२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मन्त्रीहरूलाई प्रधानमन्त्रीको तीन महिने अल्टिमेटम, विकासको लहर ल्याउने चाहना

ADV
भावना पाठक
२०८१ साउन ३२ गते ०६:४०
मन्त्रीहरूलाई प्रधानमन्त्रीको तीन महिने अल्टिमेटम, विकासको लहर ल्याउने चाहना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लहर ल्याउने चाहना आफूमा रहेको बताएका छन् । यसअनुसार काम गर्न मन्त्री र सचिवहरूलाई उनको निर्देशन छ । 

बिहीबार मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाबारे ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने गरी काम गर्न तीन महिने अल्टिमेटम नै दिएका छन् । 

देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित तयारी गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन छ । 

बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शतप्रतिशत विकास खर्च गर्न सक्दा अर्थतन्त्र चलायमान हुने प्रधानमन्त्रीको विश्वास छ । 

उनले भनेका छन्, ‘हामी जागिर खाइरहेका छैनौँ । हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ भावी सन्ततिका लागि काम गरिरहेका छौँ ।  हाम्रो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन ।’ 

सरकारको लक्ष्य निर्धारण काल्पनिक हुन नहुनेमा प्रधानमन्त्री ओलीको जोड रहेको छ । उनले लक्ष्य निर्धारण वस्तुगत हुनुपर्ने बताएका छन् । पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरू कमजोर राखिन नहुने उनले बताए । कठिन मेहनतका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुको विकल्पन नरहेको उल्लेख गर्दै उनले अबका तीन महिनामा इतिहासका अरू कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरियो भन्ने देखिनुपर्ने बताएका हुन् । 

डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्नमा प्रधानमन्त्री ओलीको ध्यान छ ।

एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न प्रधानमन्त्रीको निर्देशन छ ।

रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउनुपर्नेमा ओलीको जोड छ । 

प्रधानमन्त्रीका नाममा नभएर जनताका नाममा कार्यक्रम राखिनुपर्नेमा पनि उनको जोड रहेको छ ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीसँग रोजगार जस्ता कार्यक्रम ठूला पदका नामबाट राखियो । यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन् । यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु । नयाँपन दिने गरी काम गर्नुहोस् ।’ 

मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र  कृषि उपजको निर्यात हुने गरी आधार तय गर्न आवश्यक रहेको उनले निर्देश गरे । ‘गरिबलाई कानुन देखाएर मात्रै हुँदैन, उनीहरुलाई केन्द्रमा राखेर विकासका कार्यक्रम तय गर्न सकियो भने मात्रै अर्थपूर्ण रहन्छ’ प्रधानमन्त्री ओलीले भनेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise