
काठमाडौं : नुवाकोटकी मीना रानालाई माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (मैलुङ)मा कार्यरत श्रीमान् विनय रानामगरको जीवित उद्धार हुन्छ कि भन्ने आशा छ । गत भदौ १० गते आएको भोटेकोशी बाढीपछि विनय सुरुङभित्रै फसेको आशंका छ ।
अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुईजनाको जीवित उद्धार भएपछि मीनाको आशा पलाएको हो । उनका श्रीमान्सहित सातजना सो आयोजनामा बेपत्ता छन् । तर, सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीमा सरकारले ढिलाइ गरेको उनको गुनासो छ ।
श्रीमान् बाढीमा बेपत्ता भएको खबर पाएपछि उनी शुक्रबार मात्रै दुबईबाट नेपाल आएकी थिइन् । नेपाल आएपछि उनी उद्धारका लागि सम्बन्धित निकाय धाउन थालेकी छन् । ‘१० दिनसम्म पनि सुरुङभित्र मानिसहरू जीवितै हुनुहुँदो रहेछ, खोजी कार्यमा सरकारले किन ढिलाइ ग¥यो ?’ उनी प्रश्न गर्छिन् ।
श्रीमान् सुरुङभित्रै फसेको पीडासँगै उद्धारमा भएको ढिलाइले आफूलाई आक्रोशित बनाएको उनी बताउँछिन् । चाँडै खोजी भए श्रीमान्को जीवितै उद्धार हुने आशामा उनी छिन् । खोजीका लागि आग्रह गर्दै मीना नेपाली सेना र नेपाल प्रहरीका कार्यालय धाइरहेकी छिन् । ‘श्रीमान्को चाँडै खोजी गरिदिनू भन्दै सरकारका निकायमा पुगिसकेका छौं, खोजी गर्छौं भन्छन्, तर १३ दिन बितिसक्यो,’ उनले भनिन् ।
श्यामनारायण साहको खोजीका लागि उनका भाइ प्रभुनारायण सुनसरीबाट काठमाडौं आएका छन् । बेपत्ता भएको १० दिनसम्म पनि कुनै पत्ता नलागेपछि दाइको खोजीका लागि शुक्रबार उनी रसुवा हिँडे । सरकारले सुरुङभित्र फसेकाहरूको उद्धारमा ढिलाइ गरेकोभन्दै उनी आफैं खोजीमा निस्किएका थिए ।
रसुवाको सूर्यविनायक गाउँपालिकासम्म पुगेपछि सडक अवरुद्धका कारण उनी फर्किए । अहिले माइतीघर मण्डलाबाट सरकारलाई दबाब दिइरहेका छन् । ‘सरकारले सुरुङभित्र बेपत्ता भएकाहरूलाई खोजी गर्न ढिलाइ ग¥यो, १३ दिन बितिसक्दा पनि हामीलाई आफ्ना मान्छेको कुनै जानकारी छैन,’ उनी भन्छन् ।
सरकारले सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीमा लापरबाही गरेको उनको आरोप छ । ‘१०/१२ दिन बितिसक्दा पनि जीवितै भेटिएका छन्,’ उनले भने, ‘सरकारले खोजी कार्यमा किन ढिला ग¥यो ? हामीलाई कि लास चाहियो कि सास चाहियो ?’
