
काठमाडौं : भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको उद्धार, पुरिएका शवको उत्खनन तथा व्यवस्थापनमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका विभिन्न युनिट फिल्डमै छन् ।
बाढी आएको १२ दिनसम्म खोज–उद्धार तथा व्यवस्थापन विज्ञसहित तीनैवटा सुरक्षा निकाय बाढीप्रभावित क्षेत्रमा सक्रिय रहँदा सकारात्मक परिणाम देखिएको छ । तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बेपत्ता भएको ११औं दिनमा समेत जीवितै उद्धार सफल भयो । उक्त सफलताले उद्धारकर्मीको मनोबल थप बढाएको छ । अझै कतिपय टनेलहरूमा जीवितै उद्धार हुनसक्ने आशा खोज तथा सुरक्षा विज्ञहरूले जगाएका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजीकार्य जारी छ । भदौ १० को कहालीलाग्दो विनाशकारी बाढीलगत्तै उच्च सर्तकर्ताकासाथ खोज, उद्धार र व्यवस्थापनमा लागेको सुरक्षा संयन्त्रले सक्रियतामा कमी नआएको दाबी गरेको छ । बरु उद्धारमा खटिनेको संख्या र प्राविधिक एवं विज्ञहरूको टोलीसमेत थप भएको छ । अझै जीवितै उद्धार गर्ने संकल्प बोकेर भग्नावशेष संरचना र हाइड्रो पावरका सुरुङ खन्न क्रियाशील रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ । खोज, उद्धार तथा राहतका लागि अहिलेसम्म २१ हजार ४१५ जना सुरक्षाकर्मी परिचालित छन् ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीपूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सय, सशस्त्र प्रहरी बलका ४ हजार २०३ र नेपाल प्रहरीका ७ हजार ९१२ जना खटिएको सम्बन्धित सुरक्षा निकायका अधिकारीहरूले जानकारी दिए । नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी कुल ३ हजार ९६७ को उद्धार गरेको छ । पछिल्लोपटक रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
उनले भने, ‘त्रिशूली–३ ए जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङमा नेपाली सेनाका आठजनाको टोली उद्धार उपकरणसहित खोज तथा उद्धार कार्यमा निरन्तर खटिएको छ ।’ त्यस्तै त्रिशूली–३ बी अडिट–२ सुरुङबाट एक्साभेटर लैजान सक्ने गरी बाटो बनाउँदै छ । उता, चिलिमे हाइड्रोपावर आयोजनामा स्वदेशी तथा विदेशी सदस्य सम्मिलित संयुक्त टोलीले मिनी एक्साभेटर र मड पम्पको प्रयोग गरी लेदो हटाउँदै पावरहाउसबाट करिब ६०–७० मिटरको दूरीसम्म पुगेको नेपाली सेनाले जनाएको छ । सेनाको अर्को टोलीले स्याफ्रुबेसीमा स्लिङ अपरेसनमार्फत एक्साभेटर झारेर सुरुङभित्र लैजाँदै छ ।
माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको टोली थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजीमा लागेको सेनाका प्रवक्ता बस्नेतले जानकारी दिए । मैलुङदेखि स्याफ्रुबेसीसम्म सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य जारी राखेको छ । सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । त्यस्तै, २० वटा अक्सिजन सिलिन्डर हवाई साधनमार्फत त्रिशूली पुर्याएर खोजी कार्यलाई थप व्यवस्थित बनाएको जनाएको छ ।
नेपाल प्रहरीले सम्पर्कविहीनहरूको खोजीका लागि विशेष टोली बनाएर कुकुर र ड्रोनको समेत सहायता लिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता (डिआइजी) अविनारायण काफ्लेले उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार विशेष टोली परिचालन गरिएको बताए । उनले मध्यान्हसँग भने, ‘आफन्त हराएका परिवारबाट आउने सूचनाका आधारमा सम्बन्धित प्रहरी युनिटलाई खोजी तथा उद्धारमा अलर्ट बनाएका छौं ।’
