नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले आफू कुनैपनि अवस्थामा नेकपा एमालेमा नफर्किने बताएका छन् । सोमबार केही अनलाइनले मन्त्री कुँवर नेकपा एमालेमा फर्किने तयारीमा रहेकोे समाचार सार्वजनिक गरेका थिए ।
सोमबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्री कुँवरको निजी सचिवालयले मन्त्री कुँवरलाई एमालेमा फर्किने कुनै पनि रहर नभएको बताएको छ । मन्त्री कुँवरको निजी सचिवालयले भनेको छ, ‘आफूलाई लोकप्रिय ठान्ने केही अनलाइनले मन्त्री कुँवरको राजनीतिक जीवनमा आँच आउने किसिमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । नियोजित तरिकाले प्रकाशित गरिएका कपोकल्पित समाचरमा कुनै सत्यता नभएको र यस्ता जनसमुदायमा भ्रम सिर्जना गर्ने खालका समाचारको पछि नलाग्न पनि हार्दिक अनुरोध गर्दछु ।’
मन्त्री कुँवर हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नं १ मा एकीकृत समाजवादीबाट उम्मेदवार भई १९ हजार ५३४ मत ल्याएर निर्वाचित भएका थिए । श्रममन्त्री कुँवर अछामबाट लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय नेता हुन् । मन्त्री कुँवर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, संगठन विभाग सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies