२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

आजबाट ‘क्रिकेट कुम्भ’

Nada
दिवाकर अधिकारी
२०८३ कार्तिक ९ गते ०६:३०
Shares
आजबाट ‘क्रिकेट कुम्भ’

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदै छ । साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे उद्घाटन खेल हुनेछ ।

ncell

कात्तिक ९ देखि मंसिर ५ गतेसम्म चल्ने लिगमा लिग चरण, प्लेअफका तीन खेल र फाइनलसहित ३२ खेल हुनेछन् । दिउँसो हुने खेल साढे १२ बजे सुरु हुनेछ भने रातिका खेल ५ बजे हुनेछ । एनपिएलका सबै खेल नेपालमा स्टार स्पोर्ट्ससँगै हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछन् भने अनलाइन दर्शकका लागि नेटटिभी ओटिटी प्लेटफर्ममार्फत उपलब्ध हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलको तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य यसअघि नै सार्वजनिक गरिसकेको छ । क्यानले लिग चरणका खेलका लागि साधारण टिकट पाँच सय रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । गत बिहीबार साँझदेखि बिक्री खुला गरिएको उद्घाटन खेलको टिकट पनि सोल्ड आउट भइसकेको छ ।

आइतबार कीर्तिपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै क्यानले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको स्पष्ट पारे । खड्काका अनुसार यो प्रतियोगिता आइसिसीबाट आधिकारिक स्वीकृति प्राप्त भएकाले यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय स्तरमै पर्नेछ ।

सचिव खड्काले भने, ‘प्रतियोगिताको करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट स्वीकृति प्राप्त भएसँगै प्रतियोगिताको जिम्मेवारी पनि बढेको छ । यो प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय, स्वयंसेवक, टोली सञ्चालक, सरोकारवाला तथा सञ्चारमाध्यमबाट प्राप्त सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’

एनपिएलको तेस्रो संस्करणबाट क्यानअन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले एनपिएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । टिकेटिङलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपिएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने उनको भनाइ छ । फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताए । यसअनुसार एनपिएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान रहेको उनले बताए ।

खड्काले एनपिएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक बन्दै गएको बताए । गभर्निङ काउन्सिल, क्यानका पदाधिकारी, जिल्ला तथा प्रदेश क्रिकेट संघ, सञ्चारमाध्यम, प्रायोजक र आठवटै फ्रेन्चाइज टोलीका मालिकहरूको योगदानले एनपिएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ । उनले एनपिएलमा उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डिआरएस)लगायत प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको बताए ।

एनपिएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्‍याउने अपेक्षा क्यानले गरेको छ ।

यता एनपिएलको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएर काम सुरु गरिसकेको छ । जसअन्तर्गत दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । एनपिएलका लागि विभिन्न भागमा वर्गीकरण गरेर सुरक्षा तय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खेलाडीसँगै उनीहरू बस्ने होटल, होटलबाट स्टेडियम जाँदा–आउँदाको सुरक्षा, ट्राफिक व्यवस्थापन, स्टेडियम तथा दर्शकको सुरक्षा सबैका लागि योजना तयार रहेको प्रहरीले जनाएको छ ।

परिसरका अनुसार सिसिटिभीका साथै ड्रोनमार्फत पनि सुरक्षा निगरानी गरिने छ भने डग स्निफिङसमेत गरिनेछ । नेपाल प्रहरीबाहेक बाह्य सुरक्षा घेरामा सशस्त्र प्रहरी पनि खटिने परिसरले बताएको छ ।

आइसिसीको मान्यता, डिआरएसको प्रवेश

एनपिएलको तेस्रो संस्करणलाई आइसिसीले आधिकारिक मान्यता दिइसकेको छ । यसअघिका दुई संस्करणलाई भने आइसिसीले आधिकारिक मान्यता दिएको थिएन । सन् २०२६ अक्टोबर १६ मा प्राप्त मान्यतासँगै तेस्रो संस्करणका सबै खेलले आधिकारिक टी–२० मान्यता पाउनेछन् । यसको अर्थ प्रतियोगितामा खेलाडीले बनाएका रन, लिएका विकेट र स्थापित गरेका व्यक्तिगत कीर्तिमान आधिकारिक टी–२० करियर तथ्यांकमा गणना हुनेछन् । 

आधिकारिक मान्यताले एनपिएलको विश्वसनीयता बढाउँछ, अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गर्छ र नेपाली खेलाडीको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेट अभिलेखमा जोड्छ । यसले विदेशी टोली, प्रशिक्षक र प्रतिभा खोज्ने विश्लेषकको ध्यान नेपाली खेलाडीमा पर्न सक्ने सम्भावना पनि बढाउँछ ।

यस्तै, तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ । डिआरएसको प्रयोगले खेलका क्रममा अम्पायरबाट हुने निर्णयलाई पुनरावलोकन गर्न सकिनेछ । यसले खेलको निष्पक्षता बढाउनुका साथै निर्णय प्रक्रियालाई थप व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।

डिआरएस क्रिकेटमा प्रयोग हुने आधुनिक प्रविधि हो । खेलका क्रममा अम्पायरले दिएको निर्णयप्रति चित्त नबुझेमा सम्बन्धित टोलीले पुनरावलोकन माग गर्न सक्छन् । यस्तो व्यवस्थाले गलत निर्णय सच्याउन सहयोग पुग्नुका साथै बलिङ टोलीलाई विकेट प्राप्त गर्न र ब्याटिङ टोलीलाई गलत निर्णयका कारण गुमेको विकेट जोगाउन अवसर दिन्छ ।