प्रहरीले डिआइजीको नेतृत्वमा नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र स्थापना गरेर २४ घण्टा निगरानी गर्दै आएको छ । ‘फिल्डमा प्रहरी मात्रै नभएर नेपाली सेना, सशस्त्र र अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञसमेतको सामूहिक प्रयासमा काम भइरहेको छ,’ उनले भने ।
प्रहरीमा हालसम्म १ हजार ३५१ पटक आफन्तको खोजी तथा उद्धारका लागि प्रहरीमा अनुरोध आएको छ । मृतक तथा सम्पर्कविहीन विदेशी नागरिकसम्बन्धी सूचना आदानप्रदानका लागि नेपाल प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्बन्धित संयन्त्र स्थापना गरेर काम गर्दै आएको प्रवक्ता काफ्लेले बताए ।
भोटेकोशी बाढीको घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्बपर्कबाहिर छन् भन्ने एकीकृत विवरण सरकारी संयन्त्रले अझै संकलन गरिसकेका छैनन् । अनुमानित तथ्यांककै आधारमा सरकारका संयन्त्रले उद्धारपछिको राहत तथा स्वास्थ्य उपचार कार्य गर्दै आएको छ । सशस्त्र प्रहरीले ११औं दिनमा एकजना महिलाको जीवितै उद्धार गरेपछि सुरुङमा बेपत्ता भएकाहरू अझै जीवितै भेटिन सक्ने आशा बाँकी छ । पहिला लाङटाङबाट २ वटा शव निकालेको सशस्त्र प्रहरीको टोली अहिले त्रिशूली ३ए र ३बीमा खटिएको छ । उनीहरू अझै जीवितै मानिस भेटिने सम्भावना रहेको बताउँछन् । केही व्यक्तिको जीवितै उद्धार भएपछि थप आशासहित खोजीकार्यलाई सशक्त बनाएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता (डिआइजी) नेत्रबहादुर कार्कीले बताए । ‘सडकका टनेलमा १७ देखि ६९ दिनसम्म जीवितै उद्धार गरिएका उदहारण छन्,’ सशस्त्र प्रहरीका प्रवक्ता कार्कीले भने, ‘सम्भावना त रहन्छ । चिलीमा सडकको टनेलमा भेटिएका मान्छेलाई पाइपबाट खानेकुरा पुर्याएर ६९ दिनका दिन जीवितै उद्धार गरेको उदाहरण छ ।’ यसबाट पनि सम्भावना रहन्छ भन्ने पक्का गर्न सकिन्छ । त्यसका लागि बाढीले बगाएको टिमुरेदेखि चितवनसम्मकै भग्नावशेष संरचना र टर्नेलहरूमा समेत खोजीकार्य जारी रहेको उनले बताए ।
विपद् व्यवस्थापन, खोज उद्धार र राहतको काम बहुआयामिक विषय भएकाले सबै सरोकारवालाको बराबर सहयोग र सहकार्य आवश्यक पर्ने प्रहरीले बताएको छ । ‘सोहीअनुसार तीनै तहको सुरक्षा अंगको सामूहिक प्रयास भइरहेको छ,’ कार्कीले भने । सशस्त्र प्रहरीले चितवनदेखि टिमुरेसम्म सातवटा कुकुरसमेत खटाएको छ । ती कुकुरले माटोमुनि १९ वटा शव फेला पारेको प्रवक्ता कार्कीले जनाकारी दिए ।
त्यस्तै, धदिङ चितवन, रसुवा नुवाकोटमा १३ वटा बेसक्याम्प बनाएर १० गतेबाटै सशस्त्र प्रहरी बल, नेपाल बाढी पीडितको खोज–उद्धारमा लागेको कार्कीले दाबी गरे । उक्त टोलीमा संगठनभित्रका विभिन्न विज्ञ छन् । स्वास्थ्य कर्मचारी टोली, मनोसामजिक परामर्शदाता, सुरुङविज्ञ, प्राविधिक, सिएसएसआर, रोप रेस्क्यु टोली, गोताखोर, उच्च बहावबाट उद्धार गर्नेलगायत टोली फिल्डमा परिचालन भएको डिआइजी कार्कीले बताए । त्यस्तै, १२ वटा हेल्थक्याम्प राखेर काम गरिएको छ । विमानस्थलमा ए क्लासको एम्बुलेन्सलाई स्ट्यान्डवाई राखेर काम गरेको प्रवक्ता कार्कीको भनाइ छ । ‘पछिल्लोपटक भत्किएका संरचनामा बढी केन्द्रित भएर सशस्त्रले काम गर्दै आएको छ,’ कार्कीले भने, ‘अन्तिम आशा रहुन्जेलसम्म हामी निरन्तर लागिरहन्छौं ।’
बाढी प्रभावित क्षेत्रमा अहिले सशस्त्र प्रहरी बलका ४ हजार २०३ जनाको टोलीले काम गर्दै आएका छन् । प्रहरी र सशस्त्रसँग आफ्नै हेलिकोप्टर नभएका कारण हेलिकोप्टरबाट उद्धारको गर्ने जिम्मेवारी पनि नेपाली सेनामा निहित छ ।