२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

प्रधानमन्त्रीको पक्राउ आदेशबाट बचिन्, ग्यास विवादमा फसिन्

Nada
जीवन शर्मा
२०८३ भदौ २५ गते १५:०७
Shares
प्रधानमन्त्रीको पक्राउ आदेशबाट बचिन्, ग्यास विवादमा फसिन्

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफैं राजीनामा दिएकी छन् । उद्यमी–व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिएर विवादमा तानिएकी मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

ncell

बुधबार संसद्को उद्योग समितिमा मन्त्री यादवले ग्यास अभाव हुनुमा उद्यमी–व्यवसायीको बदमासी प्रमुख कारण रहेको भन्दै व्यवसायीलाई पाता फर्काउनुपर्ने बताएकी थिइन् । कर्मचारीले समेत आफूलाई सहयोग नगरेको तथा करोडौँ पैसा दिएर लाइसेन्स दिएको बताउँदै उनी विवादित बनेकी थिइन् । एक महिनाभन्दा बढी समयदेखि काठमाडौंमा खाना पकाउने ग्यासको हाहाकार छ । सरकारले व्यवस्थापन गर्न नसक्दा नागरिकलाई खाना पकाएर खानै समस्या हुन थालेको छ । यस्तो अवस्थामा ग्यास व्यवसायी र सरकार मिलेर समस्या समाधानका उपाय खोज्नुपर्नेमा मन्त्री यादवले कर्मचारी र व्यापारीलाई आरोप लगाएकी थिइन्, जसपछि उनी विवादमा आएकी हुन् । यादवलाई सरकारबाटै राजीनामाको दबाब आएको बताइएको छ ।

यसअघि उनलाई पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र मूल्य समायोजनको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्री यादवलाई पक्राउ गर्न आदेश दिएका थिए । गत चैत २७ गते मन्त्री बनेकी यादवले पेट्रोलको मूल्य बढ्दा सूचना चुहाएको आरोप छ । त्यसबेला पेट्रोल नियमित आपूर्ति भए पनि लामो समयदेखि अभाव र मूल्य वृद्धिको चर्को मारमा उपभोक्ता परेका थिए ।

पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्बन्धी सूचना चुहाएको आशंकामा त्यसै दिन नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धान विभागलाई पनि मन्त्री यादवको अवस्थाबारे बुझ्न भनिएको थियो । असार १६ गते नै पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएपनि त्यसबेला उनलाई पार्टी सभापति रवि लामिछानेले जोगाएका थिए । प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई मन्त्री हेरफेरको प्रस्ताव गरेर यादवलाई हटाउन खोज्दा पनि लामिछानेको अनिच्छाले उनी जोगिएकी थिइन् । अहिले उनी आफैंले राजीनामा दिएर मार्ग प्रशस्त गरेको उद्योग मन्त्रीको सचिवालयले जनाएको छ ।

लामो समयदेखि ग्यासको आपूर्ति सहज हुन नसकेको अवस्थामा पछिल्लो पटक कृष्णभिरमा पहिरो गएपछि थप प्रभावित बनेको थियो । एकातिर रसुवाको बाढीको विपत्ति, अर्कोतिर उपभोक्ताले ग्यास नपाएपछि सरकारको चर्को आलोचना हुँदै आएको छ । बुधबारको समिति बैठकमा मन्त्री यादवले कर्मचारीले समेत आफूलाई असहयोग गर्दा केही काम गर्न नसकेको भन्दै कर्मचारीहरू उद्योगीको इसारामा मात्र चल्ने गरेको आरोप लगाएकी थिइन् ।

उनले धेरैमा दुईटा भन्दा बढी ग्यास उद्योग नचाहिने पनि बताएकी थिइन् । ‘सबै उद्योग खारेज गर्नुपर्छ । मैले धेरै अगाडिसम्म गएर बोलें, किनभने म यो देशलाई हाँसेको हेर्न चाहन्छु, यसले मलाई धेरै प्रभाव पनि पार्छ, मलाई थाहा छ,’ उनले समितिमा बोलेको विषयले आफूलाई नराम्रो बनाउने थाहा भएको समेत बताएकी थिइन् । मन्त्री यादवको उक्त अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, ग्यास उद्योगी लगायतले आपत्ति जनाएका थिए । यसप्रति पार्टी र प्रधानमन्त्री समेत मन्त्री यादवप्रति सन्तुष्ट थिएनन् । उनी आफैंले राजीनामा नदिएको भए पनि प्रधानमन्त्रीले फिर्ता बोलाउन सक्ने अवस्थामा पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर