
काठमाडौँ : तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ ।
दिउँसोपछि काठमाडौँको मौसममा अचानक परिवर्तन आई वर्षा सुरु भएको हो । उपत्यकाका बुढानीलकण्ठ, कपन, काँडाघारी, गौशाला, चाबहिल लगायतका स्थानमा असिनासहितको वर्षा भएको छ ।
वर्षाका कारण भाइटीकाको दिन आवतजावत गर्ने सर्वसाधारण तथा दिदीबहिनी र दाजुभाइहरू प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
सोही मौसमी प्रणालीका कारण काठमाडौँसहित पहाडी भूभागमा बदली र वर्षा भएको हो । महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै, अन्य पहाडी भूभाग तथा मधेश प्रदेशमा पनि आंशिक बदली रहने र बाँकी तराई भूभागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।