
काठमाडौं : धनुषाको मिथिला बिहारी नगरपालिका–४ भरतपुरका ३५ वर्षीय उमेश यादव वैदेशिक रोजगारीबाट घर फर्किएको केही महिनायता श्रीमती रीनादेवी यादवसँग उनको दिनहुँ झगडा हुन थाल्यो । विवाद बढ्दै गएपछि रीना चार वर्षीय छोरालाई लिएर मिथिलेश्वरस्थित माइतीघरमा बस्न थालिन् ।
घरको विवाद माइतीसम्मै पुग्यो । शनिबार साँझ उमेश ससुराली पुगे । त्यहीँ भएको पारिवारिक विवादले आइतबार बिहान भयावह रूप लियो । उमेशले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरे । त्यसपछि उनले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी ओमप्रकाश खनालका अनुसार वैदेशिक रोजगारीबाट फर्किएपछि उमेश र रीनाबीच निरन्तर विवाद हुँदै आएको थियो । शनिबार मध्यराति पुनः विवाद भएपछि उमेशले रीनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘श्रीमान् वैदेशिक रोजगारीबाट आएको बुझिएको छ,’ खनालले भने, ‘श्रीमान्–श्रीमतीबीच दिनहुँ हुने घरझगडाका कारण यो घटना भएको देखिन्छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
उमेश र रीनाको विवादले ज्यानै जाने अवस्था सिर्जना हुँदा उनीहरूका चार वर्षीय छोरा पनि घाइते भएका छन् । बालकमाथि समेत धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते बालकको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक दम्पतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।
पारिवारिक सम्बन्धमा आएको दरारले धनुषाको जस्तै घटना गत वर्ष प्युठानमा पनि भएको थियो । प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा ३० वर्षीय लीलबहादुर बरालले चक्कु प्रहार गरी पूर्वपत्नी २८ वर्षीया रुक्मनी बरालको हत्या गरेका छन् । रोजगारीका लागि इजरायलमा रहेका बेला रुक्मनी अर्कै पुरुषसँग नजिकिइन् । उनले दोस्रो विवाहसमेत गरेको थाहा पाएपछि नेपाल फर्किएर हत्या गरेको बयान लीलबहादुरले प्रहरीसमक्ष दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार रुक्मनीले लीलबहादुर स्वदेश फर्किनुभन्दा केही महिनाअघि नै दीपक परियारसँग दोस्रो विवाह गरेकी थिइन् । लीलबहादुर २४ असार २०८२ मा नेपाल फर्किएका थिए ।
दीपक कामका लागि १५ दिनअघि संखुवासभा गएपछि रुक्मनी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन् । त्यही दिन लीलबहादुरले फोन गरेर उनलाई भेट्न बोलाएका थिए । रुक्मनी घरभित्र पुग्नेबित्तिकै उनले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ । प्रहरीलाई दिएको बयानमा लीलबहादुरले रुक्मनीलाई फकाएर घर फर्काउन खोजेको तर नमानेपछि हत्या गरेको स्वीकार गरेका छन् ।
शंकाले सम्बन्धमा दरार
पछिल्लो समय पुरुषसँगै महिला पनि वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न, घरखर्च चलाउन र बालबालिकाको शिक्षामा लगानी गर्न सहयोग पुर्याएको छ । तर, लामो समयसम्म श्रीमान्–श्रीमती अलग रहनुपर्ने अवस्था, आपसी अविश्वास र शंकाले सम्बन्धमा आउने दरारले कतिपय परिवारमा गम्भीर घटना निम्त्याउने गरेको छ ।
वैदेशिक रोजगारीसँग जोडिएका केही पारिवारिक विवादले हत्या र आत्महत्याजस्ता गम्भीर घटनासमेत निम्त्याएका छन् । विवाहेतर सम्बन्ध, सामाजिक सञ्जालको दुरुपयोग र आर्थिक कारोबारलाई लिएर उत्पन्न शंकाले कतिपय अवस्थामा हिंसात्मक रूप लिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीसँग वैदेशिक रोजगारीका कारण भएका हत्याको छुट्टै तथ्यांक छैन । तर, वैदेशिक रोजगारीमा गएका श्रीमान्–श्रीमतीबीचको विवादले गम्भीर रूप लिने गरेका घटना रहेको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले बताउँछन् । ‘वैदेशिक रोजगारीमा गएर राम्रो गृहस्थी चलाएका पनि धेरै छन्,’ उनले भने, ‘केही घटना हुनुमा विवाहेतर सम्बन्ध र सामाजिक सञ्जाल कारण बनेका छन् ।’
उनका अनुसार यी विषय घरेलु हिंसासँग पनि जोडिने गरेका छन् । श्रीमान् विदेशमा हुँदा श्रीमतीले घर निर्माण, जग्गा किनबेचलगायत काममा अन्य पुरुषसँग सम्पर्क गर्नुपर्ने अवस्थालाई लिएर कतिपयले शंका गर्ने र त्यही विवाद बढ्दै जाँदा हिंसात्मक घटनासम्म पुग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘श्रीमान्–श्रीमती रोजगारीका लागि टाढा भएका बेला सामाजिक सञ्जालमार्फत विवाहेतर सम्बन्ध राख्ने र पछि सम्बन्ध तथा सम्पत्ति दुवै गुमाएका घटना छन्,’ काफ्लेले भने, ‘ठुला–ठुला आपराधिक घटनासमेत भएका छन् ।’
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई पनि पारिवारिक कलहदेखि हत्यासम्मका घटनामा अविश्वास र विवाहेतर सम्बन्धलाई प्रमुख कारणका रूपमा लिन्छन् । उनका अनुसार सामाजिक सञ्जालको अनुचित प्रयोगले पनि वैदेशिक रोजगारीमा रहेका दम्पतीबीच विवाद बढाउने गरेको छ । ‘श्रीमान् रोजगारीमा गएको छ भने श्रीमती घरमा हुन्छ, श्रीमती रोजगारीमा गएको छ भने श्रीमान् घरमा हुन्छ,’ उनले भने, ‘यो अहिलेको बदलिँदो अवस्था हो । तर, सामाजिक सञ्जालका कारण पनि हत्यासम्मका घटना हुने गरेका छन् ।’
सामाजिक सञ्जालको व्यापक प्रयोग हुनुअघि पनि नेपाली पुरुष रोजगारीका लागि चार–पाँच वर्षसम्म लाहुर जाने चलन रहेको र महिलाले घरपरिवार सम्हाल्ने गरेको राई बताउँछन् । अहिले सामाजिक सञ्जालको जथाभावी प्रयोगले सम्बन्धविच्छेददेखि हत्यासम्मका घटना निम्त्याउने गरेको उनको भनाइ छ । ‘श्रीमान् वा श्रीमती वर्षौंसम्म टाढा रहँदा आपसी सामीप्य टुट्छ, जसले गर्दा परिवारमा शंका र अविश्वासको वातावरण सिर्जना हुन्छ,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग वा एक्लोपनका कारण थुप्रै घटनामा श्रीमान् वा श्रीमती अन्य व्यक्तिसँग नजिकिने र यसैका कारण लामो समयसम्म विवाद हुने गरेको पाइएको छ ।’
समाजशास्त्री डा. मीना पौडेल परिवार र समाजका सदस्यले सुनाउने नकारात्मक कुराले पनि वैदेशिक रोजगारीमा रहेका दम्पतीबीचको सम्बन्धमा दरार ल्याउन सक्ने बताउँछिन् । उनका अनुसार कतिपय अवस्थामा परिवारका सदस्यले श्रीमान्–श्रीमतीबीच अविश्वास बढाउने खालका कुरा गर्ने र उनीहरूको सम्बन्धमा दूरी बढाउने प्रवृत्ति देखिन्छ । ‘परिवारका अन्य सदस्यहरूले नकारात्मक कुरा सुनाउने र श्रीमान्–श्रीमतीको सम्बन्धमा दूरी बढाउने प्रवृत्ति समाजमा अझै पनि छ,’ उनले भनिन्, ‘दुवैजनालाई एक–अर्काको कुरा सुन्ने र बुझ्ने मौका नै दिइँदैन ।’