
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ५ को सीमामा रहेको स्यार्पु ताल पछिल्लो समय पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । चारैतिर हरियाली पहाड, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यस तालमा दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ ।
मुसिकोट खलङ्गाबाट करिब २० किलोमिटर दूरीमा रहेको स्यार्पु तालले रुकुम पश्चिमको पर्यटन विकासमा ठूलो सम्भावना बोकेको स्थानीयवासी बताउँछन् । तालको उत्तरतर्फ स्यार्पु गाउँ र खारखोला, दक्षिणतर्फ दह गाउँ, पूर्वमा पैयाबार गाउँ र पश्चिममा दह गेठ क्षेत्र पर्छ ।
तर, पर्यटकको आकर्षण बढ्दै गए पनि तालमा डुंगा सञ्चालन नहुँदा पर्यटन गतिविधि अपेक्षाअनुसार विस्तार हुन सकेको छैन । बाँफिकोट गाउँपालिकाले पेट्रोल डुंगाका कारण तालको वातावरणमा असर परेको भन्दै डुंगा सञ्चालनमा रोक लगाएपछि पर्यटन प्रवर्द्धनमा असर परेको स्थानीयको भनाइ छ ।
स्थानीय कर्णवीर दाहालका अनुसार आवश्यक व्यवस्थापनसहित सुरक्षित विद्युतीय डुंगा सञ्चालन गर्न सकिए स्यार्पु तालको पर्यटन सम्भावना अझै विस्तार हुने थियो । त्यस्तै, ताल घुम्न आएका पर्यटकहरूले पनि डुंगा नहुँदा किनाराबाटै दृश्य अवलोकन गरेर फर्किनुपर्ने बाध्यता रहेको बताएका छन् ।
बर्दियाबाट आएका पर्यटक हरिहर थारुले तालको प्राकृतिक सौन्दर्य अझ नजिकबाट अवलोकन गर्न डुंगा सेवा आवश्यक रहेको बताए ।
स्थानीय होटल तथा व्यवसायीहरूले स्यार्पु ताललाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके रोजगारी र आम्दानीका अवसर बढ्ने विश्वास व्यक्त गरेका छन् ।
यता गाउँपालिकाले भने वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्दै डुंगा सञ्चालन रोकिएको जनाएको छ । तर स्थानीयले भने वातावरणीय सन्तुलन कायम गर्दै सुरक्षित विद्युतीय डुंगा सञ्चालन, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको माग गरेका छन् ।
स्यार्पु तालको पर्यटन सम्भावनालाई वास्तविक रूपमा उपयोग गर्न स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय आवश्यक देखिएको छ ।