पीडित परिवारले ढिलाइ गरेको भन्दै सरकारप्रति आक्रोश पोख्न थालेका छन् । बाढीमा बेपत्ता भएकाका कतिपय आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिरहेका थिए । कतिपयले भने आफन्त जीवितै उद्धार हुने आशामा किरियाकर्मसमेत रोकेका छन् ।
‘सुरुङभित्र खोजी तीव्र छ, धैर्य गर्नुस्’
सरकारले भने सुरुङभित्र खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीका अनुसार सुरुङभित्र खोजी कार्य तीव्र पारिएको छ ।
‘सशस्त्र प्रहरी, नेपाली सेनासहितको टिमले त्रिशूली ३ ‘ए’मा दुईजनाको उद्धार गर्यो, एकजनाको शव निकालिसकेका छौं । त्रिशूली ३ ‘बी’मा पनि नियमित रूपमा खोज तथा उद्धारको कार्य भइरहेको छ,’ उनले भने, ‘अन्य सुरुङमा नेपाली सेनालगायतका विज्ञ टोली खटिनुभएको छ ।’
खोजी कार्य नसकिएसम्म बेपत्ताका आफन्तले आशा राख्नु स्वाभाविक भएको कार्की बताउँछन् । सुरुङबाट बेपत्ता भएकाहरूको खोजी जारी रहेकाले धैर्य गर्न उनले आफन्तलाई आग्रह गरेका छन् ।
‘यो एउटा अकल्पनीय विपद् हो । यहाँ बाढी कहिले आउँछ भनेर हाइड्रोपावर बनाउनेले न कहिल्यै सोच्नुभएको थियो, न त हामी सुरक्षा फौजले नै सोचेका थियौं,’ उनले भने, ‘यति ठुलो चुनौतीसँग सामना गर्ने खालको हामीसँग मानसिक, भौतिक रूपमा तयारी थिएन । भौतिक रूपमा उपलब्ध स्रोतसाधनले हामी रातदिन नभनी नियमित रूपमा लागिरहेका छौं, हाम्रो प्रयास जारी छ ।’
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चीन, भारत र कोरियाका विज्ञ टोलीले माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्य गरिरहेको उनले जानकारी दिए ।
सम्र्पकविहिनका परिवारको माइतीघरमा प्रदर्शन
यसैबीच, माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार तथा खोजी कार्यलाई प्राथमिकता दिन माग गर्दै आफन्तहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । सोमबार हाइड्रोमा फसेकाका आफन्तले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाए ।
सरकारले आफैं खोजी कार्यमा चासो नदिएको र आफन्तलाई पनि खोजीका लागि जान नदिएको उनीहरूको गुनासो छ । रसुवा बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । बाढीले आयोजनालाई पूर्ण रूपमा क्षति गरेको छ । सरकारले उद्धार तथा खोजीका लागि उक्त आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन नसकेको र उद्धार कार्य कठिन रहेको बताउँदै आएको छ । तर, पीडितहरूले उद्धारमा कठिनाइ छ भन्दैमा सरकार पन्छिन नमिल्ने बताएका छन् ।
प्रभावित परिवारकी सुमना श्रेष्ठ अमात्यले त्रिशूली–३ ‘बी’मा कार्यरत कर्मचारी तथा कामदारको खोजी कार्यमा सरकारले तदारुकता नदेखाएको बताइन् । उनका श्रीमान् वरिष्ठ भूगर्भविद् सुमेश अमात्य हाल सम्पर्कविहीन छन् । गृह मन्त्रालयमा गएर पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएको उनको आरोप छ । सरकारले हेलिकप्टरबाट उपकरण ओसारेर उद्धार गर्नुपर्नेमा कुटो–कोदालो लिएर पठाएको उनी बताउँछिन् ।
सरकारले हराएकाहरू जीवित भए जीवित र नभए शव भए पनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडितहरूको भनाइ छ । हेलिकप्टरलगायत उपयुक्त उपकरण लगेर तत्काल उद्धार कार्यलाई तीव्रता दिन उनीहरूले माग गरेका छन् । बाढी गएको लामो समयसम्म पनि उद्धार हुन नसक्नु सरकारको लाचारीपन भएको पीडितहरूको भनाइ छ ।
सुरुङमा १२१ जना मात्रै फसेका छन् : सेना
नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेको बताएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार, रसुवागढीमा पाँच, लाङटाङमा सात, चिलिमेमा सात, माथिल्लो त्रिशूली–१ मा करिब ५० र त्रिशूली–३ ‘ए’मा करिब ४२ गरी करिब १२१ जना सुरुङभित्र रहेका छन् ।
त्रिशूली–३ ‘बी’मा हराएका सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका व्यक्ति नभएको उनले बताए । विभिन्न परियोजनासँग आबद्ध सबै व्यक्ति सुरुङभित्र फसेका हुन् भनेर बुझ्न नहुने सेनाको भनाइ छ । ‘परियोजनाहरूबाट टनेललगायत कार्य र सम्पूर्ण हेर्दाखेरि नौ सयको हाराहारीमा सम्पर्कविहीन देखाए पनि त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू हुन्,’ उनले भने ।
नेपाली सेनाले सुरुङमा खोज तथा उद्धार कार्य जारी रहने जनाएको छ ।