
काठमाडौं : रसुवाको भोटेकोशीमा बाढी आएको १३ दिन बितिसक्दा पनि धेरै परिवार आफ्ना आफन्तको खोजीमा छन् । बाढीले बगाएर विभिन्न जिल्लामा पुर्याएका शवमध्ये अधिकांश क्षतविक्षत छन् । कतिपयको शरीरको आंशिक अंग मात्रै फेला परेको छ । अनुहार नचिनिने भएकाले आफन्तले समेत सनाखत गर्न सकेका छैनन् । शव राख्ने पर्याप्त चिस्यानगृह नहुँदा पहिचान नखुलेका शवलाई जमिनमुनि गाडेर सुरक्षित राख्नुपरेको सरकारी दाबी छ ।
भदौ १० गते बिहान ८ बजेर ४० मिनेटमा रसुवाको उत्तरी सीमावर्ती क्षेत्र हुँदै भोटेकोशीमा अस्वाभाविक रूपमा बाढी आएको थियो । तिब्बततर्फबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशूली नदीसम्म पुगेको थियो । बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेसी क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएको थियो । तल्लो तटीय क्षेत्रका नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्ला पनि प्रभावित भएका छन् ।
बाढी आएको १३ दिनको पुण्यतिथिमा सरकारले आइतबार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म १ हजार ३४२ जनाको शव फेला परिसकेको छ भने ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । फेला परेका शवमध्ये ९८ जनाको मात्रै सनाखत भई परिवारलाई हस्तान्तरण गरिएको छ ।
फेला परेका शवमध्ये १ हजार २४४ जनाको पहिचान हुन सकेको छैन । रसुवाबाट बगाएका शव सबैभन्दा धेरै चितवनमा ३६२, नवलपरासीपूर्वमा २३२, नवलपरासी पश्चिममा २१० र नुवाकोटमा १९५ जनाको फेला परेको प्राधिकरणले जनाएको छ । यस्तै, रसुवामा १६३, गोरखामा ७४, धादिङमा ६८ र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
किन हुन सकेन पहिचान ?
बाढीको तीव्र बहावमा ढुंगा, हिलो, लेदो र रुखमा ठोक्किँदा शवको अवस्था क्षतविक्षत भएको छ । कतिपय शवमा लगाएका कपडा समेत नरहेकाले प्रारम्भिक पहिचान गर्न कठिन भएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले बताउँछन् । उनका अनुसार तीन मुख्य कारणले शव पहिचानमा समस्या भएको हो ।
पहिलो, बाढीको तीव्र बहावमा ढुंगा, हिलो, लेदो र रुखमा ठोक्किँदा शरीरमा रहेका कपडा नरहनु । दोस्रो, त्यसैका कारण अधिकांश शवको आंशिक अंग मात्रै फेला पर्नु । तेस्रो, बाढीमा धेरै दिनसम्म डुबेका कारण शव गल्दै जानु र अनुहार नचिनिने अवस्थामा भेटिनु ।
‘रसुवा बाढीबाट हराएको मान्छेको शव पूर्वी वा पश्चिम नवलपरासीमा भेटिएको छ । उहाँहरूको परिवारलाई कहाँ फेला पर्छ भन्ने के थाहा हुन सक्छ ?’ काफ्ले भन्छन्, ‘यस्ता धेरै कारणले शवको पहिचान हुन नसकेको हो ।’
बाढीले शवलाई टाढाटाढासम्म पुर्याएकाले खोजी र पहिचान दुवै थप जटिल बनेको छ । प्रहरीले बाढीमा भेटिएका शव र बेपत्ता व्यक्तिका आफन्तबाट डिएनए नमुना संकलन गरिरहेको छ । ‘बेपत्ता भएकाहरूका आफन्तले दिएको डिएनए प्रोफाइलिङ हुन्छ । म्याचिङ भएपछि कानुनबमोजिम हस्तान्तरण हुन्छ,’ काफ्लेले भने ।
पहिचानको वैज्ञानिक बाटो डिएनए
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिचान नभएका शवलाई पहिचान गर्ने सबैभन्दा उत्तम वैज्ञानिक विधि डिएनए परीक्षण भएको बताइन् । ‘बाढीमा बेपत्ता भएकाहरूका आफन्तले जिल्ला प्रहरी कार्यालयमार्फत डिएनए टेस्टका लागि नमुना दिन सक्नुहुन्छ,’ उनले भनिन्, ‘धेरैजसोले डिएनए नमुना दिइसक्नुभएको छ ।’
उनका अनुसार, पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार शवको व्यवस्थापन भइरहेको छ । व्यवस्थापकीय तथा प्राविधिक रूपमा पहिचान नभएका शव व्यवस्थापन भइरहेको र अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको उनले बताइन् ।
नेपालका प्रयोगशालाको क्षमताका साथै वैदेशिक सहयोगसमेत परिचालन गरेर कम्तीमा १२ हप्ता अर्थात् तीन महिनाभित्र सबै नमुनाको परीक्षण र डिएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको महतले बताइन् । शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था पनि मिलाइएको छ । आफन्तले तस्बिर हेरेर शव पहिचान गर्ने प्रयास गरिरहेका छन् । अस्पताल परिसरमा शव पहिचानका लागि सहायता कक्षसमेत राखिएको छ ।
‘शव गाड्नु नष्ट गर्नु होइन’
