
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ ग्यास्ट्रो सर्जन तथा कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारीले बाढीपीडितको सहयोगार्थ रकम संकलन गर्न शनिबार साँझ काठमाडौंको ठमेलस्थित क्लब नोभामा सांगीतिक कन्सर्ट आयोजना गरेका छन् ।
‘धन्यवाद’ नाम दिइएको उक्त लाइभ कन्सर्ट विपद्का बेला अहोरात्र खटिएका सेना, प्रहरी तथा उद्धारकर्ताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यसहित आयोजना गरिएको हो । कन्सर्टमा डा. भण्डारीले आफ्नै तथा कभर गरी जम्मा २० वटा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमबाट संकलित टिकट रकम सरकारको दैवी प्रकोप राहत कोषमा जम्मा गरिने डा. भण्डारीले जानकारी दिएका छन् । करिब १८ वर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय भण्डारीले यसअघि पनि विभिन्न शीर्षकमा आफ्ना गीतहरू सार्वजनिक गरिसकेका छन् ।
यस किसिमका सिर्जनात्मक पहलले विपद् व्यवस्थापनमा सहयोग पुग्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
