
टोकियो : जापानको फुकुओकामा हत्या गरिएकी नेपाली युवती लक्ष्मी राजवंशीको हत्या आरोपमा तीन जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुकुओका सहरको हाकातामा बस्ने तथा एक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अस्मिता तामाङ र सोही सहरमा बस्ने विद्यार्थी २२ वर्षीय प्रबिन लामा रहेको जापान प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रबिन लामा र पक्राउ परेकी सन्जु तामाङ एउटै घरमा बस्दै आएको तथ्यसमेत खुलेको छ ।
पक्राउ परेका तीनै जनालाई अनुसन्धान प्रहरीले आरोपित देखाए पनि उक्त हत्या उनीहरूले नै गरेको प्रमाणित भने गरेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।
अगस्ट १९ तारिख बिहानको समयमा राजवंशी फुकुओकाको तेन्जिङ नजिकैको नदीमा मृत अवस्थामा भेटिएकी थिइन् । उनलाई एक यात्रुले पानीमाथि तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै उक्त घटना हत्या भएको निष्कर्ष निकालेको थियो ।
२५ वर्षीया लक्ष्मी राजवंशी सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान आएकी थिइन् । अनुसन्धानमा खटिएका जापान प्रहरीका अनुसार राजवंशीको टाउको र अनुहारमा गम्भीर चोट देखिएको थियो । उनलाई धारिलो वस्तुले काटिएको जस्तो देखिने घाउहरू थिए ।
उनको बस्ने कोठामा रगतका दागहरू फेला पर्नुका साथै उनले हत्यारासँग बच्नका लागि ठूलो संघर्ष गर्नुपरेको जस्ता प्रमाणहरू भेटिएको पनि अनुसन्धान प्रहरीलाई उद्धृत गर्दै जापानको क्योदो न्यूजले समाचारमा जनाएको छ । यो घटनाले जापानमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ । मृतकका परिवारले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरिरहेका छन् ।