काठमाडौं : दक्षिण कोरियाले आगामी वर्ष ४० हजार नेपाली रोजगारीमा लैजाने बताएको छ । डिसेम्बर ९ तारिखमा सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को एशिया प्यासिफिक क्षेत्रीय बैठकमा नेपालको तर्फबाट भाग लिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्याल र दक्षिण कोरियाका डेपुटी मिनिस्टर फर इम्प्लोइमेन्ट पार्क जान्कयुपीलबीचको छलफलमा कोरियाले उक्त जानकारी दिएको हो ।
यस वर्ष उक्त मुलुकले नेपालबाट उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ जना गरी ९ हजार ६ सय ५४ जना कामदार लैजाने कोटा निर्धारण गरेको छ ।
छलफलमा नेपालबाट नियमितरुपमा ईपीएस प्रणालीबाट पठाइएका कामदारलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने, ईपीएस श्रम सम्झौता नवीकरण गर्ने, नेपालीमा बन्दै गरेकोे ह्युमन रिसोर्स सेन्टर भवनको उद्घाटन, कोरिया जाने मौसमी कामदारलगायतका विषय उठेको मन्त्रालयका प्रवक्ता डुण्डुराज घिमिरेले बताएका छन् ।
त्यसैगरी सचिव अर्यालले साउदी अरेबियाका श्रम नीति सम्बन्धित उप–श्रम मन्त्रीसँग नेपाली कामदारका समस्याका विषयमा छलफल गरेका छन् । मन्त्रालयले साउदी रोजगारदाताहरूले नेपाली कामदार समस्यामा पारेको विषय र श्रम सम्झौताका विषयमा साउदी समकक्षीसँग छलफल भएको बताएको छ ।
त्यसैगरी सचिव अर्यालले यूएईको दुरसञ्चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सहायक उपसचिव अल अवाधी श्यामसँग पनि छलफल गरेका छन् । यूएईसँगको श्रम सम्झौता नवीकरण तथा घरेलु कामदारको विषयमा छलफल भएको र जवाफमा यूएईले आफ्नो मुलुकले काफला प्रणाली खारेज भएकोले कुनै पनि विदेशी कामदार ठगिनुपर्ने अवस्था नरहेकोले घरेलुु कामदार पठाउन आग्रह गरेका छन् ।
बैठकमा मन्त्रालयका सचिव अर्यालको नेतृत्वमा सहसचिव घिमिरे, उपसचिव विष्णु लामिछाने, रोजगारदाताको तर्फबाट रामचन्द्र संघाई, हंशराज पाण्डे, ट्रेड युनियनको तर्फबाट ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनाल, ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादव, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडा, पेशागत महासंघका उपाध्यक्ष गम्भीरलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक गिल्बर्ट एफ होउन्ग्बो र एशिया प्रशान्त क्षेत्रीय कार्यालयका असादमियाकावा, सिंगापुरका म्यानपावर मन्त्री डा. तानसि लेङ लगायतसँग पनि भेटघाट भएको मन्त्रालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies