२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

स्वास्थ्य विभागका तत्कालीन वरिष्ठ प्रशासक डा. सापकोटाविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा

Nada
२०८३ असोज २ गते १७:०६
Shares
स्वास्थ्य विभागका तत्कालीन वरिष्ठ प्रशासक डा. सापकोटाविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक (तत्कालीन दशौं तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ncell

डा. सापकोटाले सार्वजनिक सेवाका क्रममा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार डा. सापकोटा सेवा प्रवेश गरेको मिति २०५३ साल साउन २५ देखि २०८० साल वैशाख ३० गतेसम्मको अवधि (जाँच अवधि) लाई आधार मानी उनको आय तथा व्ययको अनुसन्धान गरिएको थियो ।

जाँच अवधिमा डा. सापकोटा तथा उनको परिवारको वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा रहेको थियो । यसमा पारिश्रमिक/तलव बचत, विभिन्न भत्ता, जग्गा तथा शेयर बिक्री, घरबहाल, बैंक ब्याज, ऋण कर्जा, कृषि आय लगायतका वैध स्रोतहरू समावेश छन् ।

यस्तै सोही अवधिमा कुल खर्च तथा लगानी ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा देखिएको अख्तियारले जनाएको छ । यसमा घर-जग्गा खरिद तथा निर्माण, सवारी साधन, शेयर खरीद, अध्ययन, बीमा प्रिमियम, विदेश भ्रमण, आमाको हेरचाह तथा बैंक मौज्दात आदि समावेश छन् ।

कुल आयभन्दा कुल खर्च तथा लगानी घटाउँदा आय स्रोत नखुलेको २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको अख्तियारको निष्कर्ष छ ।

अख्तियारले डा. सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगो बमोजिम जरिवाना र गैरकानुनी सम्पत्ति जफतको मागदाबी लिएको छ । साथै, वास्तविक सम्पत्तिको विवरण नलुकाएर झुटा विवरण पेश गरेको कसुरमा समेत थप सजायको माग गरिएको छ ।

यसैगरी, गैरकानुनी रूपमा आर्जन गरिएको स्रोत नखुल्ने सम्पत्ति डा. सापकोटाले श्रीमती निरजा पण्डितको नाममा समेत खरिद गरी राखेकाले सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र निरजा पण्डितलाई पनि प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर