
काठमाडौँ : दक्षिण कोरियाले भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा विपद्पछिको पुनर्निर्माण, खोज तथा उद्धार र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालन भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे दुवै मन्त्रीबीच विस्तृत छलफल भएको छ ।
भेटमा बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा त्यसमा भइरहेको प्रगतिका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री खनालले प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली तथा अन्तरनिकाय र्यापिड रेस्पोन्स टोली परिचालन गरेकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएका छन् । उनले कोरियाबाट प्राप्त मानवीय सहायता र राहत सामग्रीको समेत प्रशंसा गरेका छन् ।
मन्त्री खनालले विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै दिगो, बलियो र विपद्प्रतिरोधी पूर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
उनले पुनर्निर्माण तथा पूर्वाधार निर्माणका काममा दक्षिण कोरियाबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।
जवाफमा कोरियाली परराष्ट्रमन्त्री ह्युनले विपद्पछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सघाउन कोरिया सरकार तयार रहेको बताएका छन् ।
कोरियाली परराष्ट्रमन्त्री ह्युनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले व्यहोर्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको बताएका छन् ।
उनले जलवायुजन्य जोखिम र क्षतिका विषयमा अन्य मुलुकलाई जिम्मेवार तथा सचेत बनाउन नेपाल र दक्षिण कोरियाले कोपलगायत अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका पक्षमा दक्षिण कोरियाले पनि आवाज उठाउने प्रतिबद्धता उनले जनाएका छन् ।
भेटमा दुवै मन्त्रीले आपसी विश्वास, मित्रता र सहकार्यमा आधारित नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्याउन निकट रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युन तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौँ आएका हुन् ।