
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई पुराना राजनितिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएका छन् ।
जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले इतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिए । जेनजी आन्दोलन नेपालको एतिहासिक इतिहास भएको दाबी गर्दै उनले इतिहासको अपव्याख्या गर्ने छुट कसैलाई नभएको बताए ।
उनले पुराना राजनीतिक शक्तिहरूलाई ‘सुध्रिन’ चेतावनी दिए । जेनजी आन्दोलनलाई अपमान ३ करोड नेपाली जनतालाई अपमान भएको उनको दाबी छ । गृहमन्त्री गुरुङले पुराना राजनीतिक सोच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताए । उनले पुराना दलका नेताहरूलाई समयमा नै आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गरे ।
उनले जेनजी आन्दोलन सत्ताप्राप्ति वा शक्तिको लोभमा नभएको दाबी गरे । भदौ २३ गतेको आन्दोलनमा युवाहरू सुशासनको पक्षमा उभिन सडकमा आएको उनले बताए । शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएका कारण भदौ २४ गतेको घटना भएको उनले दाबी गरे । तर हाल भदौ २४ गतेलाई मात्रै केन्द्रमा राखेर प्रचार भइरहेको उनको भनाइ छ ।
उनले मान्छे रहे मात्रै देश रहने बताए । जेनजी आन्दोलनलाई नकरात्मक बनाउन देश जलाएको भाष्य जबरजस्ती सिर्जना गर्न खोजेको उनको आरोप छ ।