
काठमाडौं : माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
सोमबार हाइड्रोमा फसेका आफन्तहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले माथिल्लो ३ बी मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकारले आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरुलाई पनि खोजी गर्न जान नदिएको उनीहरुको गुनासो छ ।

रसुवा बाढीपछि त्रिशूली ३ बी जलविद्युत् आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । बाढीले आयोजनालाई पूर्ण रुपमा क्षति गरेको छ । सरकारले उद्धार तथा खोजी कार्यको लागि उक्त आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन । उक्त आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाइ छ । तर पीडितहरूले भने उद्धारमा कठिनाइ छ भन्दैमा सरकार पन्छिन नमिल्ने बताएका छन् ।

बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली ३ बी मा कार्यरत कर्मचारी तथा कामदारहरुको खोजीकार्यमा सरकारले अदारुकता नदेखाएको बताइन् । उनका श्रीमान् वरिष्ठ भूगर्भविद् सुमेश अमात्य हाल सम्पर्कविहीन छन् । गृह मन्त्रालयमा गएर पटकपटक ध्यानकषर्ण गराउँदा पनि सरकारले चासो नदिएको उनको भनाइ छ । सरकारले हेलिकप्टर लगायतका उपकरण लगेर उद्धार गर्नुपर्नेमा कुटो कोदाले लिएर पठाएको उनको आरोप छ ।

सरकारले हराएकोहरू जीवित भए जीवित र नभएमा शव भएपनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडितहरुको भनाइ छ । हेलिकप्टर लगायत अरु उपयुक्त उपकरण लगेर तत्काल उद्धार कार्यलाई तीव्रता दिन उनीहरुले माग गरेका छन् । बाढी गएको लामो समयसम्म पनि उद्धार हुन नसक्नु सरकारको लाचारीपन भएको पीडितहरुको भनाइ छ ।






