
रौतहट : रौतहटको गढीमाई नगरपालिका–४ स्थित संग्रामपुरमा रहेको वडा कार्यालय भवन र परिसर पछिल्लो समय जनतालाई सहज सेवा प्रवाह गर्ने थलोभन्दा पनि पशुचौपाया बाँध्ने गोठजस्तो देखिन थालेको छ । सर्वसाधारण नागरिकलाई सार्वजनिक तथा प्रशासनिक सेवा प्रदान गर्न निर्मित सरकारी भवनको प्रांगणमै भैंसी बाँध्ने, नुहाउनेसहितका कार्य हुन थालेपछि स्थानीयवासीहरूले जनप्रतिनिधि र प्रशासनिक संयन्त्रप्रति तीव्र रोष प्रकट गरेका छन् ।
स्थानीयका अनुसार सरकारी बजेटबाट वडा कार्यालय परिसरभित्र जनसेवाका लागि जडान गरिएको विद्युतीय वाटर पम्प (मोटर) को चरम दुरुपयोग भइरहेको छ । वडा कार्यालयकै मुख्य प्रवेशद्वार नजिकै नियमित रूपमा भैंसी बाँधेर नुहाउने र व्यक्तिगत प्रयोजनका लागि पानी तानेर प्रयोग गर्ने गरिएको दृश्यले सार्वजनिक सम्पत्तिप्रति निकायको उदासीनता प्रस्ट्याउँछ । सरकारी स्रोत र भौतिक संरचनाको यसरी सर्वसाधारणकै अगाडि खुलेआम निजी उपयोग हुँदा पनि जिम्मेवार निकाय भने मूकदर्शक बनेको आरोप स्थानीयको छ ।
स्थानीय सेवाग्राहीहरूले वडा अध्यक्ष, वडा सदस्यहरू तथा वडा सचिवको चरम लापरबाहीका कारण कार्यालयको मर्यादा र प्रशासनिक वातावरण ध्वस्त भएको बताए । नागरिकहरूले तिरेको कर तथा राज्यको करौडौं बजेट विनियोजन गरी खडा गरिएको सार्वजनिक संरचनालाई कसैको व्यक्तिगत स्वार्थ र प्रयोजनका लागि छाडा छाडिनु राज्यको संयन्त्रमाथिको व्यङ्ग्य भएको उनीहरूको ठम्याइ छ ।
नेपाल सरकार र स्थानीय तहले जनताको दैलोमै छिटो, छरितो र प्रविधियुक्त सेवा पु¥याउने उद्देश्यका साथ संरचना निर्माण गरे पनि संग्रामपुरस्थित ४ नम्बर वडा कार्यालयको वर्तमान हविगत भने ठीक उल्टो र निराशाजनक देखिएको छ । सरकारी भवन परिसरभित्र व्याप्त फोहोर र अमर्यादित गतिविधिका कारण कार्यालय पुग्ने सेवाग्राहीहरूले सास्ती व्यहोर्नुपरेको छ ।
जनताको सार्वजनिक आस्थाको केन्द्र मानिने प्रशासनिक निकायको यस्तो दयनीय अवस्था अविलम्ब अन्त्य गरिनुपर्ने माग स्थानीयवासीले गरेका छन् । उनीहरूले वडा कार्यालय परिसरको उचित सरसफाइ र संरक्षण, सरकारी स्रोत–साधनको दुरुपयोग रोक्न कडा कदम तथा सेवाग्राहीमैत्री वातावरण कायम गर्न गढीमाई नगरपालिका र सम्बन्धित उच्च निकायसँग तत्काल प्रभावकारी हस्तक्षेपको माग गरेका छन् ।