
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनले अघि सारेका नागरिक अधिकार, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र समतामूलक समृद्धिका एजेन्डाबाट आफ्नो पार्टी पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले एक वर्षअघि भएको आन्दोलनलाई नयाँ राजनीतिक जागरणको रूपमा व्याख्या गरेका हुन् । उनले लामो समयदेखि कायम भ्रष्टाचार, राजनीतिक भागबन्डा, संस्थागत कमजोरी, नागरिक अधिकारमाथिका नियन्त्रण तथा अवसरको अभावले सिर्जना गरेको निराशाका कारण युवा पुस्ता सडकमा आउनुपरेको बताएका छन् ।
आन्दोलनका क्रममा भएको मानवीय क्षतिलाई स्मरण गर्दै लामिछानेले परिवर्तनको माग राखेर सडकमा उत्रिएका युवाले ज्यान गुमाउनु अत्यन्त पीडादायी भएको उल्लेख गरेका छन् । उनले भदौ २३ र २४ गते भएका घटनाबाट भविष्यमा त्यस्तो अवस्था दोहोरिन नदिनुपर्नेमा जोड दिएका छन् ।
नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजका लागि आवाज उठाउने क्रममा जीवन गुमाएका आन्दोलनकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि सम्मान व्यक्त गरेका छन् । आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत उनले गरेका छन् ।
लामिछानेले राजनीतिप्रति उदासीन भनिएको युवा पुस्ता सडकमा आएर स्थापित राजनीतिक अभ्यासप्रति असहमति व्यक्त गरेको बताए । उनका अनुसार जेनजी आन्दोलनले उठाएका प्रश्नकै कारण वैकल्पिक राजनीतिक शक्तिलाई थप जिम्मेवार बन्ने अवसर प्राप्त भएको हो ।
आन्दोलनपछि रास्वपा सत्तामा पुगेको सन्दर्भ उल्लेख गर्दै उनले सडकबाट युवाहरूले उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले आफ्नो पार्टीसामु आएको बताएका छन् । साथै, भविष्यमा फेरि नागरिकले सरकार तथा राजनीतिक दलसँग जवाफ माग्ने अवस्था आउने भएकाले निरन्तर खबरदारी र कार्यसम्पादनको समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।
लामिछानेले युवा, नागरिक समाज तथा आम नागरिकलाई सरकार र राजनीतिक दलका कामप्रति रचनात्मक निगरानी कायम राख्न आग्रह गरेका छन् । नागरिक असन्तुष्टिलाई निराशाको स्थायी मनोविज्ञानमा परिणत हुन नदिई त्यसलाई राष्ट्र निर्माणको ऊर्जामा बदल्नुपर्ने उनको धारणा छ ।
जेनजी आन्दोलनले अघि सारेको परिवर्तनको आकांक्षालाई संस्थागत गर्ने क्रममा विधिको शासन, समानतामा आधारित समृद्धि र राष्ट्रिय स्वाभिमानलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउने उल्लेख गर्दै लामिछानेले आन्दोलनले देखाएको बाटोबाट आफूहरू पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।