क्यानका अनुसार एनपिएलमा एलबिडब्लु (लेग बिफोर विकेट)सम्बन्धी निर्णय पुनरावलोकन गर्न फुल थ्रिडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ । यसका अतिरिक्त रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि समीक्षा गर्न सकिनेछ । त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई)को माध्यमबाट ब्याटमा बल लागेको छ वा छैन भन्ने एज डिटेक्सन सुविधा पनि उपलब्ध हुनेछ । हाइटका आधारमा वाइड बलको विश्लेषण, छक्का प्रहार भएको बलको दूरी र उचाइ मापन तथा बलिङसम्बन्धी अन्य विश्लेषणात्मक तथ्यांकसमेत उपलब्ध हुने क्यानले जनाएको छ ।

प्रत्येक टोलीले एक इनिङमा दुईवटा असफल पुनरावलोकन लिन पाउनेछ । क्यानका सचिव खड्काले यस प्रविधिको लागत करिब डेढदेखि दुई करोड रुपैयाँ पर्ने बताएका छन्, जसलाई क्रिकेट संघ र आठ टोलीले साझेदारी गर्नेछन् ।

विदेशी खेलाडीको आकर्षण

एनपिएलको यस सिजमा सबैभन्दा ठुलो आकर्षण विदेशी खेलाडीको सहभागिता हो । अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा आफ्नो छाप छाडेका खेलाडीहरूले एनपिएलमा सहभागिता जनाउँदै छन् । आइपिएलमा खेलेका र विश्वका विभिन्न टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले एनपिएल खेल्नेछन् ।

विराटनगरको स्क्वाडमा वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल, श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंकाजस्ता खेलाडी छन् भने जनकपुरतर्फ इंग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जिमी निसमजस्ता चर्चित खेलाडी रहेका छन् । चितवनको तर्फबाट सिकन्दर राजा र रवि बोपाराजस्ता अनुभवी खेलाडी तथा पोखराको तर्फबाट शाकिब अल हसन, महेदी हसन मैदान उत्रनेछन् । लुम्बिनी लायन्समा बंगलादेशका ब्याटिङ अलराउन्डर शामिम हुसेन तथा अमेरिकाका अनुभवी अलराउन्डर साड्ली भान स्काल्कविकजस्ता चर्चित खेलाडी छन् भने कर्णाली याक्सको स्क्वाडमा दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेभिड मिलर, पाकिस्तानका साहिबजादा फरहानजस्ता चर्चित खेलाडी रहेका छन् । काठमाडौं गोर्खाजबाट अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर र अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टोजस्ता खेलाडी छन् । सुदूरपश्चिम रोयल्सले भने सेरफेन रदरफोर्ड, स्कट कुगेलाइनजस्ता चर्चित खेलाडीलाई अनुबन्धन गरेको छ ।

विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् भने जनकपुर बोल्ट्स अमेरिकी अलराउन्डर हरमित सिंहको कप्तानीमा मैदान उत्रिँदै छ । चितवन राइनोज कुशल मल्ल, काठमाडौं गोर्खाज करण केसी, पोखरा एभेन्जर्स कुशल भुर्तेल, लुम्बिनी लायन्स रोहित पौडेल, कर्णाली याक्स सोमपाल कामी र सुदूरपश्चिम रोयल्स दीपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रनेछन् ।

विदेशी खेलाडी

कर्णाली याक्स
डेभिड मिलर (दक्षिण अफ्रिका)
साहिबजादा फरहान (पाकिस्तान)
आरिफुल इस्लाम (बंगलादेश)
मार्क वाट (स्कटल्यान्ड)
मोहम्मद अकबर अली (बंगलादेश)
हुसेन तलत (पाकिस्तान)

काठमाडौं गोर्खाज
डेभिड वार्नर (अस्ट्रेलिया)
केएस भरत (भारत)
सहान अराच्चिगे (श्रीलंका)
स्मित पटेल (अमेरिका)
विलियम बोसिस्टो (अस्ट्रेलिया)

विराटनगर किंग्स
आन्द्रे रसेल (वेस्ट इन्डिज)
एन्जेलो माथ्युज (श्रीलंका)
चरिथ असलंका (श्रीलंका)
सुभम रन्जने (अमेरिका)

जनकपुर बोल्ट्स
जिमी निसम (न्युजिल्यान्ड)
मोइन अली (इंग्ल्यान्ड)
हरमित सिंह (अमेरिका)
इफ्तिखार अहमद (पाकिस्तान)
हुनाइन शाह (पाकिस्तान)

सुदूरपश्चिम रोयल्स
सेरेफन रदरफोर्ड (वेस्ट इन्डिज)
फेबियन एलेन (वेस्ट इन्डिज)
ब्रान्डन म्याकमुलन (स्कटल्यान्ड)
सैफ अली जेब (इंग्ल्यान्ड)
स्कट कुगेलेइन (न्युजिल्यान्ड)

चितवन राइनोज
सिकन्दर राजा (जिम्बाब्वे)
कलिम साना (क्यानडा)
रवि बोपारा (इंग्ल्यान्ड)
उसामा मिर (पाकिस्तान)
कामिल मिसारा (श्रीलंका)

लुम्बिनी लायन्स
डार्सी सर्ट (अस्ट्रेलिया)
डिकवेला निरोगन (श्रीलंका)
रुबेन ट्रम्पलमेन (नामिबिया)
च्याडले भान साल्कविक (अमेरिका)
समिम होसेन (बंगलादेश)

पोखरा एभेन्जर्स
साकिब अल हसन (बंगलादेश)
चमिका करुणारत्ने (श्रीलंका)
धनञ्जय लक्षण (श्रीलंका)
महेदी हसन (बंगलादेश)
मोहम्मद सैफुद्दिन (बंगलादेश)

सम्बन्धित खबर