
काठमाडौं : शनिबार अपर त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार भए । शनिवार नै दिन बाढीले क्षति पुर्याएको नुवाकोटको विदुर १० बेत्रावतीस्थित घरबाट आनन्द श्रेष्ठकी श्रीमती चण्डिका श्रेष्ठको पनि जीवितै उद्धार भयो ।
बेत्रावतीस्थित क्षतिग्रस्त घरको संरचनाभित्र फसेकी श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो ।
दुवै जना बाढी आएको ११औँ दिन उद्धार भएका हुन् । यसअघि बाढी आएको १०औँ दिन अर्थात् शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार भएको थियो । सुरुङमा फसेका सञ्जय साह र कविर महर्जनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
रसुवाको भोटेकोशीमा भदौ १० गते विनाशकारी बाढी आएको हो । १० औँ र ११औँ दिनमा भएको जीवितै उद्धारले खुसीको सञ्चार गराएको छ । लगातारको खोजी तथा उद्धारका क्रममा चार जनालाई जीवितै निकालिएपछि सुरुङ तथा भग्नावशेषमा फसेका अन्य व्यक्तिको उद्धारको आशा पनि बढेको उद्धारमा संलग्न अधिकारीहरू बताउँछन् ।
दिन बित्दै जाँदा सुरुङमा फसेका व्यक्तिको अवस्थाप्रति चिन्ता बढिरहेको भए पनि पछिल्ला उद्धारले उनीहरू जीवितै भेटिन सक्ने आशा जगाएको हो ।
भोटेकोशी त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाहरूमा बाढी आउँदा ठूलो क्षति पुगेको थियो । तीमध्ये धेरै आयोजनामा बाढी आउँदा कामदारहरू सुरुङभित्र काम गरिरहेका थिए ।
आयोजनाका सुरुङहरूमा काम गरिरहेका कतिपय कामदार बाढीपछि सम्पर्कविहीन छन् । सुरुङको प्रवेशमार्ग तथा अन्य संरचनामा क्षति पुगेका कारण उद्धार टोलीलाई भित्रसम्म पुग्न कठिन भइरहेको छ ।
सुरक्षाकर्मी तथा प्राविधिक टोलीले सुरुङभित्र फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिन तथा उनीहरूसम्म पुग्न निरन्तर प्रयास गरिरहेका छन् ।
तर सुरुङको संरचना, पानी, हिलो तथा भत्किएका संरचनाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । कतिपय स्थानमा उद्धारकर्ता प्रवेश गर्नसमेत सकेका छैनन् ।
यही बेला घरका भग्नावशेषमा पनि खोजी अगाडि बढेको हो । सुरुङमा मानिसहरू फसेको आशंकामा केन्द्रित हुँदै आएको खोजी अब बाढीले क्षति पुर्याएका घर तथा अन्य संरचनातर्फ पनि विस्तार भएको छ ।
शनिबार बेत्रावतीमा बाढीले क्षति पुर्याएको घरको संरचनाबाट चण्डिका श्रेष्ठको जीवितै उद्धार भएपछि बाढी प्रभावित क्षेत्रमा यस्तै अवस्थामा अन्य व्यक्ति पनि फसेका हुन सक्ने भनेर खोजी जारी छ ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङसम्म ठूलो क्षति पुर्याएको छ । नदी किनारका धेरै घर तथा बस्ती बाढीले पुरिएका, भत्किएका र बगाएका छन् । कतिपय घर पूर्णरूपमा ढलेका छन् भने कतिपय घरका संरचना माटो, ढुंगा र अन्य भग्नावशेषले पुरिएका छन् ।
बाढी परेर हालसम्म फेला परेका शवको संख्या एक हजार ३४४ रहेको छ । हालसम्म उद्धार गरिएको संख्या १३ हजार ९८, सम्पर्कविहीनको संख्या ५ हजार, हालसम्म घाइते संख्या ५ हजार ६६३ रहेको छ । उद्धार कार्यमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालित रहेका छन् ।