइएको छ । वितरण गरिएका सामग्रीमा ओढ्ने–ओछ्याउनेका लागि सिरक, डसना, सिरानी, तन्ना लगायतका सामान रहेका छन् । यसका साथै खाद्यान्नतर्फ चामल, दाल, तेल तथा पानी शुद्धीकरणका लागि फिल्टर समेत प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । लत्ता–कपडा लगायत अन्य आवश्यक सामग्री पनि वितरण गरिएको कम्पनीले बताएको छ ।