वरिष्ठ फरेन्सिक विज्ञ प्रा.डा. हरिहर वस्तीका अनुसार मृतकको पहिचान मुख्यतः दुई चरणमा गरिन्छ । प्रारम्भिक पहिचानमा मृतकको शारीरिक आकृति, उसले लगाएको कपडा, गरगहना, शरीरमा खोपिएका ट्याटु, पुराना चोटपटकका खत, अप्रेसनका चिह्न वा अन्य विशेष हुलियाका आधारमा पहिचान गर्ने प्रयास गरिन्छ ।
त्यसपछि वैज्ञानिक पहिचान विधि अपनाइन्छ । औंठाछाप सबैभन्दा सामान्य, सजिलो र छिटो उपाय हो । पूर्वअभिलेख सुरक्षित भएमा दाँतको परीक्षण पनि वैज्ञानिक पहिचानको महत्त्वपूर्ण माध्यम हो । यी दुवै सम्भव नभए डिएनए परीक्षण गरिन्छ ।
डिएनए परीक्षणका लागि समयमै नमुना संकलन गरी नजिकका आफन्तबाट लिइएको नमुनासँग तुलना गरिन्छ । नमुनाबाट डिएनए प्रोफाइल तयार गरी आफन्तबाट संकलित डिएनएसँग म्याचिङ गरेपछि पहिचान गरिन्छ । पहिचान नभएका शवका लागि अस्थायी चिहान सुरक्षित विकल्प भएको वस्ती बताउँछन् । ‘शव गाड्नु नष्ट गर्नु होइन, शव गाड्नु भनेको त्यसलाई नष्ट नगरी भविष्यमा पहिचान गर्न सहज बनाउन सुरक्षित राख्नु हो,’ उनले भने ।
उनका अनुसार जमिनमुनि गाडिएको शव १२ वर्षसम्म पनि सुरक्षित रहन सक्छ । ‘कोही डिएनएको स्याम्पल लिएर आउँछ भने १२ वर्षसम्म जमिनबाट निकालेर लैजान सकिन्छ,’ उनले भने, ‘अस्थायी चिहान १२ वर्षसम्म पूर्ण रूपमा सुरक्षित रहन्छ र यसलाई १२ वर्षसम्म चलाउन वा भत्काउन पाइँदैन ।’
शवलाई डेढ मिटरभन्दा बढी गहिराइमा गाडिने भएकाले जंगली वा घरपालुवा जनावरले खोतल्ने वा निकाल्ने सम्भावना पनि नहुने उनले बताए । जमिनमुनि सुरक्षित रूपमा गाडिसकेपछि शव कुहिने वा गनाउनेजस्ता समस्या पनि नहुने उनको भनाइ छ । ‘१२ वर्षसम्म पनि पहिचान खुलेन भने अस्थायी चिहान स्वतः स्थायी चिहानमा परिणत हुन्छ,’ उनले भने, ‘तर, यदि पछि डकुमेन्टसँग मेल खानेगरी आफन्त आएर सनाखत गरेमा जुनसुकै समयमा पनि शवलाई पुनः ट्रयाक गरेर निकाल्न सकिन्छ ।’
मृतकका बुवा–आमा वा छोरा–छोरीमध्ये जसले डिएनए परीक्षण गराए पनि पहिचानका लागि प्रयोग गर्न सकिने उनले बताए । चिसो ठाउँमा गाडिएको शव ६ महिनादेखि एक वर्षसम्म पनि पूरै सुरक्षित र दुरुस्त अवस्थामा रहन सक्ने र गर्मी ठाउँमा तीनदेखि चार महिनासम्म जमिनमुनि शव सग्लो अवस्थामा रहने वस्ती बताउँछन् । विपद्को समयमा प्राथमिक उद्देश्य पोस्टमार्टम गर्ने वा मृत्युको कारण पत्ता लगाउनेभन्दा पनि मृतकको पहिचान गर्नु अर्थात् विपद् पीडित पहिचान गर्नु रहेको उनी बताउँछन् ।
कति बेपत्ता ?
रसुवा जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार बाढीपछि १ हजार ९६७ जना सम्पर्कविहीन छन् । नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणमा २ हजार ३४७ जना नेपाली नागरिक, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३५१ जनाको सुरक्षित उद्धार गरिएको छ भने ६ हजार ८३ जना घाइतेको उपचार गरिएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रका स्थानीयलाई राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएको छ, जहाँ हाल ३ हजार ६१२ जना आश्रित छन् ।
बाढीको क्षति
प्राधिकरणले तयार पारेको ‘शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यो प्रारम्भिक विवरण भएकाले विस्तृत क्षति आकलन आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । बाढीबाट ४८ सरकारी तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ । तीमध्ये ३५ पूर्ण र १३ आंशिक क्षतिग्रस्त भएका छन् । १८ विद्यालयमा क्षति पुगेकोमा ११ पूर्ण र ७ आंशिक छन्। स्वास्थ्य क्षेत्रका ७ संस्थामा क्षति पुगेको छ ।
भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । ३७ मोटरेबल पुल र ६८ झोलुंगे पुलमा क्षति पुगेको छ । कृषितर्फ १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको छ । यसबाट ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आकलन गरिएको छ । प्रभावित पाँचवटै जिल्लामा पशु तथा कुखुरापालन व्यवसायमा समेत ठुलो असर परेको छ ।
ऊर्जा क्षेत्रमा ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । १३ जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा आयोजना र दुई प्रसारण लाइनमा क्षति पुगेको छ । प्रभावित क्षेत्रमा १७ बैंकका शाखामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।